News Summary
Generated by OK AI. Editorially reviewed.- कृष्ण हमालले महोत्तरीको बर्दिबासको नयाँ बस्तीमा बाल्यकाल बिताएर अस्ट्रेलियाको संघीय सरकारमा अर्थशास्त्रीका रूपमा तीन दशकभन्दा बढी काम गरे।
- उनी सन् १९८१ मा नेपाल फर्किएर एप्रोस्कमा काम गरेपछि क्यानडा र अस्ट्रेलिया पुगेका थिए र सन् १९९१ देखि स्थायी रूपमा अस्ट्रेलिया बस्न थाले।
- हमालले अस्ट्रेलियामा नेपाली समुदायका संस्थामा नेतृत्व गर्दै फेन्का स्थापना प्रक्रियामा भूमिका खेलेका थिए र नेपालसँग सामाजिक तथा विकास सहयोग निरन्तर जोडिरहे।
चार वर्षको उमेरमा उनी महोत्तरीको बर्दिबास पुगे। त्यो ठाउँ त्यतिबेला आजको जस्तो विकसित थिएन। नयाँ बस्ती बस्दै थियो। वरिपरि चारकोसे झाडी थियो। बाघ, भालु, चितुवा र हात्तीको डर थियो।
घरबाहिर निस्किन पनि जोखिम। त्यसैले बुबाले कहिलेकाहीँ उनलाई, आमा र काकालाई घरभित्रै राखेर बाहिरबाट ढोका लगाएर हिँड्नुपर्थ्यो।
त्यही सुनसान बस्तीमा हुर्किएका बालक कृष्ण हमालले पछि अस्ट्रेलियाको संघीय सरकारको नीतिनिर्माण तहमा अर्थशास्त्री बनेर तीन दशकभन्दा लामो समय बिताए। अहिले उनी अस्ट्रेलियाको क्यानबेरामा बस्छन् र नेपाली समुदायका विभिन्न संस्थामार्फत अस्ट्रेलिया र नेपालबीचको सम्बन्धमा सक्रिय छन्।
नयाँ बस्तीको एक्लो बालक
कृष्ण हमालको बाल्यकाल उदयपुरको पिपल भञ्ज्याङबाट सुरु भयो। चार वर्षको उमेरमा परिवार महोत्तरीको बर्दिबासतिर सर्यो।
बुबा पहाडबाट झरेर नयाँ ठाउँमा बस्ती बसाल्न पुगेका थिए। वरिपरि जङ्गल फँडानी गरेर बस्ती बनिरहेको थियो। सुरुमा उनीहरूका अलावा त्यहाँ अरू परिवार खासै थिएनन्। ‘म मात्रै केटाकेटी थिएँ। बुबा, आमा, काका र एक-दुई जना अरू साथीहरू हुन्थे,’ उनी बाल्यकाल सम्झिन्छन्।
बस्ती नयाँ थियो। वरिपरि जंगल। जंगली जनावरको डर उत्तिकै। केही वर्षपछि बस्तीमा मानिसहरू थपिँदै गए। स्वास्थ्यकर्मी आए। विस्तारै गाउँ बस्न थाल्यो। विद्यालय भने थिएन।
उनीसहित केही बालबालिका करिब डेढ घण्टा हिँडेर अर्को ठाउँमा पढ्न जान्थे। पछि उनका बुबाले आफ्नै पहलमा त्यहाँ विद्यालय स्थापना गरे।
बर्दिबासपछि जनकपुरमा उनको पढाइ अघि बढ्यो। त्यसपछि थप अध्ययनका लागि भारतको दार्जिलिङ पुगे। त्यसपछि उनको जीवनले अर्को मोड लियो। त्यहीँ उनले साहित्यकार निर शाहसँग समकालीन भएर अध्ययन गरेको सम्झन्छन्।
छात्रवृत्तिबाट अस्ट्रेलिया
