+
+
Shares
पौरखी प्रवासी :

१२ वर्षदेखि बार्सिलोनामा नेपाली जरा जोगाउँदै

काभ्रे पनौतीबाट २१ वर्षअघि स्पेन आएकी सरला सापकोटाले नेपाली बालबालिकालाई नेपाली अक्षर मात्रै सिकाइनन्, आफ्नो घर, गाउँ र पुर्खासँग जोडिरहने बाटो बनाइन्। १२ वर्षअघि पाँच जना बालबालिकाबाट सुरु भएको सानो नेपाली कक्षा आज सिंगो पुस्तालाई भाषा, संस्कृति र पुर्खाको जरा सम्झाइरहेको छ ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८३ कात्तिक ५ गते ९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनामा सन् २०१४ देखि चलिरहेको नेपाली पाठशालामा अहिले करिब ४० जना बच्चा नेपाली भाषा सिकिरहेका छन्।
  • सरला सापकोटाले शिक्षक, अभिभावक र ठाउँको समन्वय गर्दै १२ वर्षदेखि नेपाली पाठशाला सञ्चालनमा निरन्तरता दिँदै आएकी छन्।
  • पाठशालाले बालबालिकालाई भाषा, संस्कृति र परिवारको जरा चिनाउने काम गर्दै आएको छ।

बार्सिलोना। विदेशमा बसाइँ सरेपछि मानिसले धेरै कुरा शून्यबाट सुरु गर्नुपर्छ- काम, भाषा, सम्बन्ध र कहिलेकाहीँ आफ्नै परिचय। सरला सापकोटा (४८) ले पनि स्पेन आएपछि त्यही गरिन्। नेपालमा नर्सका रूपमा वर्षौं काम गरिसकेकी उनी बार्सिलोना आइपुग्दा नयाँ भाषा र नयाँ समाजबीच आफ्नो पेसागत जीवन फेरि बनाउँदै थिइन्।

समय बित्दै जाँदा उनको चिन्ता आफ्नै जीवनभन्दा अर्को पुस्तातिर मोडियो। स्पेनमा जन्मिएका नेपाली बच्चाले भोलि नेपाली बोल्ला त? पढ्ला त? आफ्ना हजुरबा–हजुरआमासँग आफ्नै भाषामा कुरा गर्ला त ?

यही प्रश्नको जवाफ खोज्दै उनले सुरु गरेको एउटा सानो प्रयास अहिले १२ वर्षको यात्रामा छ।

सन् २०१४ मा पाँच जना बच्चाबाट सुरु भएको बार्सिलोनाको नेपाली पाठशाला अहिले हरेक शनिबार चल्छ। सयौं बालबालिका त्यो पाठशालामा जोडिइसकेका छन्। अहिले पनि करिब ४० जना बच्चा नेपाली सिकिरहेका छन्।

यो पाठशालामा सरला नियमित कक्षा पढाउने मुख्य शिक्षिका होइनन्। उनको काम कक्षा कोठाभन्दा बाहिर छ- शिक्षक जुटाउने, अभिभावक जोड्ने, ठाउँ खोज्ने, कार्यक्रम बनाउने, समस्या समाधान गर्ने र सबैभन्दा कठिन कुरा पाठशालालाई निरन्तरता दिने।

त्यसैले, बार्सिलोनाको नेपाली समुदायमा उनी ‘नेपाली पाठशालाकी संयोजकका’ रूपमा चिनिन्छिन्। उनको १२ वर्षको कथा एउटा विद्यालयको कथा मात्रै होइन। यो विदेशमा हुर्किरहेको पुस्तालाई आफ्नो भाषा र पुर्खाको स्मृतिसँग जोडिराख्न एउटा आप्रवासी समुदायले गरेको निरन्तर प्रयासको कथा हो। 

नर्सबाट प्रवासी जीवनसम्म

सरलाको बाल्यकाल काभ्रेको रयाले (हालको पनौती नगरपालिका-१) मा बित्यो। बुबाको सानो पसल थियो। पाँच सन्तानको परिवारमा हुर्केकी सरला पढाइमा रुचि राख्थिन्। गाउँको विद्यालयमा पढ्दा पढाइसँगै विद्यालयका सामान्य काममा विद्यार्थी आफैं सहभागी हुनुपर्थ्यो। शान्ति निकेतन निमाविबाट सुरु भएको उनको पढाइ कुशादेवी माध्यमिक विद्यालय हुँदै एसएलसीसम्म पुग्यो।

