News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक धिरज राजवंशीले मंसिर ४ गतेदेखि ‘हिमालयन गोल्ड’ प्रदर्शनमा आउन लागेको र यसमा यार्सागुम्बा टिप्नेहरूको कथा समेटिएको बताए ।
- उनले रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदाय यार्सागुम्बा सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कथा १९९० ताका देखाइएको उल्लेख गरे ।
- राजवंशीले लोमान्थाङमा व्यावसायिक रूपमा सुट गरिएको यो सम्भवतः पहिलो फिल्म भएको र जाडो तथा अक्सिजनको चुनौती झेल्नुपरेको बताए ।
निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर दर्शकमाझ यही मंसिर ४ गतेदेखि आउँदैछन् । अमेरिकाको लसएन्जल्समा फिल्म डिरेक्सन र प्रोड्युसिङ विषयमा अध्ययन गरेका उनले नेपाल फर्किएपछि फिल्म ‘खुस्मा’ मा चिफ एडी भएर काम गरे । यो फिल्मको सुटिङका लागि रुकुम पुगेपछि उनलाई ‘हिमालयन गोल्ड’ को बाटो खुलेको रहेछ ।
यार्सागुम्बा टिप्न जानेहरूको कथा फिल्ममा समेटिएको उनले बताएका छन् । यो कथा अहिलेसम्म कसैले फिल्म नबनाएको उनको दावी छ ।
यो फिल्मको सन्दर्भलाई लिएर निर्देशक धिरज राजवंशीसँग गरिएको कुराकानीको सम्पादित अंश:
हिमालयन गोल्ड के हो ?
हिमालयन गोल्ड हिमाली भेगमा पाउने यार्सागुम्बा हो । यसलाई स्थानीयले हिमालयन गोल्ड भन्दा रहेछन् । हामीले फिल्म ‘हिमालयन गोल्ड’ मा रुकुम, डोल्पा, रोल्पा, मनाङको समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कुरा देखाएका छौं ।
हाम्रो फिल्मले सन् १९९० ताकाको समयलाई देखाएको छ । जुन समयमा स्थानीयबासिन्दा यार्सागुम्बा टिप्न जाँदा सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्थे । जो जो मान्छे यार्सा गुम्बा टिप्न जान्थे, त्यो बेला लुटपाट धेरै हुन्थ्यो । त्यही कुरालाई फिल्ममा देखाएका छौं ।
यो कथामा फिल्म बनाउने सोच कसरी आयो ?
मैले अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन र निर्माण विषयमा अध्ययन गरेको छु । त्यहाँ पढाई सकेपछि मलाई बस्न मन थिएन । त्यहाँ कामहरु पाए पनि त्यति सन्तुष्ट थिइनँ । त्यसपछि नेपाल फर्किने निर्णय लिएँ । नेपाल फर्किएपछि कस्तो कथामा फिल्म बनाउने भन्ने सोच दिमागमा चाहिँ थियो । नेपाली कथालाई ग्लोबल अडियन्समा देखाउनु पर्यो भने बाहिर नै लगेर देखाउँदा कुन चाहिँ नयाँ कथा देखाउन सकिन्छ भन्ने माइन्डसेट थियो ।

मैले यार्सागुम्बा भन्ने कुरा पहिलादेखि नै थाहा पाएको थिएँ । त्यसमा केही लेखौं भनेर लेख्न थाले । फिल्म ‘खुस्मा’ मा चिफ एडी भएर काम गरेको थिएँ । हामी यो फिल्मको सुटिङका लागि रुकुम पुगेका थियौं । सुटिङ सकिएपछि स्थानीयबाट थाहा भयो– सबैभन्दा राम्रो यार्सागुम्बा रुकुममा पाउँछ भनेर। सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगेँ । त्यो बेला टिप्ने सिजन पनि रहेछ ।
त्यहाँ गएर कसरी लुटपाट हुन्थ्यो, कसरी डोल्पाका मान्छेहरू रुकुम आउँथे, मनाङ जान्थे भन्ने थाहा पाएँ । माओवादी युद्ध पनि रोल्पा, रुकुमबाट नै सुरु भएको थियो । त्यो समयमा कसरी लुटपाट हुन्थ्यो भन्ने पनि जिज्ञासा लागिरह्यो । अनि ‘ल यसमा चाहिँ कथा छ है’ भन्ने लाग्यो । यो कथा अहिलेसम्म कसैले भनेका पनि छैनन् । त्यसकारण ‘हिमालयन गोल्ड’ बनाउने निर्णय लिएँ ।
कथा तयार पार्न कति समय लाग्यो ?
