+
+
Shares
पौरखी प्रवासी :

७० लाख ऋण बोकेर अस्ट्रेलिया पुगेका सनराइजको ३० करोडको ‘ग्रिन इनर्जी’

गुल्मीका भटेचौरका सनराइज ज्ञवाली ७० लाख रुपैयाँ ऋण बोकेर ८ वर्षअघि अस्ट्रेलिया छिरेका थिए । सुरुवाती दिनमा भाँडा माझ्नेदेखि ट्रक चलाउनेसम्म काम गरेका उनी २६ वर्षकै उमेरमा झन्डै ३० करोड रुपैयाँ (२.२ मिलियन डलर) नेटवर्थ भएको ऊर्जा कम्पनीका मालिक बनेका छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ मंसिर ९ गते ७:२५

अविचलित संघर्ष र अथक मिहिनेतले असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भन्ने बलियो उदाहरण हुन्, सनराइज ज्ञवाली ।

८ वर्षअघि ७० लाख रुपैयाँ ऋण बोकेर १८ वर्षको उमेरमा अस्ट्रेलिया छिरेका उनी २६ वर्षकै उमेरमा झन्डै ३० करोड रुपैयाँ (२.२ मिलियन डलर) नेटवर्थ भएको ऊर्जा कम्पनीका मालिक, आध्यात्मिक साधक र प्रवासी नेपाली समुदायका सचेत प्रतिनिधिका रूपमा चिनिन्छन् ।

सनराइज सन् २००० मा गुल्मीको नेरबासस्थित भटेचौरमा जन्मिए । उनी जन्मिँदा बुवा गिरधारीप्रसाद ज्ञवाली काठमाडौंमा स्नातकोत्तर अध्ययन गर्दै थिए । २०६५ सालमा गिरधारी माध्यमिक तहको स्थायी शिक्षक भएपछि सपरिवार सिन्धुपाल्चोकको बाह्रबीसे सर्‍यो ।

सिन्धुपाल्चोकमा सनराइजको परिवार भाडाको दुई कोठामा बस्थ्यो । भान्सा कोठामा एउटै खाट थियो, जहाँ सनराइज र उनका दाइ सुत्थे । अर्को कोठामा आमाबुवा सुत्थे, जसको एउटा भित्तो किताबैकिताबले भरिएको हुन्थ्यो ।

त्यतिबेला बुवाको मासिक तलब ३२ हजार ५०० रुपैयाँ थियो । दुवै छोरा काठमाडौंको केएमसी कलेज र होस्टेलमा पढ्थे । ‘मेरो होस्टेल र कलेज शुल्क १६ हजार र दाइको १६ हजार गरी ३२ हजार रुपैयाँ त हाम्रो पढाइमै जान्थ्यो । ट्युसनको पैसाले आमाबुवा सिन्धुपाल्चोकमा बाँच्नुहुन्थ्यो,’ सनराइज भन्छन्, ‘तर बुवाले हाम्रो पढाइमा कहिल्यै कमी हुन दिनुभएन ।’

गुल्मी र बाह्रबीसेको सरकारी विद्यालयमा कक्षा ४ सम्म पढेका सनराइजले पत्रिकामा विज्ञापन देखेर काठमाडौं बल्खुस्थित ‘ग्लोरी एकेडेमी’ मा प्रवेश परीक्षा दिए । नाम निस्किएपछि कक्षा ५, ६ र ७ तीन वर्ष छात्रवृत्तिमा नि:शुल्क पढे र त्यही बेला तीन वर्ष संगीत पनि सिके । कक्षा ८ देखि पुन: बुवाले नै पढाउने बाह्रबीसेको श्री शारदा उच्च माध्यमिक विद्यालयमा फर्किएर एसएलसी दिए ।

सरकारी विद्यालय पढ्दा सधैं ‘फर्स्ट ब्वाइ’ र स्कुल क्याप्टेन हुने उनको लक्ष्य पाटनमा नाम निकालेर डाक्टर बन्ने थियो । तर सन् २०१८ मा आएको एउटा अकल्पनीय विपत्तिले उनको जीवनको बाटो नै मोडिदियो ।

सन् २०१८ को सुरुवातमा बुटवलमा आईएलटीएस परीक्षा सकेर विदेश जानका लागि ‘एनओसी’ बनाउने तयारीमा रहेका बेला उनले बुवालाई ब्रेन ट्युमर भएको खबर पाए ।

काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ चिकित्सक बसन्त पन्तले जटिल शल्यक्रिया गरे । पाँच महिना अस्पताल बसाइ र उपचारका क्रममा घरमा ५० लाख रुपैयाँ ऋण लाग्यो । तर ४ फेब्रुअरी २०१८ का दिन ४७ वर्षको उमेरमै बुवाको निधन भयो ।

