Comments Add Comment

पूर्वराजाको मधेस संवाद : पशुपतिको यात्रा, सिद्राको ब्यापार !

अनलाइनखबरकर्मीसँग ज्ञानेन्द्रको प्रतिप्रश्न- जनता के चाहँदा रहेछन् ?

१ चैत, जनकपुरधाम । विनाकुनै सन्दर्भ तीर्थाटनका नाममा मधेस यात्रामा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह निकै लामो प्रयासपछि अनलाइनखबरकर्मीसँग भेट्न राजी भए । तर, क्यामेरा र अडियो भिडियो रेकर्डर बन्द गरेर मात्रै ।

केही अनौपचारिक कुराकानीपछि पूर्वराजालाई हाम्रो प्रश्न थियो- लामो समयदेखि झापा र जनकपुर मुकाम बनाएर मधेस संवाद गरिरहनुभएको छ । यसलाई सामान्य धार्मिक भ्रमणका रुपमा कसैले पनि पत्याइरहेका छैनन्, खासमा यो भ्रमण के उद्देश्यमा केन्द्रित हो ?

अनलाइनखबरकर्मीको प्रश्नको जवाफमा उल्टै प्रतिप्रश्न गर्दै पूर्वराजाले सोधे, ‘तपाईहरु हिँडिरहनुको छ । खासमा तपाईहरुले चाहिँ के पाउनुभयो ? के भन्छन् त यहाँका जनता ?’

पूर्वराजाले आफ्नो मिसनबारे औपचारिकरुपमा कुनै प्रतिक्रिया दिएनन् । बरु, उनलाई पर्खिएर होटल सीताशरण बाहिर बसिरहेका मिडियाकर्मीलाई जनता के भन्छन्, त्यो सुनेर बाहिर लगिदिन आग्रह गरे ।

पूर्वराजा शाहले अनलाइनखबरसँगको कुराकानीमा पनि जनताको चाहना बाहेक अन्यथा आफ्नो चाहना कहिल्यै नरहेको बताए ।

पटक-पटक मातृभूमिको उच्चारण गर्ने पूर्वराजाले माटोको भार नलागोस् भन्नेमा सबै चिन्तनशील हुनुपर्ने बताए । देशको हितबाहेक आफ्नो पूर्खादेखि अरु केही नसोचिएको भन्दै उनले आजको अवस्थाबारे जनता के भन्छन् भन्ने बुझिदिन पुनः आग्रह गरे ।

त्यसो भए पूर्वराजा ज्ञानेन्द्र एक्लै किन मधेस झरे त ? यो प्रश्नको जवाफ एउटै छैन ।

बिरामी आमालाई भेटेर पुनः झापा फर्किएका पूर्वराजाले बुधबारदेखि प्रदेश २ को दौडाहा सुरु गरेका छन् । उनले मुकाम बनाएका छन्, मधेसको राजधानी तथा धार्मिक नगरी जनकपुरधामलाई ।

मन्दिर बहाना, गन्तव्य मधेस

सामान्यतः धार्मिक भ्रमणमा निस्केको मान्छे बिहानै उठेर खालीपेटमा मठमन्दिरको पूआआराधना गर्छ, देवीदेवताको दर्शन गर्छ । तर, पूर्वराजा ज्ञानेन्द्र विहीबार अपरान्ह दिवाभोजपछि मलंगवाका लागि निस्किए ।

उनले त्यहाँ दूर्गा भगवती मन्दिरमा पूजा गर्ने कार्यक्रम तय भएको थियो । कुनै धार्मिक व्यक्तिले पेटभरि खाएर देवीको दर्शन गर्छ ? यही प्रश्नले ज्ञानेन्द्र शाहको मधेस भ्रमण तीर्थाटन नभएर मधेसी समुदायको असन्तुष्टिलाई ‘क्यास’ गर्नका लागि हो भनेर यहाँ टीकाटिप्पणी भइरहेका छन् ।

पूर्वराजाले जनता के भन्छन्, त्यही नै आफ्नो भनाइ हो भनेर पटक-पटक हामीसँग भन्नु र विप्लव समूहको बन्दको अवज्ञा गर्दै जनकपुरदेखि मलंगवासम्म आफैंले गाडी हाँकेर मधेसी जनतासँग सम्वाद गर्नुले उनी मौका खोज्दैछन् भन्ने बुझ्न सहजै सकिन्छ ।

