News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा आप्रवासन कटौतीको प्रस्तावबीच अस्ट्रेलियन होटल्स एसोसिएसनले आप्रवासी कामदारविना अर्थतन्त्रमा पर्ने असर देखाउने व्यङ्ग्यात्मक विज्ञापन सार्वजनिक गरेको छ।
- एएचएका सीईओ स्टेफेन फर्गुसनले अस्पताल, एज्ड केयर, बधशाला, फलफूल टिप्ने र हस्पिटालिटी क्षेत्र आप्रवासी कामदारमा निर्भर रहेको बताउनुभयो।
- लेबर, कोलिसन र वन नेसन पार्टीले आगामी वर्षहरूमा आप्रवासी सङ्ख्या ठूलो मात्रामा घटाउने योजना अघि बढाइरहेका छन्।
२८ असोज, सिड्नी । विश्वभरी नै आप्रवासीविरुद्ध जनमत बढिरहेको छ । यसलाई राजनीतिक हतियार बनाएर धेरै दलहरू उदाएका पनि छन् ।
यस्तै दृश्य देखिन्छ अस्ट्रेलियातिर पनि । सबै प्रमुख राजनीतिक दलहरूले आप्रवासन कटौतीको प्रस्ताव गरिरहेका छन् । यसबाट ताली पनि पाइरहेका छन् । तर दलहरूको यो कदमको नदेखिएको असरलाई एउटा नयाँ विज्ञापनले चित्रण गरेको छ।
लेबर, कोलिसन र वन नेसन पार्टीले आप्रवासीहरूको सङ्ख्या ७ लाख ५० हजारसम्मले कटौती गर्ने नीतिहरू अगाडि बढाइरहँदा, अस्ट्रेलियन होटल्स एसोसिएसन (एएचए) ले कसैले पनि कुरा नगरेको यसको गम्भीर असरलाई विज्ञापनमार्फत व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ।
विज्ञापनको सुरुवातमा एक व्यक्ति एउटा ठूलो रातो बटनतर्फ अघि बढ्छन्, जसको माथि लेखिएको हुन्छ- ‘आप्रवासी कामदारविना अस्ट्रेलिया चलाउन यो बटन थिच्नुहोस्।’
ती व्यक्तिले ‘अन्ततः कति नै नराम्रो होला र?’ भन्दै बटन थिच्छन् र एउटा काल्पनिक दुनियाँमा प्रवेश गर्छन्।
तर, एएचएका सीईओ स्टेफेन फर्गुसनले सेभेन न्युजसँग कुरा गर्दै भनेका छन्, ‘यदि राष्ट्रले आप्रवासी कामदारहरूको योगदानलाई बेवास्ता गर्दै उनीहरूको ठूलो हिस्सा गुमायो भने आम अस्ट्रेलियालीहरूले भोग्नुपर्ने वास्तविकता योभन्दा खासै फरक हुनेछैन।’
विज्ञापनमा ब्यारिस्टा र बारका कर्मचारीहरू क्याफे र पबबाट बाहिरिएको, ज्येष्ठ नागरिक स्याहारमा काम गर्ने एक महिलाले वृद्धलाई आँसुसहित बिदाइ गरेको (जहाँ ती वृद्धले आफूले उनीसँगको कुराकानी निकै मिस गर्ने बताउँछन्), र सुपरमार्केटमा सड्न लागेको अन्तिम एउटा स्याउ (जसको मूल्य ४७ डलर राखिएको छ) किन्न एक बालकले आफ्नो बुबालाई सोधेको दृश्य देखाइएको छ।
सुपरमार्केटको रित्तो फलफूल सेक्सनमा ती बालकका बुबाले त्यहाँका कर्मचारीलाई सोध्छन्, ‘यहाँका सबै फलफूल खै कहाँ गए?’
कर्मचारीले जवाफ दिन्छन्, ‘अझै रूखमै छन्।’
आप्रवासनबारे हुने बहसमा यसको कटौतीले पार्ने प्रत्यक्ष प्रभावलाई पनि समावेश गरिनुपर्ने फर्गुसनले बताए। ‘अस्ट्रेलियालीहरू आप्रवासनलाई लिएर चिन्तित छन् भन्ने म बुझ्छु र हामी यसलाई पूर्ण रूपमा सम्मान गर्छौं,’ उनले भने।
‘तर आप्रवासनबारे चलिरहेका सम्पूर्ण बहसहरूमा कुनै पनि राजनीतिक दलले अर्थतन्त्रबाट कामदार गुमाउँदा पर्ने असरबारे कुरा गरिरहेका छैनन्, चाहे ती अस्पताल, एज्ड केयर, बधशाला, फलफूल टिप्ने काम वा समग्र अर्थतन्त्रकै कामदार किन नहोऊन्,’ उनले थपे, ‘हरेक अस्ट्रेलियाली व्यवसायले पहिलो प्राथमिकतामा अस्ट्रेलियालीलाई नै काममा राख्न चाहन्छ। तर जब हामीसँग ती कामदार हुँदैनन्, तब हामीले विदेशबाट आएका मानिसहरूको खोजी गर्नुपर्ने हुन्छ। हामीले उनीहरूलाई अन्त कतैबाट ल्याउनैपर्छ।’
वन नेसन पार्टीले आप्रवासीहरूको सङ्ख्या कटौती गर्ने बहुदलीय प्रयासको नेतृत्व गरिरहेको छ। उसले आगामी तीन वर्षमा ७ लाख ५० हजार आप्रवासी कटौती गर्ने र खुद विदेशी आप्रवासन स्तरलाई नकारात्मक बनाउने योजना अघि सारेको छ।
यस पार्टीले हालैको सर्वेक्षणमा पाएको सफलताले अन्य प्रमुख दलहरूलाई पनि आप्रवासनसम्बन्धी आफ्नो अडान कडा बनाउन प्रेरित गरेको छ।
‘कोलिसन’ले पनि पहिलो वर्षमै वार्षिक विदेशी आप्रवासन स्तर एक तिहाइले कटौती गर्ने र चार वर्षभित्र अस्थायी भिसा वाहकहरूको सङ्ख्या ६ लाख ५० हजारले घटाउने योजना प्रस्ताव गरेको छ। कोलिसनको योजनाअन्तर्गत अस्ट्रेलियाको मानवीय कोटा पनि आधा घटाइनेछ र वर्किङ होलिडे भिसाको सङ्ख्या २३,७०० ले कटौती गरिनेछ।
लेबर पार्टी पनि खुद विदेशी आप्रवासनलाई जुलाई २०२७ सम्ममा २ लाख ४५ हजार र त्यसपछि प्रत्येक वर्ष २ लाख २५ हजारमा झार्न चाहन्छ।
लेबरले दोस्रो वर्षसम्म बस्न पाउने वर्किङ होलिडे मेकरहरूको सङ्ख्या ५७ हजारबाट घटाएर ४५ हजारमा सीमित गर्न चाहन्छ भने तेस्रो वर्षको बसाइलाई ३१ हजारबाट घटाएर ५ हजारमा झार्ने योजना बनाएको छ। भिसा अवधि सकिएर पनि बस्नेहरूलाई डिटेन्सन सेन्टरमा पठाइनेछ।
कामदारको हाहाकार
फर्गुसनका अनुसार आप्रवासी कामदारमा निर्भर रोजगारीहरू प्रायः मौसमी हुन्छन्, जस्तै: पर्यटकहरूको आगमन बढ्ने समय वा बाली भित्र्याउने समय। यस्ता अस्थायी प्रकृतिका कामहरूलाई धेरैजसो स्थानीय नागरिकहरूले पर्याप्त सुरक्षित वा आफ्नो लागि उपयुक्त मान्दैनन्।
‘वर्किङ होलिडे मेकरहरूले हामीलाई मौसमी क्षेत्रमा मद्दत गर्छन्। जाडो महिनाहरूमा उनीहरू अस्ट्रेलियाका उत्तरी भागहरूमा काम गर्छन्। उनीहरू केर्न्स, कुकटाउन, ब्रुम, डार्विनजस्ता ठाउँहरूमा जाने हुनाले निकै महत्त्वपूर्ण छन्,’ उनले भने, ‘उनीहरू त्यहाँ हस्पिटालिटी (होटल/पर्यटन) सँगै कृषि र बागवानी उद्योगमा पनि काम गर्छन्।’
उनले थपे, ‘अनि जब अस्ट्रेलियाको उत्तरी भागमा धेरै गर्मी हुन्छ, तब उनीहरू मेलबर्न र उत्तरी तस्मानियाजस्ता ठाउँहरूमा झर्छन् र त्यहाँ आवश्यक पर्ने कामहरू सम्हाल्छन्। उनीहरू एक गतिशील र उत्प्रेरित जनशक्ति हुन्।’
फर्गुसनले भने, ‘सरकारले यो सङ्ख्यालाई ४० हजारले कटौती गर्न चाहिरहेको छ, र हाम्रो प्रश्न छ- ती ४० हजार कामदारविना हामी कसरी काम गर्न सक्छौँ? हिजो मात्र म सुदूर उत्तरी क्विन्सल्यान्डका बागवानी उद्योगका मानिसहरूसँग थिएँ र त्यहाँ उनीहरू कामदारको हाहाकार गरिरहेका थिए।’ (एएपी र सेभनन्युजको सहयोगमा)
प्रतिक्रिया 4