क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो ।
कतिपय परिवारले बिहानै शुभसाइतमा भाइटीका लगाए भने, काम र अन्य व्यस्तताका कारण कतिपयले काम सकेपछि साँझसम्म पनि दाजुभाइलाई टीका लगाएर पर्व मनाएका छन् ।
भाइटीकाको अवसरमा दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्न अस्ट्रेलियाका विभिन्न सहरबीच यात्रा गर्ने नेपाली पनि देखिए ।

अनलाइनखबरसँग कुरा गर्दै एडिलेड बस्ने गोमा ढुंगेलले आफ्ना जेठा दाजुसँगै एडिलेडबाट क्यानबेरा आएको बताइन् । उनीहरू क्यानबेरामा रहेकी आफ्नी दिदीलाई भेट्न र परिवारसँग भाइटीका मनाउन यहाँ आएका हुन् ।
त्यस्तै, शिवा निरौला आफ्ना जेठा दाजुलाई भेट्न ब्रिसबेन पुगिन् । मेलबर्नमा बस्दै आएकी शर्मिका अधिकारी पनि आफ्ना भाइसँग भाइटीका मनाउन सिड्नी पुगेकी थिइन् ।
नेपालमा जस्तो सार्वजनिक बिदा र पारिवारिक जमघट सहज नभए पनि अस्ट्रेलियामा रहेका नेपालीले काम र व्यस्त जीवनशैलीबीच समय मिलाएर भाइटीका मनाएका छन् ।
भौगोलिक दूरी र व्यस्तताका बाबजुद परिवारका सदस्यलाई भेट्न सहर–सहर यात्रा गर्ने नेपालीको उत्साहले प्रवासमा पनि भाइटीकाको सांस्कृतिक र पारिवारिक महत्त्व उत्तिकै जीवन्त रहेको देखाएको छ ।




प्रतिक्रिया 4