बुवाको निधनपछि सनराइजले विदेश नजाने अडान लिएका थिए । तर आमाले नेपालमा रोकिन अनुमति दिइनन् ।

‘ममीले खोला रोकिँदैन कान्छा, आजको १० वर्षपछि यो निर्णयप्रति पछुताउँछस् । मेरोबारेमा मात्रै नसोच, तँ जानैपर्छ भन्नुभयो,’ उनले सम्झिए ।

त्यसपछि २४ अप्रिल २०१८ मा १८ वर्ष पूरा भएकै दिन उनले अस्ट्रेलियाको भिसा आवेदन दिए । १७ मे २०१८ मा भिसा आयो र २० मेका दिन अस्ट्रेलिया अवतरण गरे ।

बुवाको उपचारको ५० लाख र अस्ट्रेलिया प्रक्रिया तथा १४ लाख कलेज शुल्कको २० लाख गरी जम्मा ७० लाख ऋण उनको काँधमा थियो ।

भाँडा माझ्नेदेखि ट्रक चालकसम्म

अस्ट्रेलिया पुगेको पहिलो रात नै सनराइजका लागि कठिन बन्यो । सोमबार अस्ट्रेलिया ओर्लिएका उनी बुधबारदेखि नै काममा होमिए । सुरुमा बंगलादेशी क्याटरिङमा ‘किचेन ह्यान्ड’ को काम पाए । साथीहरूले प्रतिघण्टा २५ डलर कमाउँदा उनले जम्मा १० डलरमा काम गरे ।

‘घर पछाडिको हिलो र घाँसमा एउटा मिल्क क्रेटमा बसेर ४–५ सय जनालाई खाना पकाउने भाँडा माझ्नुपर्थ्यो,’ सनराइजले सुरुवाती दिन सम्झिए ।

त्यसपछि प्रतिघण्टा १५ डलरमा कार वास (गाडी धुने) काम गरे, केएफसीमा खटिए र दुई वर्षसम्म राति ट्रक चलाए । राति ट्रक चलाउँदा हप्ताको १२ सय डलर कमाइ हुन्थ्यो । समय व्यवस्थापनमा चतुर उनले आफ्नो ८ घण्टाको निद्रालाई चार–चार घण्टामा बाँडेका थिए । बिहान ६ बजे आएर १० बजेसम्म सुत्ने र बेलुका ६ देखि १० बजेसम्म सुतेर फेरि राति ड्युटी जाने ।

यहीबीचमा सनराइजले सन् २०१९ देखि साहुको ट्रकलाई दिउँसो (साहुलाई थाहा नदिई) आफैँ तेल हालेर विद्यार्थीको घर सार्ने (रिमुभल) काम सुरु गरे । अरूले घण्टाको ११० डलर लिने काम उनले ७० डलरमै गरिदिन्थे ।

सन् २०१९ सम्म त उनले ६ जना कामदार नै राखिसकेका थिए । कोभिड महामारीका बेला त ७० जनाभन्दा बढी नेपाली विद्यार्थीको घर नि:शुल्क सारिदिएका थिए ।

‘मेरा अरू साथीहरूले कमाउन नसक्दा नेपालबाट बुवाआमाले पैसा पठाइदिनुहुन्थ्यो । मेरो त्यो अवस्था थिएन,’ उनले भने ।

१२ सय डलर छोडेर ५०० को जोखिम

ब्याचलर्स इन आईटी पढिरहेको भए पनि सनराइजलाई आईटी क्षेत्रमा रुचि थिएन । सन् २०१९ को अन्त्यतिर स्नातक सकिन लाग्दा अब के गर्ने भन्ने अन्योल थियो । गहिरो रिसर्चपछि उनले अस्ट्रेलियाको ऊर्जा (इनर्जी) क्षेत्रमा भविष्य देखे ।

त्यहाँ छिर्न उनले ठूलो आर्थिक जोखिम मोले । साताको १२ सय डलर आउने ट्रक ड्राइभिङ छोडेर ‘अल स्टार इनर्जी’ नामक कम्पनीमा साताको ५०० डलर तलबमा वेयरहाउसको सामान्य कामदारसरह म्यानेजर बने । त्यहाँ बिहान आउने अस्ट्रेलियन प्राविधिकहरूको गाडीमा एसी, हट वाटर र सोलार लोड गरिदिने तथा फोहोर फाल्ने काम गर्नुपर्थ्यो ।

‘म त्यहाँ पैसा कमाउन होइन, काम सिक्न गएको थिएँ । पैसा कमाउन गएको भए त १२ सय डलर छोडेर ५०० मा जाँदैनथेँ नि,’ उनी भन्छन् ।

