+
+
Shares

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडियाको सेयर मूल्यमा आएको गिरावटबीच अब लगानीकर्ताको ध्यान नोभेम्बर १७ मा सार्वजनिक हुने कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजामा केन्द्रित हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ महिलासँगको निकटताबारे अमेरिकी आरोपपछि एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँग जोडिएको विवादले कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
  • दुई सातामा एनभिडियाको सेयर २१७ अमेरिकी डलरबाट १७८ डलरमा झरेको छ, र सोमबार ४.३ प्रतिशत घट्दा बजार पूँजीकरण १ खर्ब ९० अर्ब डलर गुमेको छ ।
  • अमेरिकी अधिकारीहरूले एलिस ह्वाङमार्फत प्रतिबन्धित चिप चीनसम्म पुगेको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेका छन्, तर आरोप पुष्टि भएका छैनन् ।

२४ कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला चिनियाँ गुप्तचर निकायको सहयोगी भएर अमेरिकाको ‘जासुसी’ कार्यमा संलग्न भएको अमेरिकाले आरोप लगाइरहेको छ । ह्वाङको व्यक्तिगत गतिविधि र यसले कम्पनीलाई असर पर्ने भएसँगै सेयर मूल्यमा झन् ठूलो पहिरो झरेको हो ।

पहिलेदेखि नै टेक कम्पनीहरूको सेयर मूल्य घट्दै आए पनि पछिल्लो पटक एनभिडियाको मूल्यमा ठूलो असर देखिएको छ । करिब दुई साताअघि ह्वाङको ती महिलासँगको निकटताबारे चर्चा भएको थियो ।

दुई साता अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय १७ अमेरिकी डलरबाट १ सय ७८ डलरमा झरेको छ । यो अवधिमा कम्पनीको मूल्य करिब १८ प्रतिशत झरेको हो ।

यद्यपि, कम्पनीको मूल्य अघिल्ला सातादेखि नै झरिरहेको छ । विगत एक महिनामा एनभिडियाको सेयर मूल्य ४७ प्रतिशत घटिसकेको छ । कम्पनीका ठूला निर्णय ह्वाङ आफैंले लिने गरेका छन्, उनलाई सञ्चालक समितिले हटाए कम्पनीलाई झन् असर पर्ने हुँदा लगानीकर्ता कम्पनीप्रति निराश देखिएका छन् ।

अमेरिकी प्रविधि कम्पनी नै चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशंकाले कम्पनीलाई विवादमा तानेको हो ।

अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले गत अक्टोबर अन्त्यतिर ह्वाङ र एलिस ह्वाङ नामकी चिनियाँ व्यवसायी महिलाबीच निकट सम्बन्ध रहेको र अमेरिकी गुप्तचर निकायले ती महिलालाई चीनका लागि सूचना संकलन गर्ने व्यक्तिका रूपमा पहिचान गरेको दाबी सार्वजनिक गरेको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एलिस सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी प्रमुख लगानीकर्ता तथा पूर्व व्यवस्थापकीय नेतृत्वमा रहेकी व्यवसायी हुन् ।

एनभिडियाले उक्त कम्पनीलाई आफ्नो आधिकारिक क्लाउड साझेदारको सूचीमा राखेको छ । मेगास्पिडले एनभिडियाका अत्याधुनिक एआई चिप खरिद गर्दै आएको छ ।

अमेरिकी अधिकारीहरूले उक्त कम्पनी मार्फत प्रतिबन्धित चिप चीनसम्म पुर्‍याइएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेका छन् ।

अमेरिकी गुप्तचर निकायको निष्कर्ष उद्धृत गर्दै सार्वजनिक भएका विवरणमा एलिसले जेन्सेनसँगको निकट सम्बन्ध मार्फत सूचना संकलन गरेको आशंका गरिएको छ ।

यद्यपि, ती आरोप पुष्टि भएका छैनन् । चीनले आधारहीन भन्दै अस्वीकार गर्दै आएको छ । अमेरिकी प्रतिनिधिसभाका समितिले ह्वाङसँग जवाफ मागेका छन् ।

एकैदिन बजार पूँजीकरण १ खर्ब ९० अर्ब डलर घट्यो

ह्वाङसँग जोडिएको प्रकरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा थप बिक्री दबाब देखिएको छ । सोमबार अमेरिकी बजारमा कम्पनीको सेयर मूल्य ४.३ प्रतिशत घट्दा बजार पूँजीकरण १ खर्ब ९० अर्ब डलर गुमेको रोयटर्सले जनाएको छ ।

यद्यपि, एनभिडियाको सेयरमा गिरावट आउन थालेको यो पहिलो दिन भने होइन । एक महिनादेखि नै कम्पनीको सेयर मूल्य दबाबमा छ ।  एआई क्षेत्रमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेमा लगानीकर्ताको आशंका, प्रतिस्पर्धी प्रविधि कम्पनीहरूले आफ्नै एआई चिप विकास गर्नु, चिप बिक्रीसम्बन्धी अनिश्चितताले प्रविधि कम्पनीका सेयरमा यसअघि नै दबाब पर्दै आएको छ ।

एनभिडियाको सेयर मूल्यमा आएको गिरावटबीच अब लगानीकर्ताको ध्यान नोभेम्बर १७ मा सार्वजनिक हुने कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजामा केन्द्रित हुनेछ ।

एआई चिपको माग, आम्दानी, नाफा र आगामी अवधिको व्यावसायिक प्रक्षेपणले कम्पनीको वास्तविक व्यावसायिक अवस्थाबारे थप संकेत दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?