News Summary
Generated by OK AI. Editorially reviewed.- एनभिडियाका सीईओ जेन्सन हुआङ चीनका लागि जासुसी गरेको आशंका गरिएकी चिनियाँ व्यवसायी एलिस हुआङसँगको सम्बन्धका कारण अमेरिकी अनुसन्धानमा परेका छन्।
- न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायले एलिस हुआङ र जेन्सन हुआङबीचको कुराकानी फेला पारेपछि एनभिडियाले आन्तरिक अनुसन्धान थालेको छ।
- जेन्सन हुआङले पत्नीप्रति ‘बेवफाइ’ स्वीकार गर्दै परिवारसँग माफी मागेका छन्।
२४ कात्तिक, काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ एकैपटक दुई विवादमा तानिएका छन् ।
चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग उनको निकट सम्बन्ध रहेको अमेरिकी गुप्तचर निकायको दाबी सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ ।
यही प्रकरणसँगै हुआङले आफ्नी पत्नीलाई धोका दिएको स्वीकार गर्दै परिवारसँग माफीसमेत मागेका छन् ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ व्यवसायी एलिस हुआङलाई चीनको उच्चस्तरीय गुप्तचर निकायले जासुसीका लागि परिचालन गरेको अमेरिकी अधिकारीहरूको आशंका थियो ।
उनीसँग एनभिडियाका प्रमुख जेन्सन हुआङको निकट सम्बन्ध रहेको सूचनासमेत अमेरिकी गुप्तचर निकायले संकलन गरेको बताइएको छ ।
यो विषय सार्वजनिक भएसँगै विश्वकै शक्तिशाली प्रविधि कम्पनी एनभिडियाले घटनाबारे आन्तरिक अनुसन्धान थालेको छ । यद्यपि, कम्पनीले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको आफूलाई नलागेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस प्रकरणमा एफबीआईले अनुसन्धान गरिरहेको बताएका छन् । उनले सोमबार हुआङसँग कुराकानी गरेको जानकारी दिँदै जासुसीको आशंकाबारे आफूले सोधेको बताएका थिए ।
ट्रम्पका अनुसार हुआङले एलिस हुआङ जासुस भएको आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए । ट्रम्पले हुआङमाथि आफूलाई विश्वास रहेको पनि बताएका छन् ।
को हुन् एलिस हुआङ ?
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार एलिस हुआङलाई चीनको प्रमुख गुप्तचर निकायले जासुसीका लागि भर्ती गरेको अमेरिकी अधिकारीहरूको विश्वास थियो । तर, उनले कस्तो सूचना संकलन गरिन् र ती सूचना चीनसम्म कसरी पु¥याइन् भन्ने विषय भने अझै स्पष्ट भएको छैन ।
एलिसको एनभिडियाका सीईओ जेन्सन हुआङसँग कुनै पारिवारिक सम्बन्ध छैन । उनी सन् २०२३ को मार्चदेखि नोभेम्बरसम्म सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडमा उच्च पदमा कार्यरत थिइन् ।
उक्त कम्पनीमाथि अमेरिकी प्रतिबन्ध छल्दै एनभिडियाका अत्याधुनिक चिप चीन पुर्याउन सहयोग गरेको आरोप लागेको थियो । यही विषयमा सिंगापुर सरकारले समेत अनुसन्धान गरिरहेको छ ।
अमेरिकी गुप्तचर निकायले निगरानीका क्रममा एलिस हुआङ र एक अमेरिकी नागरिकबीच भएको कुराकानी फेला पारेको थियो । पछि अमेरिकी नागरिकको पहिचान खुलाउने ‘अनमास्किङ’ प्रक्रियाबाट ती व्यक्ति जेन्सन हुआङ रहेको पत्ता लागेको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।
यद्यपि, एलिससँगको सम्बन्धको प्रकृति र त्यसबाट राष्ट्रिय सुरक्षामा परेको सम्भावित प्रभावबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । एलिसले सञ्चारमाध्यमका प्रश्नको जवाफ पनि दिएकी छैनन् ।
एनभिडियाले भने अमेरिकी गुप्तचर अधिकारीबाट आफूलाई यसबारे कुनै जानकारी नदिइएको जनाएको छ । कम्पनीका प्रवक्ताले वास्तविक सुरक्षा जोखिम भएको भए अमेरिकी सरकारले जानकारी गराउने विश्वास व्यक्त गरेका छन् ।
चीनले भने जासुसीको आरोप अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आरोपलाई आधारहीन, अड्कलबाजीमा आधारित र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको बताएका छन् ।
किन जोडियो राष्ट्रिय सुरक्षासँग यो प्रकरण ?