काम सिक्ने भोक भएका उनले त्यहाँका भारतीय इन्स्टलेसन म्यानेजरलाई अतिरिक्त पैसा नलिई सघाइदिने सर्तमा काम सिकाउन आग्रह गरे ।

केही समयमै ती म्यानेजरले जागिर छोडे । साहुले नयाँ कर्मचारीका लागि विज्ञापन हाल्न भन्दा सनराइजले अवसर छोपेर भने, ‘मलाई दुई साताको ट्रायल दिनुहोस्, अतिरिक्त पैसा दिनुपर्दैन । यही ५०० डलरमै सबै काम गर्छु ।’

दुई सातामै काम देखाएपछि वेयरहाउसबाट अफिसमा इन्स्टलेसन म्यानेजर बने । तलब वार्षिक ६० हजार डलर पुग्यो । पछि अपरेसन म्यानेजरले पनि छोड्दा उनले त्यही सूत्र अपनाए र वार्षिक ९० हजार डलर तलबमा अपरेसन म्यानेजर बने ।

कोभिडका कारण विद्यार्थीलाई फुलटाइम काम गर्ने अधिकार मिलेको त्यो बेला स्नातक अन्तिम वर्ष पढ्दै गर्दा नै उनको मातहतमा ९६ जना कर्मचारी थिए ।

‘सनराइज सेफ इनर्जी’ र सरकारी लाइसेन्सको कमाल

सधैँ ग्रोथ खोज्ने सनराइजले अपरेसन म्यानेजर भएर कम्पनी चलाउन सिकेपछि आफ्नै व्यवसाय गर्ने निधो गरे । संयोगवश, उनको जीवनमा १० मेको मिति पटकपटक जोडिएको छ । १७ मे २०१८ मा भिसा पाएका उनले ठ्याक्कै चार वर्षपछि १७ मे २०२२ मा आफ्नै कम्पनी ‘सनराइज सेफ इनर्जी’ दर्ता गरे ।

जुलाई २०२२ मा चार वर्षे ब्याचलर्स सकेर अगस्टबाट व्यावसायिक अपरेसन सुरु गरेका सनराइजले १७ मे २०२३ मा अस्ट्रेलियन सरकारको महत्वपूर्ण लाइसेन्स प्राप्त भएको इमेल पाए ।

उनी अस्ट्रेलियन सरकारबाट मान्यताप्राप्त ‘एक्रेडिटेड सर्टिफिकेट प्रोभाइडर’ हुन् । अस्ट्रेलियामा कोइला र ग्यासबाट ऊर्जा उत्पादन गर्ने कम्पनीहरूले प्रदूषण गरेवापत वार्षिक १५ प्रतिशत ‘कार्बन अफसेट’ गर्नुपर्ने नियम छ । यसका लागि उनीहरूले सरकारलाई नगद होइन, ‘इनर्जी सर्टिफिकेट’ बुझाउनुपर्छ ।

सनराइजको कम्पनीले सरकारी मापदण्डअनुसार सर्वसाधारणको घरमा सोलार, ब्याट्री, एसी र हट वाटर जडान गरिदिन्छ र ऊर्जा बचत भएवापत ‘इनर्जी सर्टिफिकेट’ सिर्जना गर्छ ।

ती सर्टिफिकेट विद्युत् तथा ग्यास कम्पनीहरूले सनराइजसँग किन्छन् र सरकारलाई बुझाउँछन् । यसरी सरकारी ढुकुटीबाट प्रत्यक्ष खर्च नभई नागरिकले सहुलियत पाउँछन् र सनराइजको कम्पनीले ऊर्जा कम्पनीहरूबाट भुक्तानी पाउँछ ।

मेलबर्नमा बस्ने सनराइजको कम्पनीमा अहिले अवस्थाअनुसार ७० देखि ९० जना (हाल करिब ८२ जना) कर्मचारी छन् । उनी कम्पनीमा डाइरेक्टरको भूमिकामा छन् ।

उनी आफ्नो सफलताको मुख्य आधार समय व्यवस्थापन, कार्यनैतिकता र आध्यात्मिक साधनालाई मान्छन् ।

‘८ वर्ष अस्ट्रेलिया बस्दा मैले एक दिन पनि सिक लिभ (बिरामी बिदा) लिएको छैन । बरु काम गरेरै मरौंला भन्ने लाग्थ्यो, तर जान्नँ चाहिँ कहिल्यै भन्दिनँ,’ उनले भने, ‘पाँच दिन गधा जसरी काम गर्ने र दुई दिन विकेन्ड बिन्दास बताउने मेरो नियम थियो ।’