महत्वका हिसाबले पनि खासै चर्चामा नरहेका स्थानीय मठमन्दिरमा ज्ञानेन्द्रको भ्रमण बहानामात्रै हुन सक्छ । उसै पनि उनले पूआआजा भन्दा पनि स्थानीय जनतासँग भेटघाटमा आफूलाई केन्दि्रत गरेका छन् । सडकमा मान्छेको झुण्ड देखिनासाथ गाडी रोकेर कुराकानी गर्नुले पनि यो धार्मिक भ्रमण होइन भने प्रष्ट हुन्छ ।

मधेसी जनताको पीरमर्का र असन्तुष्टि सुन्नका लागि पूर्वराजाले सकेसम्म बढी समय व्यतीत गरेको उनकै भ्रमणमा रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले अनलाइनखबरलाई बताए । जनताले धर्म र देश रक्षाका लागि राजा चाहियो भनेर एकमात्र माग राखेको उनको दावी छ ।

राजा आऊ, मधेस बचाऊ !

जनकपुरबाट मलंगवासम्म पुग्दा जसरी दर्जनौं ठाउँमा सयौंले पूर्वराजाको स्वागत तथा राजतन्त्रको पक्षमा नाराबाजी गरे, यसलाई स्वस्फूर्त मात्र मान्न सकिने अवस्था देखिन्न । अझ मलंगवामा त सयौं होइन, हजारौंको संख्यामा मान्छेको भीड लागेको थियो ।

यस्तो लाग्थ्यो- नेपालमा राजतन्त्रको अन्त भएको छैन । सर्लाही सदरमुकाम मलंगवा पुग्नअुघि नै ज्ञानेन्द्र र कोमलको फोटोसहितका ब्यानरमा ‘श्री ५ महाराजाधिराज र श्री ५ बडामहारानी’ बाट सम्बोधन गरेर स्वागत गेटहरु बनाइएका थिए ।

पूर्वराजालाई हेर्नमात्र त्यो भीड जम्मा भएको हो भनौं भने अधिकांशले राजतन्त्रको पक्षमा चर्का नारामात्र लगाएनन्, ‘राजा आऊ, मधेस बचाऊ’ भन्नसमेत भ्याए । जनकपुरदेखि मलंगवासम्म पूर्वराजाको पक्षमा सडकमा आएकाहरुले हिन्दू धर्म रक्षाका लागि राजा चाहिने बताए ।

पूर्वराजाको मधेस मिसनमा देखिएको अर्को दृश्य के हो भने, उनको स्वागतमा जाने र नारा लगाउनेहरु धेरैजसो युवा र महिला थिए । बुढापाकाहरुले त उनलाई हिन्दू सम्राट नै सम्बोधन गरे । कतिपय स्थानीय तहका जनप्रतिनिधि समेत उनको स्वागतमा गएको पाइयो ।

राजतन्त्र पुनर्ववहालीको आशिर्वचन 

पूर्वराजाले शक्तिपीठमा पूजाआजा गर्दा पनि पुजारी र ज्योतिषहरुले राजतन्त्र पुनर्वहालीको पुकार गरिरहेका थिए । पुजारीहरुले राजतन्त्र र हिन्दू राज्य पुनर्वहालीको पुकार गर्दै विशेष पूआआराधना गरिदिँदा पूर्वराजा मख्ख देखिन्थे ।

आफ्नो पक्षमा सडकमा उर्लिएको भीड, राजतन्त्रको पक्षको नाराबाजी र मन्दिरमा समेत पुजारीहरुले राजतन्त्र पुनर्वहालीको आशिर्वचन दिँदा ज्ञानेन्द्रको मुहार चम्किलो देखिन्थ्यो । उनले जनकपुरमा सन्त महन्थहरुसँग पनि भेटघाट गरे ।

हामीले पूर्वराजाका निजी सचिव डा.फणिराज पाठकसँग पनि सोध्यौं, यो भ्रमण त धार्मिकखालको त देखिन्न नि ? उनले पूर्वराजाको पूर्वनिर्धारित धार्मिक भ्रमण नै हो भन्दै यसक्रममा मधेसका जनतासँग संवाद हुनु स्वाभाविक रहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाह बसिरहेको जनकपुरको होटल सीताशरण अगाडि सडक किनारामा एउटा चिया पसल छ । दिनहुँ यहाँ नयाँ-नयाँ अनुहारका मान्छे आउँछन्-‘राजा’लाई एक झल्को देख्न । पूर्वराजा होटलबाट बाहिरिने र भित्रिने बेला एक डेढ सय मान्छेको भीड सधैं हुन्छ ।