सन् १९७९ अगस्ट। कृष्ण हमाल पहिलो पटक अस्ट्रेलिया पुगे। उनी छात्रवृत्तिमा कृषि अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्न गएका थिए। अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित आर्मिडेलमा रहेको युनिभर्सिटी अफ न्यू इङ्गल्यान्ड उनको गन्तव्य थियो।
त्यतिबेला अस्ट्रेलिया आजको जस्तो विदेशी विद्यार्थी र आप्रवासीले भरिएको थिएन। नेपाली त निकै कम थिए।
आर्मिडेलको एकान्त वातावरण उनलाई सुरुमा नेपालका पहाडी गाउँ जस्तै लाग्यो। तर काठमाडौंको भिडबाट पुगेका उनलाई त्यो ठाउँ सुनसान पनि लाग्थ्यो।
होस्टलमा एउटा कोठा पाउन सात अस्ट्रेलियन डलरजति खर्च हुन्थ्यो। त्यही रकममा साप्ताहिक जीवन चलाउन सकिन्थ्यो। पेट्रोल पनि निकै सस्तो थियो।
‘नयाँ ठाउँ भएकाले न्यास्रो त लाग्थ्यो। तर पढाइमा ध्यान भयो,’ उनी सम्झन्छन्।
त्यतिबेला फोन गर्न पनि आज जस्तो सजिलो थिएन। नेपालमा रहेका परिवारसँग कुरा गर्न पोस्ट अफिस पुग्नुपर्थ्यो। समय मिलाएर फोन गर्नुपर्ने र त्यसका लागि रकम जम्मा गर्नुपर्ने अवस्था थियो।
कहिलेकाहीँ दशैं जस्ता चाडपर्वमा मात्र नेपालमा फोन गर्न सम्भव हुन्थ्यो।
क्यानबेरा पुग्दाको उनको यात्रा पनि अहिलेको जस्तो सहज थिएन। सिड्नीबाट ट्रेनमा गोल्बर्नसम्म पुगेपछि ट्रकमा हिचहाइकिङ गर्दै क्यानबेरा पुगेको उनी सम्झन्छन्।
जे होस्, उनी पढ्न त्यहाँ पुगेका थिए तर उनका लागि त्यो ठाउँ विल्कुलै फरक संसार थियो ।
पढाइपछि सरकारी नीति निर्माणमा
धेरैको विदेश यात्रा पढाइपछि त्यहीँबाट सुरु हुन्छ। हमालको भने त्यतिबेला उल्टो बाटो भयो। दुई वर्षको मास्टर डिग्री पूरा गरेर उनी सन् १९८१ मा नेपाल फर्किए।
नेपालमा उनी कृषि मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित स्वामित्व रहेको एग्रिकल्चर प्रोजेक्ट्स सर्भिसेज सेन्टर (एप्रोस्क) मा काम गर्न थाले।
एप्रोस्कले सरकारका लागि परियोजना निर्माण, योजना, नीति विश्लेषण र नीति सुझावसम्बन्धी काम गर्थ्यो। विश्व बैंकका ग्रामीण विकास परियोजनाको तयारीमा पनि एप्रोस्क संलग्न थियो । त्यहीँबाट सेती, महाकाली र राप्ती जस्ता एकीकृत विकास परियोजनाको अध्ययन तथा योजना निर्माणमा काम हुन्थ्यो।
‘अञ्चललाई कसरी आर्थिक रूपमा विकास गर्ने भन्ने योजना हुन्थ्यो। ठूला परियोजना २०-२५ वर्षका योजनासहित बनाइन्थे,’ उनी सम्झन्छन्।
झण्डै पाँच वर्ष नेपालमा काम गरेपछि अर्को छात्रवृत्तिले हमाललाई क्यानडा पुर्यायो । र, युनिभर्सिटी अफ अल्बर्टाबाट उनले विकास अर्थशास्त्रमा विद्यावारिधि गरे।
यस पटक भने उनी अध्ययन सकेर नेपाल फर्किएनन् । बरु अस्ट्रेलियातिर हानिए । किन ?