एसएलसीपछि काठमाडौंमा केही समय कानुन पढ्ने प्रयास गरिन्। तर घरबाट टाढा बसेर पढ्नुपर्ने व्यावहारिक कठिनाइका कारण त्यो यात्रा लामो भएन। त्यसपछि नर्सिङ रोजिन्। महाराजगञ्ज नर्सिङ क्याम्पसमा अध्ययन पूरा गरेपछि नेपालमा करिब ८ वर्ष नर्सका रूपमा काम गरिन्।

विवाहपछि सन् २००५ को अप्रिलमा स्पेन आइन्। बार्सिलोना त्यतिबेला आज जस्तो नेपालीहरूको बाक्लो बस्ती थिएन। उनको सम्झनामा नेपालीको संख्या करिब ५० जति थियो। समुदाय सानो थियो, सम्बन्ध नजिक। नयाँ नेपाली आउँदा घरमा बोलाउने, एकअर्काको सुख-दुःखमा पुग्ने र सकेको सहयोग गर्ने चलन थियो। तर सरलाको आफ्नै जीवन भने नयाँ ठाउँमा फेरि निर्माण हुँदै थियो।

नेपालमा नर्स भएर काम गरिसकेकी सरलाले स्पेनमा पनि निरन्तरता दिइन्। करिब ६ वर्ष रेसिडेन्सहरूमा काम गरिन्। स्थानीय सहकर्मीबाट काम गर्ने शैली सिकिन्। तर भाषा सजिलो थिएन। ‘यहाँको समाजमा घुलमिल हुन भाषा जान्नैपर्छ भन्ने मैले बुझें,’ उनी सम्झिन्छिन्। विदेशमा आएपछि आफूले जानेको पेसा मात्रै पर्याप्त नहुने रहेछ भन्ने उनको अनुभव थियो। नयाँ समाज बुझ्नुपर्छ, नयाँ भाषा सिक्नुपर्छ र आफूले नजानेका कुरा स्वीकारेर सिक्नुपर्छ।

यही अनुभवले सायद उनलाई आफ्ना बच्चाहरूको भाषाबारे अझ गम्भीर बनायो। उनी देखिरहेकी थिइन्- घरभित्र नेपाली भए पनि बच्चाको वास्तविक संसार स्पेनिस र क्याटालान भाषामा बन्दैछ। त्यसपछि प्रश्न व्यक्तिगत रहेन। नेपाली समुदायको अर्को पुस्ताले नेपाली कसरी जोगाउने ? 

रोकिएको एउटा प्रयास, नरोकेको एउटा सोच 

सरला सन् २००९–११ तिर एनआरएनए स्पेनको कार्यसमितिमा थिइन्। त्यतिबेला नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने विषयमा छलफल भयो।

साप्ताहिक कक्षा सुरु गर्ने प्रयास भयो। तर विद्यार्थी नियमित भएनन्। कहिले सात जना भनिएका बच्चामध्ये दुई जना मात्रै कक्षामा आउने अवस्था आयो। प्रयास रोकियो। तर सरला रोकिइनन्। उनका लागि प्रश्न अझै बाँकी थियो।

सन् २०१३ को क्रिसमस बिदामा साथी निताको घरमा भएको एउटा भेटले त्यही पुरानो सोचलाई फेरि अघि ल्यायो। दुवैका बच्चा खेलिरहेका थिए।

कुराकानी फेरि नेपाली कक्षामै पुग्यो। यस पटक उनीहरूले अरू कसैको प्रतीक्षा गरेनन्। ‘हामी आफैंले सुरु गर्‍यौं।’ पाँच जना बच्चाबाट २०१४ को पहिलो सातादेखि नेपाली पाठशाला सुरु भयो।

विद्यार्थी थिए- पाँच जना। पहिलो कक्षा केशरी श्रेष्ठ नेमकुलको घरमा चल्यो। पढाउने जिम्मेवारी केशरीले सम्हालिन्। सरला व्यवस्थापन र समन्वयमा लागिन्। उनको संयोजनमा पाठशाला व्यवस्थापनका लागि एउटा टिमसमेत बन्यो।

बालबालिकाको संख्या विस्तारै बढ्दै गयो। केही समयमै घरमा आउने विद्यार्थी २२ पुगे। ठाउँ साँघुरियो। दुई समूह बनाएर पढाउन थालियो। त्यसपछि कक्षा किताबमा मात्र सीमित रहेन।

