+
+
Shares

डेभिड जोन्सपछि अर्को फेसन कम्पनी जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा, नेपाली विद्यार्थी पनि चिन्तित

अस्ट्रेलियाको चर्चित डिपार्टमेन्ट स्टोर डेभिड जोन्सका १९ वटा पसल बन्द हुने घोषणा सार्वजनिक भएको केही दिनमै अर्को परिचित फेसन खुद्रा कम्पनी जनरल प्यान्ट्स स्वैच्छिक प्रशासनिक नियन्त्रणमा गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाली फेसन खुद्रा कम्पनी जनरल प्यान्ट्स स्वैच्छिक प्रशासनिक नियन्त्रणमा गएको छ, जसले अस्ट्रेलिया र न्युजिल्यान्डका करिब ५०० कर्मचारीको रोजगारी अनिश्चित बनाएको छ।
  • ब्रिस्बेनका नेपाली विद्यार्थी राहुल सिंहले जनरल प्यान्ट्सको काम अध्ययनसँग अनुकूल भएकाले रोजगारी गुमे आर्थिक व्यवस्थापन र अध्ययन दुवैमा असर पर्ने बताए।
  • प्रशासकले ३५ वटै पसल र अनलाइन व्यापार नियमित रहने बताएका छन्, भने ऋणदाता तथा सरोकारवालाहरूको पहिलो बैठक ३० नोभेम्बरमा बस्नेछ।

३ मंसिर, सिड्नी । अस्ट्रेलियाको चर्चित डिपार्टमेन्ट स्टोर डेभिड जोन्सका १९ वटा पसल बन्द हुने घोषणा सार्वजनिक भएको केही दिनमै अर्को परिचित फेसन खुद्रा कम्पनी जनरल प्यान्ट्स स्वैच्छिक प्रशासनिक नियन्त्रणमा गएको छ ।

कम्पनी आर्थिक संकटमा परेपछि अस्ट्रेलिया र न्युजिल्यान्डमा कार्यरत करिब ५०० कर्मचारीको रोजगारी भविष्य अनिश्चित बनेको छ ।

कम्पनीको यो अवस्थाले त्यहाँ पार्टटाइम काम गर्दै आएका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत चिन्तित बनाएको छ । अध्ययन शुल्क र दैनिक खर्च धान्न रोजगारीमा निर्भर विद्यार्थीहरू काम गुमाउनुपर्ने अवस्था आउन सक्ने भन्दै तनावमा परेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै ब्रिस्बेन निवासी नेपाली विद्यार्थी राहुल सिंहले जनरल प्यान्ट्समा आफूले गरिरहेको काम अध्ययनसँग निकै अनुकूल रहेको बताए ।

उनका अनुसार कामको समय र अध्ययनलाई सन्तुलनमा राख्न सहज भएकाले उक्त रोजगारी विद्यार्थी जीवनका लागि उपयुक्त थियो । तर कम्पनी प्रशासनिक नियन्त्रणमा गएपछि आफ्नो रोजगारी के हुने भन्ने चिन्ता बढेको उनले बताए ।

रोजगारी गुमाउनुपर्ने अवस्था आए नयाँ काम खोज्नुपर्ने र त्यसले आर्थिक व्यवस्थापनसँगै अध्ययनमा पनि असर पार्न सक्ने उनको भनाइ छ ।

सन् १९७२ मा सिड्नीको जर्ज स्ट्रिटबाट डेनिम कपडा बिक्री गर्ने पसलका रूपमा सुरु भएको जनरल प्यान्ट्स अस्ट्रेलियाको परिचित युवा फेसन ब्रान्ड हो । कम्पनी अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालनमा छ । यसले हाल ३५ वटा पसल सञ्चालन गरिरहेको छ ।

कम्पनीको स्वामित्व रहेको अल्केमी ग्रुपले आर्थिक तथा व्यावसायिक चुनौतीबीच कम्पनी बिक्री गर्ने वा थप पुँजी लगानी जुटाउने विकल्पमा प्रयास गरे पनि सफल हुन नसकेपछि प्रशासनिक नियन्त्रणको प्रक्रिया अघि बढाएको हो ।

नोभेम्बर १८ को साँझ अल्भारेज एन्ड मार्सलका जेसन ट्रेसी र ग्लेन कानेभ्स्कीलाई कम्पनीको स्वैच्छिक प्रशासक नियुक्त गरिएको थियो । उनीहरूले कम्पनीको आर्थिक अवस्था, व्यापारिक कारोबार, पसल, मौज्दात र खर्चको समीक्षा गर्नेछन् ।

प्रशासनिक नियन्त्रणमा गए पनि तत्काल सबै पसल बन्द हुने छैनन् । प्रशासकका अनुसार कम्पनीका ३५ वटै पसल र अनलाइन व्यापार नियमित रूपमा सञ्चालनमा रहनेछन् । ग्राहकले उपहार कार्ड प्रयोग गर्न पनि पाउनेछन् ।

प्रशासकहरूले कम्पनीलाई बिक्री गर्ने वा थप पुँजी लगानीमार्फत सञ्चालनमा राख्ने सम्भावनाबारे काम गरिरहेका छन् । प्रशासनिक प्रक्रियाका क्रममा कर्मचारीले गरेको कामको पारिश्रमिक नियमित रूपमा दिइने जनाइएको छ ।

संयुक्त प्रशासक जेसन ट्रेसीले तत्कालको प्राथमिकता पसल सञ्चालनलाई निरन्तरता दिने, कर्मचारी र ग्राहकको हित संरक्षण गर्ने तथा कम्पनीको भविष्यका लागि उपयुक्त विकल्प खोज्ने रहेको बताएका छन् ।

ब्ल्याक फ्राइडे बिक्री अभियान सुरु हुन केही दिन मात्रै बाँकी रहेका बेला कम्पनी प्रशासनिक नियन्त्रणमा गएको हो । आगामी नोभेम्बर ३० मा ऋणदाता तथा सरोकारवालाहरूको पहिलो बैठक बस्ने तय भएको छ ।

डेभिड जोन्सका ३८ मध्ये १९ वटा पसल बन्द गर्ने निर्णय र जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा जानुले अस्ट्रेलियाको खुद्रा व्यापार क्षेत्रमा देखिएको चुनौतीलाई अगाडि ल्याएको छ ।

image.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?