अस्ट्रेलियामा मस्टाङ र र्‍याप्टरसहित चार वटा विलासी गाडी चढ्ने, बिजनेस क्लासमा वर्षको सात–आठ देश घुम्ने र ड्रम बजाउने रुचि भएका सनराइज आध्यात्मिक अभ्यासमा उस्तै कठोर रहेको उनी सुनाउँछन् ।

उनी व्यवसायसँगै अस्ट्रेलियाको नेपाली समुदाय र सामाजिक गतिविधिमा पनि सक्रिय छन् । एनआरएनए अस्ट्रेलियाको चुनावसमेत लडेका व्यक्ति हुन् उनी ।

नेपालप्रति लगाव र ‘जीपीजी सर्भिसेस’

अस्ट्रेलियामा २.२ मिलियन डलरको साम्राज्य खडा गरे पनि सनराइजको मन नेपालसँगै जोडिएको छ । उनले सन् २०२२ देखि नै काठमाडौं रविभवनमा ‘जीपीजी सर्भिसेस प्रालि’ सञ्चालन गरिरहेका छन् ।

उक्त कार्यालयमा हाल २२ जना नेपाली युवा कार्यरत छन् । (सन् २०२४ मा अस्ट्रेलियन सरकारको नियम परिवर्तन भएपछि नेपालबाट हुने आउटबाउन्ड कल सेन्टरको काम भने हाल बन्द छ ।)

अस्ट्रेलियामा आफूले अभ्यास गरिरहेको ‘कार्बन अफसेट सर्टिफिकेट’ को हरित ऊर्जा मोडल नेपाल भित्र्याउन उनी प्रयासरत छन् । सन् २०२४ को नेपाल लगानी सम्मेलनमा अस्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदूत कैलाशराज पोख्रेलको विशेष आग्रहमा काठमाडौं आएर उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जा मन्त्री शक्ति बस्नेत र ऊर्जा सचिव सुशील तिवारीसँग मन्त्रालयमै बैठक गरी प्रस्ताव राखेका थिए ।

‘अस्ट्रेलियन लुप’ र नेपालको प्रणालीप्रति चिन्ता

पछिल्लो समय अस्ट्रेलिया पुगेका नेपाली युवाहरूको अवस्था देखेर सनराइज चिन्तित छन् । उनका अनुसार अस्ट्रेलिया छिरेकै दिनदेखि नेपालीहरू एउटा ‘लुप’ (चक्रब्यूह) मा फस्छन्, तर आफू त्यहाँ फसेको पत्तै पाउँदैनन् ।

‘सामान्य नेपालीले हप्ताको १ हजार अर्थात् महिनाको ४ हजार डलर कमाउँछ, तर मेलबर्नमा २५ सय र सिड्नीमा ३–४ हजार डलर त घरभाडामै जान्छ । एक लिटर तेलको ३–४ डलर, सानो कोकको ५ डलर र कफीको ७–८ डलर पर्छ,’ उनी भन्छन्, ‘पीआर आउनेबित्तिकै १० लाख डलरको घर किन्दा बैंकलाई नै महिनाको ८–१० हजार डलर बुझाउनुपर्छ । चाइल्ड केयर महँगो हुँदा नेपालबाट बुवाआमा बोलाइन्छ र बुवाआमा पार्कमा दिन कटाउन बाध्य हुन्छन् । नेपालबाट हेर्दा अस्ट्रेलिया भनिन्छ, तर भित्र धेरैजसो डिप्रेसनमा छन् ।’

नेपालमा काम गर्ने वातावरण नभएकै कारण दक्ष नेपालीहरू बाहिरिनुपरेको उनको बुझाइ छ । ‘सरकारले वातावरण बनाइदिएर बोलाउँछ भने म १० वर्षको सम्झौता गरेर पारिश्रमिक नलिई नि:शुल्क देशका लागि काम गर्न तयार छु,’ उनी भन्छन्, ‘विदेशमा म जस्ता धेरै दक्ष नेपाली छन्, तर बोलाउने वातावरण त सरकारले बनाउनुपर्‍यो नि !’

अबको १० वर्षभित्र नेपाल नै फर्किएर ऊर्जा क्षेत्रमा काम गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको मुख्य योजना छ । व्यवसाय र नेतृत्व क्षमताका कारण भविष्यमा राजनीतिमा समेत स्वच्छ ढङ्गले आउने चासो पनि उनी राख्छन् ।

सनराइज भन्छन्, ‘नेपालमा एक जनाले कमाएर तीन जना पालिरहेको हुन्छ । अहिले नेपालमा मैले २२ जनालाई रोजगारी दिइरहेको छु । त्यसलाई १०० जना पुर्‍याउन सकेँ भने मेरा लागि त्योभन्दा ठूलो धर्म अरू केही हुँदैन ।’

पौरखी प्रवासी
लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?