यो पनि पढ्नुहोस पूर्वराजाले भने : यो मधेश होइन, तराई हो

पूर्वराजा बसेको होटलबाट करीव २० मिनेटको दूरीमा अहिलेका चर्चित पात्र सीके राउत बस्छन् । काठमाडौंमा सिके राउतको धेरै चर्चा छ । संसददेखि सामाजिक सञ्जालसम्म सिके राउत भाइरल छन् । तर, जनकपुरमा सिके राउतको चर्चा न चिया पसलमा छ, न त चोक चौराहामा ।

ठीक विपरीत पूर्वराजाको चर्चा यहाँ सर्वसाधारणदेखि मुख्यमन्त्री कार्यालयसम्म भइरहेको सुनिन्छ । उनको गाडी सडकमा निस्केपछि ठाउँ ठाउँमा फूलमाला लिएर भीड जम्मा हुने गरेको छ ।

हिन्दूत्वको हतियारमा साँध

मधेसमा गर्मी बढेपछि पूर्वराजाको आगमनले यहाँको राजनीतिक माहौल अर्कै बनाइदिएको छ । पूर्वराजाले हिन्दूत्वको हतियारमा साँध लाउन खोजेका त होइनन् ? राजनीति बुझेकाहरुको साझा प्रश्न यही छ ।

कारी यादव जनकपुरका परिचित अगुवा हुन् । कुनै बेला राजपरिषद स्थायी समितिमा समेत पुगेका यादव पछिल्लो समय मधेसमा सबैखाले उग्रवादी र राष्ट्रघाती प्रयोगहरु असफल भइसकेकाले अब बैदिक सनातन राज्य जोगाउन मधेसमा हिन्दू राज्यको माग उठ्ने आँकलन गर्छन् ।

पूर्वराजाले मधेसी जनतासँग संवाद गर्ने उपयुक्त बेला नै यही भएकाले जनकपुरलाई केन्द्र बनाएर मधेस मिसन थालिएको हुन सक्ने उनको विश्लेषण छ । यद्यपि हिन्दूत्वको आन्दोलन पूर्वराजाले होइन, मधेसी जनताकै अगुवाइमा हुनसक्ने उनले बताए ।

यादवले अनलाइनखबरसँग भने, ‘मधेस धार्मिक भूमि हो । पहाडमा जस्तो इसाइकरणको प्रभाव मधेसका हिन्दूमा अहिलेसम्म एक प्रतिशत पनि परेको छैन । यहाँ कहिले मधेसवादका नाममा त कहिले पृथकतावादका नाममा धेरै प्रयोग भए । अब मधेसको माटो र हिन्दूत्वको रक्षाका लागि राजाको पक्षमा जनता उभिँदैछन् । त्यो दिन धेरै टाढा छैन ।’

पूर्वराजाको स्वागतमा उर्लिएको भीड र उनको बेमौसमी ‘धार्मिक यात्रा’लाई सिंहदरबारले कसरी बुझेको छ भन्ने बाहिर आइसकेको छैन । तर, प्रदेश सरकार र यहाँका राजनीतिक दलहरुले भने मधेसी जनताको मुड बुझ्ने रणनीतिक भ्रमणका रुपमा लिन थालेका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले पूर्वराजाका गतिविधिहरुलाई आफूहरुले नजिकबाट नियालिरहेको बताए । तर, नागरिकका रुपमा स्वतन्त्र ढंगले हिँडडुल गर्न पाउनेसम्मको अधिकारको भने सम्मान गरिने उनले बताए । प्रदेश सरकारले सम्भवतः संघीय सरकारको सिग्नल खोजेको छ, ज्ञानेन्द्रको मधेस मिसनका सन्दर्भमा ।

मधेसमा अन्तिम प्रयोग ?

पछिल्लो करिब डेढ दशकयता मधेसमा भावनात्मक राजनीतिक एजेण्डाहरु बिक्ने गरेका छन् । पटक-पटकका मधेस आन्दोलन, नाकाबन्दी, पृथकतावादी तथा सशस्त्र गतिविधिबाट आजित भएका यहाँका जनताको धार्मिक भावनामाथि खेल्ने शक्ति कतै निर्माण गरिँदै त छैन ? यहाँका सुरक्षा अधिकारीहरुलाई पनि यो प्रश्नले लखेट्न थालेको छ ।

सर्लाही सदरमुकाममा पूर्वराजा आराम गरेको ठाउँमा भेट्न त्यहाँका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु पनि पुगेका थिए । पूर्वराष्ट्रप्रमुखलाई भेट्नु र सुरक्षा प्रदान गर्नु सरकारी अधिकारीहरुको दायित्वभित्रै पर्ला, तर पूर्वराजाको स्वागतमा एकाएक उर्लिएको भीडले भने उनीहरुलाई पनि समीक्षा गर्ने ठाउँमा पुर्‍याइदिएको छ ।

