+
+
Shares

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको बेरोजगारी दर सन् २०२६ को अक्टोबरमा ४.९ प्रतिशत पुगेको छ, जुन पाँच वर्षयताकै उच्च बिन्दु हो।
  • अस्ट्रेलियाली तथ्यांक विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्म रोजगारीमा रहेका नागरिक ४३ हजार ५०० ले घटेका छन् र बेरोजगार १७ हजार ८०० ले बढेका छन्।
  • १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर ११.१ प्रतिशतबाट बढेर ११.३ प्रतिशत पुगेको छ, जुन पाँच वर्षयताकै उच्च स्तर हो।

३ मङ्सिर, क्यानबेरा (रासस/सिन्ह्वा)। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो । अर्थशास्त्रीहरूले बेरोजगारी दर ४.७ प्रतिशतमै स्थिर रहने अनुमान गरेका थिए । तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा फरक अवस्था देखाएको छ ।

तथ्यांक विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्मको अवधिमा रोजगारीमा रहेका अस्ट्रेलियाली नागरिकको संख्या ४३ हजार ५०० ले घटेको छ । यसै अवधिमा बेरोजगार व्यक्तिको संख्या भने १७ हजार ८०० ले बढेको छ ।

अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए । यसअघि सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो ।

यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) ले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा बेरोजगारी दर क्रमशः बढ्ने अनुमान गरेको थियो । बैंकका अनुसार सन् २०२६ को जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको थियो ।

अस्ट्रेलियाली तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवामा पनि बेरोजगारी बढेको छ। उक्त उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ। यो पनि पाँच वर्षयताकै उच्च दर हो ।

त्यस्तै, अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । यो सन् २०२१ को डिसेम्बरयताकै न्यून स्तर हो ।

श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको तथ्यांक विभागले जनाएको छ । यस दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारी खोजिरहेका छन् भन्ने देखाउँछ ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ ।

लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु तथा श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजारमा आएको परिवर्तनलाई संकेत गरेको छ । विशेषगरी युवा उमेर समूहमा बेरोजगारी बढ्नु रोजगार बजारका लागि चुनौतीका रूपमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?