मलाई झण्डै एक वर्ष बढी नै समय लाग्यो ।
सुटिङ सुरु हुनुअघि सुटिङको लोकेसनमा जानुभयो होला नि ?
म पहिला रुकुम नै गएँ । बुकीमै पुगें । जहाँ यार्सागुम्बा टिपिन्छ । त्यहाँ पुग्न घोडामा ५ घण्टा समय लाग्यो । माथि क्याम्प नै बनाएर बस्नुपरेको थियो । मलाई खासमा डोल्पामा सुट गर्न मन थियो । तर फिजिबिलिटी, बाटो सुविधा नभएर र प्रोडक्सन खर्च बढी हुने देखिएपछि मैले मुस्ताङमा सारे ।
मुस्ताङमा सार्दा पनि हाइ अल्टिच्यूटमा नै गर्यौं । ४८०० भन्दा मुनि त सुट नै गरेनौं । लोमान्थाङमा व्यवासायिक रुपमा सुट गरेको फिल्म सम्भवत हाम्रो नै पहिलो हो । लोमान्थाङ माथि पनि सुट गरेर आएका छौं । सुटिङअघि यो स्थानमा चारपटक पुगेर स्क्रिप्ट पूरा गरेको थिएँ ।
कास्टिङ कसरी गर्नुभयो ?
सबैभन्दा पहिला मैले कास्ट गरेको परीक्षा लिम्बु हो । हाम्रो फिल्मको मेन लिड नै उहाँ हुनुहन्छ । अझ भनौं फिल्मको हिरो । मैले परीक्षाको ‘ऊनको स्वीटर’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि म प्रभावित भएँ । मैले प्रोडक्सन भन्दा ६ महिनाअघि नै उहाँलाई फिल्मको लुज ड्राफ्ट दिएको थिएँ, त्यो उहाँले मनपराउनुभयो अनि साइन गराएँ । फिल्ममा परीक्षा हिरो, अनि चारजना गुण्डा छन् ।
पहिलो गुण्डाको रूपमा कर्मा दाईलाई नै लिएँ । किनभने स्क्रिप्ट लेख्दादेखि नै कर्मा दाइ दिमागमा हुनुहुन्थ्यो । त्यसपछि सजन थापा मगर । उहाँलाई मैले ‘पशुपति प्रसाद’ हेरेपछि नै आफ्नो फिल्ममा लिन्छु भन्ने थियो । अनि उहाँले अडिसन दिनुभयो र छनोट हुनुभयो । अनि अन्तिममा सुनिल थापा चाहिँ जोडिनुभयो ।

म पहिला देखि नै समय समयमा एभरेष्ट फिल्म गइरहन्थे । मैले लसएन्जल्समा पढ्दा भोगेको कुरा के थियो भने फिल्म पढिसकेपछि अधिकांश विद्यार्थीको जाने बाटो नै हुँदैन थियो । उनीहरूलाई फिल्म उद्योगमा कसरी घुस्ने भन्ने थाहा हुँदैन ।
त्यसकारण मैले एभरेष्ट फिल्म एकेडेमीमा गएर चार पाँचजना विद्यार्थीहरूलाई हाम्रो फिल्ममा इन्टर्न गर्न लगाएँ । फिल्ममा मेन भिलेन, ग्याङको लिडर कास्ट भइरहेको थिएन । त्यही क्रममा मैले सुनिल दाइलाई ‘दाइ यो रोल गरिदिनु न’ भनेको थिएँ । उहाँले स्क्रिप्ट पढ्नेबित्तिकै म गर्छु भन्नुभयो ।
हिमाली क्षेत्रमा सुटिङ गर्दा के–के चुनौती सामना गर्नुपर्यो ?