प्रदेश २ का एक उच्च सुरक्षा अधिकारीका अनुसार पूर्वराजाको पक्षमा जनकपुर, मलंगवा, महेन्द्रनगर, कविलासी लगायतका ठाउँमा स्वतःस्फूर्त रुपमा भीड उर्लिएपछि उनीहरुलाई कसले बाहिर ल्याइरहेको छ भनेर सुक्ष्म अध्ययन समेत थालिएको छ ।

पूर्वराजासँग जुनसुकै बेला साथमै रहने शिव सेना बाहेक स्थानीयस्तरमा कुनै पनि संघ संगठन देखिएका छैनन् । राष्ट्रवादी नागरिक समाजका नाममा केही ब्यानर तथा परिचयपत्र बनाइए पनि तिनीहरुले पूर्वराजालाई भेट्नका लागिमात्र संस्थाको ब्यानर खडा गरेको एक सुरक्षा अधिकारीले बताए । विगतमा भन्दा फरक अर्को दृश्य के देखिएको छ भने, पूर्वराजाको स्वागतमा पूर्वपञ्चभन्दा पनि नयाँ अनुहार देखिन्छन् ।

धार्मिक भ्रमण भनिए पनि पूर्वराजाले दिनमा एउटा मन्दिरको मात्र भ्रमण गरिरहेका छन् । त्यो पनि बिहान होइन, दिउँसो । यसको अर्थ पूर्वराजा ‘पशुपतिको यात्रा, सिद्राको ब्यापार’ रणनीतिमा छन् । उनले मधेसको मनोविज्ञानलाई नजिकबाट बुझ्ने र बढीभन्दा बढी मान्छेसँग अलग-अलग ठाउँमा ओर्लिएर संवाद गर्न खोजिरहेको पाइयो ।

मधेसमा पूर्वराजाले आफ्नो पक्षमा माहौल तताउन खोजेको बुझाइ जनकपुरका बुद्धिजीवीहरुको छ । बरिष्ठ पत्रकार रामभरोस कापडी जनकपुरमा देखिएको चहलपहल र मधेसका अन्य जिल्लामा उनी जाँदा देखिएको भीडले पूर्वराजाले मधेसबाट शक्ति आर्जन गर्न खोजेको हुन सक्ने बताए ।

मधेसी हिन्दूहरु वैदिक मान्यता र हिन्दू सनातन संस्कृतिसँग बढीनै कट्टर रहेको र धर्म परिवर्तनले उनीहरुलाई अहिलेसम्म प्रभाव पार्न नसकेकाले पूर्व राजाले अन्तिम अस्त्रका रुपमा मधेसमा हिन्दू कार्ड फाल्न खोजेको आँकलन उनको छ ।

स्रोतका अनुसार पूर्वराजाले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिखण्डनकारी शक्तिलाई राज्यले सम्बोधन गरेकोमा उनले आफ्नो पूर्खाले आर्जेको राष्ट्रको अपमान भएको अर्थमा लिएका छन् ।

सिके राउतसँगको सो सम्झौतालगत्तै उनले मधेस सम्वाद शुरु गर्नु त्यही असन्तुष्टिका रुपमा लिइदिन पूर्वराजा निकट स्रोतले बतायो । ‘मधेसी जनतालाई राजा अझै छ भनेर आश्वस्त पार्न र हिन्दूत्व जोगाउन आवश्यक परे उठ्नुपर्छ भनेर सन्देश दिन यो भ्रमण भएको हो’ स्रोतले भन्यो ।

र, अन्तिममा, बेला आउँदैछ !

आफ्नो भ्रमणको शुरुदेखि पछि लागिरहेका शिवसेनाका दुई तीनजना स्वयंसेवी कार्यकर्तालाई काँधमा धाप मार्दै पूर्वराजाले भने, तिमीहरुले धेरै दुःख पाएका छौ, मलाई थाहा छ । धैर्य गर । अब बेला आउँदैछ ।

‘प्रभुले’ धाप मारेर बेला आउँदैछ भन्ने जनाउ दिएपछि राजभक्त शिवसेनाका कार्यकर्ताहरु खुसीले उफ्रिदै हिँडे । तर, पूर्वराजाले बेला आउँदैछ भनेर कतातिर संकेत गरेका हुन् ? यो प्रश्नचाहिँ अनुत्तरित नै छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment