+
+
Shares

अस्ट्रेलियामा ज्यान गुमाएकी राईको शव पठाउन ३६ हजार डलर जुट्यो

नर्सिङको पढाइ पूरा गरेर अस्ट्रेलियामै रजिस्टर्ड नर्सका रूपमा व्यावसायिक जीवन सुरु गर्ने तयारीमा रहेकी सञ्जुको निधनले परिवार स्तब्ध बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा नर्सिङको अन्तिम सेमेस्टरकी २५ वर्षीया नेपाली विद्यार्थी सञ्जु राईको सडक दुर्घटनामा मृत्यु भएको छ।
  • गाउलबर्नबाट बाथर्स्टतर्फ फर्किने क्रममा २ असोजमा न्यु साउथ वेल्सको डग रक्स रोडमा उनको कार रुखमा ठोक्किएको थियो।
  • सञ्जुको शव नेपाल पठाउन ५३६ दाताबाट ३६ हजार ३९० अस्ट्रेलियन डलर सङ्कलन भएको छ।

२६ असोज, सिड्नी । अस्ट्रेलियामा नर्सिङ अध्ययनको अन्तिम सेमेस्टरमा रहेकी २५ वर्षीया नेपाली विद्यार्थी सञ्जु राईको सडक दुर्घटनामा परी मृत्यु भयो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, बनौली घर भएकी राई चार्ल्स स्टर्ट विश्वविद्यालयमा नर्सिङ अध्ययनरत थिइन्। व्यावहारिक अभ्यास (प्लेसमेन्ट) पूरा गरी गाउलबर्नबाट बाथर्स्टस्थित आफ्नो निवासतर्फ फर्किने क्रममा गत अक्टोबर २ तारिखमा उनी दुर्घटनामा परेकी थिइन्।

न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ्सनजिकै डग रक्स रोडमा साँझ करिब ५ बजे उनी सवार कार सडकबाट अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

दुर्घटनामा कारमा सवार अर्की २४ वर्षीया विद्यार्थी पनि घाइते भएकी थिइन्, जसलाई तत्काल उद्धार गरी उपचारका लागि लिभरपुल अस्पताल लगिएको थियो।

नर्सिङको पढाइ पूरा गरेर अस्ट्रेलियामै रजिस्टर्ड नर्सका रूपमा व्यावसायिक जीवन सुरु गर्ने तयारीमा रहेकी सञ्जुको निधनले परिवार स्तब्ध बनेको छ ।

शव नेपाल पठाउन ३६ हजार डलरभन्दा बढी सङ्कलन

सञ्जुको पार्थिव शरीर नेपाल ल्याई पारिवारिक परम्पराअनुसार अन्तिम संस्कार गर्न उनका दाजु योगेश राईले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए। उक्त अभियानमार्फत ५३६ जना दाताबाट कुल ३६ हजार ३९० अस्ट्रेलियन डलर सङ्कलन भएको छ।

https://www.gofundme.com/f/sanju-rai

संकलित रकम पार्थिव शरीर नेपाल पठाउन, अन्तिम संस्कार गर्न तथा शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग पुर्‍याउन खर्च गरिने जनाइएको छ।

यसैबीच, चार्ल्स स्टर्ट विश्वविद्यालयकी उपकुलपति प्राध्यापक रेनी लियोनले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार, साथीभाइ र विश्वविद्यालय समुदायप्रति समवेदना प्रकट गरेकी छन्। विश्वविद्यालयले प्रभावित विद्यार्थी तथा कर्मचारीका लागि आवश्यक परामर्श र मनोसामाजिक सहयोगसमेत उपलब्ध गराएको छ।

स्थानीय प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?