चुनौती धेरै थिए । हामीले प्रि–प्रोडक्सनमा नै प्रत्येक काष्ट एण्ड क्रुलाई नै भनेका थियौं । पहिलादेखि नै वार्मअप गरिरहेका थियौं । मुक्तिनाथ भन्दा माथि सुट गर्नुपर्छ । लोमान्थाङमा सुट गर्नुपर्छ । स्वास्थ्यको तयारी गर्नु । गोजीमा लसुन बोक्नु । ती सबै कुरा गरिराख्नु भनेका थियौं ।
ठूलो च्यालेन्ज चाहिँ थिएन । प्रोडक्सन मेनेजरले हरेक दिन राति सबै जनाको अक्सिजन लेभल चेक गरिरहन्थे । हामीलाई जाडोकै बढी दुःख भयो ।
फिल्मले आम दर्शकलाई कसरी कनेक्ट गर्छ ?
यो कथाले किन कनेक्ट गर्छ भने यो कथा यार्सागुम्बा र लुटपाटको मात्र होइन । यो संघर्ष हो । यो अन्डरडग कथा हो । जुन क्यारेक्टर परीक्षाले निभाएको छ । उसको काम नै संघर्षशील छ । त्यो केटीले रिभेन्ज कसरी लिन्छ भन्ने कुरा हो । यो स्टोरीको मेन प्लट नै चारजना लुटेरा हुन्छ । चारजना लुटेराले यार्सा गुम्बा लुट्दै आउँदा परीक्षाको परिवार पनि यो जालमा फस्छ । अनि परीक्षाको क्यारेक्टरले सबैलाई भेट्छ ।
यो फिल्म लेखिरहँदा र निर्देशन गरिरहँदा सरकारले त्यो क्षेत्रका मानिसलाई के कस्तो सहयोग गर्नुपर्छ जस्तो लाग्यो ?
हामीलाई स्थानीय मानिस र स्थानीय निकायले सहयोग गरे । लोमान्थाङ भन्दा माथि टकमार भन्ने ठाउँ छ । हामी जाँदा त्यहाँ बत्ति नै थिएन । त्यो लोमान्थाङ भन्दा अझ विकट ठाउँ हो । हामी त्यहाँ ३ दिन सुटिङका लागि गएका थियौं । त्यहाँ यार्सागुम्बा मात्र छैन, वातावरण, सुन्दरता र स्थानीयको संघर्ष आफैंमा उदाहरणीय छ । यो क्षेत्रमा पर्यटन बोर्डले बुस्ट गर्नुपर्छ । त्यहाँका मानिसलाई काठमाडौंमा के भइरहेको छ भन्ने कुराको मतलब नै नहुँदो रहेछ ।
व्यावसायिक सिनेमा बनाउन सजिलो कि फरक जनराको ?
हाम्रो फिल्म पनि व्यावसायिक नै हो । फरक चाहिँ जनरामा हो । मेन फरक के ल्याउन खोजेको हो भने हाम्रोमा धेरै फिल्म एउटै कथा, एउटै विषयमा बनेका छन् । अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरु एउटै शैलीमा बनेका छन् । मैले पाँच वर्ष फिल्म उद्योगमा काम गर्दा कतिजनाले केही नयाँ र फ्रेस आउनुपर्छ भन्ने चाहन्थे ।

त्यो चाहना हिमालयन गोल्डले केही हदसम्म पुरा गर्नेमा म ढुक्क छु । म गाउँकै कथामा वैदेशिक रोजगारको विषयमा पनि फिल्म बनाउन सक्थें । तर त्यो अरूले भनिसके र देखाइसके । यार्सागुम्बाको पनि बनेको छैन र जसरी हामीले स्टोरी टेलिङ देखाएको छ, यो धेरै चुनौतिपूर्ण थियो ।
भनेपछि ‘खुस्मा’ का लागि रुकुम नपुगेको भए हिमालयन गोल्ड बन्दैनथ्यो ?
सायद फिल्म बन्थ्यो, तर यति गहिराइमा चाहिँ बन्दैन थियो । म त्यहाँ जानुभन्दा अगाडि चाहिँ फिल्म गर्नुपर्छ है भनेर मेरो मनमा थियो । तर त्यहाँ पुगेपछि स्क्रिप्टको डिटेलिङका लागि कतिपय क्यारेक्टरहर त त्यहाँको वास्तविक मान्छेका चरित्र पनि छन् ।
जसलाई मैले भेटेको थिएँ । फिल्मका घटना र दुर्घटनाहरु पनि त्यही कथा सुनेर नै राखेको हो । ‘खुस्मा’ को समयमा त्यहाँ नगएको भए मलाई अलिकति समय चाहिँ लाग्थ्यो ।
प्रतिक्रिया 4