यो विवाद केवल एक अर्बपतिको व्यक्तिगत सम्बन्धमा सीमित छैन । यसको केन्द्रमा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा भइरहेको कृत्रिम बौद्धिकता (एआई) प्रविधि र त्यसका लागि आवश्यक अत्याधुनिक सेमिकन्डक्टर चिप छन् ।
एनभिडिया एआई प्रविधिका लागि आवश्यक उच्च क्षमताका चिप उत्पादन तथा डिजाइन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो । अमेरिकी प्रविधिको अग्रता कायम राख्न र चीनको सैन्य तथा निगरानी क्षमता विस्तार हुन नदिन अमेरिकाले सन् २०२२ देखि अत्याधुनिक चिप निर्यातमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
प्रतिबन्धका कारण एनभिडियालाई चीनको विशाल बजारमा कारोबार गर्न कठिन भएको छ । कुनै समय चीनमा करिब ९५ प्रतिशत बजार हिस्सा रहेको कम्पनीको उपस्थिति अहिले लगभग शून्यमा झरेको जेन्सन हुआङले बताएका थिए ।
हुआङ भने अमेरिकी सरकारसँग संवाद गर्दै चीनको बजारमा पुनः प्रवेश गर्ने प्रयासमा छन् । उनले अमेरिकाले अत्याधुनिक चिपबाहेक अन्य चिप चीनमा बिक्री गर्न अनुमति दिनुपर्ने पक्षमा पैरवी गर्दै आएका छन् ।
अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धामा एनभिडियाको भूमिका महत्वपूर्ण भएकाले कम्पनीका प्रमुखको व्यक्तिगत सम्बन्धसमेत अमेरिकी राष्ट्रिय सुरक्षा चासोको विषय बनेको हो ।
विश्वका सबैभन्दा उन्नत चिपमध्ये ९० प्रतिशतभन्दा बढी उत्पादन गर्ने ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) लगायतका संस्थासँग एनभिडियाको सहकार्य छ । त्यसैले चिप प्रविधि, उत्पादन ऋंखला र निर्यात
नियन्त्रणलाई अमेरिकाले रणनीतिक विषयका रूपमा लिँदै आएको छ ।
को हुन् जेन्सन हुआङ ?
सन् १९६३ मा ताइवानमा जन्मिएका जेन्सन हुआङ नौ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड युनिभर्सिटीबाट सोही विषयमा स्नातकोत्तर गरेका छन् ।
उनले अमेरिकी चिप कम्पनी एएमडीमा काम गरेपछि सन् १९९३ मा एनभिडियाको सहस्थापना गरेका थिए । उनको नेतृत्वमा एनभिडिया विश्वकै मूल्यवान कम्पनीमध्ये एक बनेको छ ।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार उनको सम्पत्ति करिब १५५ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । प्रविधि क्षेत्रमा उनलाई एआई क्रान्तिको प्रमुख नेतृत्वकर्तामध्ये एक मानिन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि उनको निकट सम्बन्ध रहेको बताइन्छ । ह्वाइट हाउसमा आयोजित एआईसम्बन्धी सम्मेलनमा ४२ प्रविधि कम्पनीका प्रतिनिधिसँगै हुआङ पनि सहभागी भएका थिए ।
को हुन् जेन्सनकी पत्नी ?
जेन्सन हुआङको वैवाहिक जीवन पनि अहिले चर्चामा छ । उनले सन् १९८० को दशकको सुरुवातमा ओरेगन स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा लरी मिल्ससँग भेट गरेका थिए ।
दुवैजना इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी थिए । उनीहरू एउटै प्रयोगशालामा काम गर्थे । उनीहरूले सन् १९८५ मा विवाह गरेका थिए । एनभिडियाको स्थापना हुनुभन्दा करिब आठ वर्षअघि विवाह गरेका उनीहरूका दुई सन्तान म्याडिसन र स्पेन्सर छन् ।
सन् २००७ मा दम्पतीले जेएच एन्ड एल हुआङ फाउन्डेसन स्थापना गरेका थिए । एनभिडियाको सेयर मूल्य बढेसँगै फाउन्डेसनको सम्पत्ति पनि उल्लेख्य रूपमा बढेको छ ।
यसको सम्पत्ति ९ अर्ब डलरभन्दा बढी रहेको अनुमान छ । फाउन्डेसनले ओरेगन स्टेट र स्ट्यानफोर्ड विश्वविद्यालयका इन्जिनियरिङ कार्यक्रमलाई ठूलो आर्थिक सहयोगसमेत गर्दै आएको छ ।
जेन्सनले आफूलाई पारिवारिक व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका थिए । उनको जीवनी ‘थिंकिङ मेसिन’ का लेखक स्टेफन विटका अनुसार हुआङका लागि परिवार निकै महत्वपूर्ण छ । उनी सार्वजनिक रूपमा पत्नीको प्रशंसा गर्ने र परिवारसँग निकट सम्बन्ध कायम राख्ने प्रयास गर्ने व्यक्तिका रूपमा चिनिन्थे ।
तर, आइतबार उनले पत्नीप्रति ‘बेवफाइ’ गरेको स्वीकार गर्दै पत्नी र सन्तानलाई दुःख पुर्याएकोमा माफी मागेका छन् । यसले उनको व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवनलाई पनि चर्चामा ल्याएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने हुआङले आफ्नो देशका लागि राम्रो काम गरेको भन्दै उनको बचाउ गरेका छन् । विदेशमन्त्री मार्को रुबियोले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
यसरी एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धाको केन्द्रमा रहेका एनभिडियाका प्रमुख अहिले चीनसँग जोडिएको जासुसीको आशंका, अमेरिकी राष्ट्रिय सुरक्षा चासो र व्यक्तिगत जीवनसँग सम्बन्धित विवादको घेरामा परेका छन्
।
–बीबीसीको सहयोगमा
प्रतिक्रिया 4