विदेशमा एउटा नेपाली समुदायले आफ्ना बच्चालाई आफ्नो भाषा सिकाउन स्थानीय संस्थाको सार्वजनिक ठाउँ प्रयोग गर्न पाउनु आफैंमा एउटा उपलब्धि हो। तर ठाउँ पाउनु एउटा कुरा हो, विश्वास कायम राख्नु अर्को।

दशैं-तिहारका कार्यक्रम हुन थाले। बच्चाहरू नेपाली पोसाकमा मञ्चमा उक्लिन थाले। गीत गाउन थाले। कविता पढ्न थाले। राष्ट्रिय गान गाउन थाले। एक परिवारले आफ्ना बच्चालाई नेपाली पोसाकमा मञ्चमा देख्यो। अर्को परिवारले पनि आफ्नो बच्चालाई ल्याउन थाल्यो।

पाठशाला विस्तार हुँदै गयो। सरलाका लागि त्यसबेला सबैभन्दा ठूलो चुनौती विद्यार्थी बढाउनु थिएन। निरन्तरता दिनु थियो। ‘सुरु गर्न सजिलो हुन्छ, निरन्तरता दिन गाह्रो हुन्छ,’ उनी भन्छिन्।

घरको कोठाबाट सार्वजनिक केन्द्रसम्म

फेब्रुअरी २०१६ मा पाठशाला एनआरएनएको कार्यालयमा सर्‍यो। पछि सेन्ट्रे सिभिक सेदेतासँग सहकार्यको बाटो खुल्यो। सुरुमा केही महिनाका लागि भनेर सुरु भएको सहकार्य वर्षौंसम्म चल्यो। अहिले हरेक शनिबार त्यहीँ नेपाली पाठशाला सञ्चालन हुन्छ। ठाउँ निःशुल्क उपलब्ध हुन्छ।

विदेशमा एउटा नेपाली समुदायले आफ्ना बच्चालाई आफ्नो भाषा सिकाउन स्थानीय संस्थाको सार्वजनिक ठाउँ प्रयोग गर्न पाउनु आफैंमा एउटा उपलब्धि हो। तर ठाउँ पाउनु एउटा कुरा हो, विश्वास कायम राख्नु अर्को।

सरलाका अनुसार उनीहरूले आफ्नो नियमितता र व्यवहारबाट त्यो विश्वास बनाउँदै लगे।

‘हाम्रो व्यवहारले पनि उहाँहरूको विश्वास जित्दै गयौं,’ उनी भन्छिन्।

पाठशालाको पछाडि एउटा समुदाय 

यो अभियान सरलाको एक्लो प्रयासले सम्भव भएको होइन। वर्षौंमा करिब एक दर्जनभन्दा बढी स्वयंसेवी शिक्षकले योगदान गरेका छन्। कसैले केही महिना, कसैले वर्षौं समय दिए। अभिभावकहरूले बच्चालाई हरेक शनिबार ल्याए। कार्यक्रम र गतिविधिमा साथ दिए। समुदायका अरू मानिसले पनि आवश्यक सहयोग गरे।

सरला आफैंले पनि पाठशालाका धेरै पक्ष सम्हालिरहिन्। कुन शिक्षकलाई कहिले बोलाउनेदेखि अभिभावकसँग समन्वय गर्नेसम्म। कार्यक्रमको तयारीदेखि ठाउँ व्यवस्थापनसम्म। बच्चाहरू नियमित भएनन् भने अभिभावकसँग कुरा गर्ने। कुनै समस्या आयो भने समाधान खोज्ने।

उनको भूमिका शिक्षकभन्दा बढी पाठशालाको संयोजक र संरक्षकको रह्यो।

‘यो मेरो मात्रै प्रयासले भएको होइन,’ उनी भन्छिन्, ‘धेरै शिक्षक, अभिभावक र समुदायका मानिसले आफ्नो समय दिएका छन्।’ सायद यही कारण यो पाठशाला कुनै व्यक्तिको निजी प्रयासमा सीमित रहेन। यो समुदायको साझा ठाउँ बन्यो।

 भाषा मात्रै होइन, आफ्नो ठाउँको स्मृति

अहिले पनि करिब ४० जना बच्चा नेपाली सिकिरहेका छन्। उमेर करिब चार वर्षदेखि १२-१३ वर्षसम्म छ। यो अवधिमा सयौं बच्चा जोडिए । तर, सबै टिकेनन्। कतिपय परिवार अर्को ठाउँमा गए। केही बच्चा किशोर भए। विद्यालय, साथी र आफ्नै रुचिको संसार बढ्दै जाँदा शनिबारको कक्षा नियमित गर्न उनीहरूलाई कठिन भयो।

तर, पाठशालाले उनीहरूलाई केवल नेपाली अक्षर सिकाएको छैन, उनीहरू नेपाली पढ्छन्। लेख्छन्। बोल्छन्। गीत गाउँछन्। कविता सुनाउँछन्। नेपालीमा नै भाषण गर्छन्। दशैं-तिहार र नेपाली संस्कृतिबारे जान्छन्। अझ, उनीहरूलाई आफ्नै परिवारको जरा खोज्न लगाइन्छ। नेपालको कुन जिल्ला? कुन गाउँ? बुबा-आमाको घर कहाँ ? हजुरबा-हजुरआमाको ठाउँ कहाँ ?

सरलाको बुझाइमा भाषा र संस्कृति छुट्टाछुट्टै कुरा होइनन्। ‘भाषा मात्रै सिकाएर पुग्दैन। भाषासँगै आफ्नो संस्कृति र आफ्नो जरा पनि बुझ्नुपर्छ।’

पाठशालाको प्रभाव कहिलेकाहीँ कक्षा कोठामा देखिँदैन। नेपाल पुगेपछि देखिन्छ। कुनै बच्चाले सडकको नेपाली बोर्ड पढ्छ। आफ्नो पुर्खाको गाउँको नाम चिन्छ। हजुरबा-हजुरआमासँग नेपालीमा कुरा गर्छ। अभिभावकले यस्ता अनुभव सुनाउँदा सरलालाई पाठशालाको उद्देश्य पूरा हुँदै गएको अनुभूति हुन्छ।

किनकि, उनका लागि नेपाली अक्षर चिन्नु मात्र होइन। त्यो बच्चाले आफ्नो परिवारको एउटा हिस्सा चिन्नु पनि हो।

आज विद्यार्थी भएका बच्चा भोलि शिक्षक बनुन्…

१२ वर्षदेखि पाठशालासँग जोडिएकी सरलाको अबको सपना भने आफू सधैं यसको केन्द्रमा रहिरहनु होइन। उनी चाहन्छिन्- आज पाठशालामा पढिरहेका बच्चाहरूले भोलि यसलाई आफैं सम्हालुन्।

आज विद्यार्थी भएका बच्चा भोलि शिक्षक बनुन्। व्यवस्थापन सम्हालुन्। अर्को पुस्तालाई नेपाली सिकाउन्। ‘भोलि हामीले छाड्दा पनि यो चलिरहोस्,’ उनी भन्छिन्। यही सोचले उनको कामको अर्थ अझ ठूलो बनाउँछ।

किनकि, सरलाले एउटा कक्षा मात्रै सुरु गरेकी होइनन्। उनले आफूभन्दा पछिको पुस्ताले सम्हाल्न सक्ने एउटा आधार बनाएकी छन्। घरको कोठाबाट सुरु भएको कक्षा आज बार्सिलोनाको सार्वजनिक सामुदायिक केन्द्रमा हरेक शनिबार चल्छ।

बीचमा शिक्षक फेरिए। विद्यार्थी फेरिए। परिवार फेरिए। केही बच्चा ठूला भए, केही अर्को ठाउँ गए। तर पाठशाला रोकिएन। सरलाको १२ वर्षको योगदानको सबैभन्दा ठूलो अर्थ पनि सायद यही हो।

विदेशमा भाषा जोगाउने काम सधैं ठूलो संस्था, ठूलो बजेट वा ठूलो अभियानबाट सुरु हुँदैन। कहिलेकाहीँ यो पाँच जना बच्चाबाट सुरु हुन्छ, एउटा घरको कोठाबाट कक्षा सुरु हुन्छ र त्यसलाई वर्षौंसम्म आफ्नो जिम्मेवारी ठानेर जोगाइरहँदा एउटा पुस्ताका लागि ठूलो सम्पत्ति बन्छ।

ती नेपाली अक्षरहरूमा भाषा मात्रै छैन। त्यहाँ मूल घरको सम्झना छ, पुर्खाको गाउँ छ, संस्कृति छ र एउटा पुस्ताबाट अर्को पुस्तातिर हस्तान्तरण हुँदै गरेको नेपाली जरा छ।

त्यही जरा सरला सापकोटाले १२ वर्षदेखि जोगाइरहेकी छन्।

पौरखी प्रवासी
लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?