यसको उत्तर उनको व्यक्तिगत यात्रासँगै नेपालको तत्कालीन राजनीतिक र संस्थागत परिवर्तनसँग जोडिएको छ।
उनी एप्रोस्क जस्ता संस्थामा दक्ष जनशक्ति काम गर्ने बताउँछन्। तर राजनीतिक परिवर्तनपछि त्यस्ता संस्थामा दक्षताभन्दा राजनीतिक पहुँचका आधारमा भर्ती बढ्न थालेको उनको बुझाइ छ।
‘दक्ष मान्छेहरू लाखापाखा लागे। कसैले आफ्नै निजी अनुसन्धान संस्था खोले, धेरैजसो संयुक्त राष्ट्रसंघतिर गए, कोही अमेरिका गए, कोही युरोप गए। म चाहिँ अस्ट्रेलियातिर लागेँ,’ उनी भन्छन्।
अस्ट्रेलियाली सरकारका अर्थशास्त्री
सन् १९९१ मा स्थायी रूपमा अस्ट्रेलिया बस्न थालेका हमालले संघीय सरकारअन्तर्गत विभिन्न निकायमा अर्थशास्त्रीका रूपमा काम गरे। उनले ब्युरो अफ एग्रिकल्चरल एन्ड रिसोर्स इकोनोमिक्समा चार वर्ष, ब्युरो अफ टुरिजम रिसर्चमा दुई वर्ष र त्यसपछि ब्युरो अफ ट्रान्सपोर्ट एन्ड रिजनल इकोनोमिक्समा करिब २० वर्ष काम गरेका थिए।
सरकारी सेवामा उनको काम मूलतः आर्थिक नीति र अनुसन्धानसँग जोडिएको थियो।
उनले यातायात, विमानस्थल, क्षेत्रीय विकास तथा वातावरणसँग सम्बन्धित विभिन्न अध्ययनमा काम गरे। सरकारी नीति निर्माणमा प्रयोग हुने अनुसन्धानपत्र तथा आर्थिक विश्लेषण तयार पार्नु उनको कामको महत्त्वपूर्ण हिस्सा थियो।
अस्ट्रेलियाको सरकारी अभिलेखमा पनि उनका अनुसन्धानहरू भेटिन्छन्। सन् २००६ को एउटा अध्ययनमा उनी प्रमुख अनुसन्धानकर्ताका रूपमा थिए। त्यसमा अस्ट्रेलियाका बन्दरगाहमा कन्टेनर तथा पानीजहाजको आवागमनसम्बन्धी दीर्घकालीन पूर्वानुमान गरिएको थियो।
सन् २०११ मा प्रकाशित एउटा अध्ययनमा उनले अस्ट्रेलियाका विमानस्थलमार्फत हुने अन्तर्राष्ट्रिय हवाई मालवाहक आवागमनको दीर्घकालीन पूर्वानुमानमा काम गरेका थिए।
सरकारी सेवामा रहँदा उनले वातावरण र यातायात नीतिसँग सम्बन्धित अनुसन्धानमा पनि काम गरे। उनले गरेका केही अध्ययन सरकारी नीति निर्माणमा प्रयोग भएको र त्यस्ता परियोजनामा आफ्नो योगदानको प्रशंसा पाउँदा सन्तुष्टि हुने उनी बताउँछन्।
विशेषगरी विमानस्थल निजीकरणसम्बन्धी अध्ययन उनका लागि महत्वपूर्ण रह्यो। सरकारले विमानस्थल निजीकरण गर्दा त्यसले दक्षता र दीर्घकालीन आर्थिक प्रभावमा के असर पार्छ भन्ने विषयमा गरिएको अध्ययनमा उनी संलग्न थिए।
त्यस्तै, अस्ट्रेलियाले हरितगृह ग्यास उत्सर्जन घटाउन लिएका लक्ष्यले यातायात र अर्थतन्त्रमा पार्ने प्रभावबारे पनि उनले अनुसन्धान गरे।
सरकारी सेवामा उनले लामो समय एउटै क्षेत्र र संस्थागत संरचनामा काम गरे। दशकौंसम्म लगातार सरकारी सेवामा काम गरेबापत आफूले सेवा पदक पाएको हमाल बताउँछन्।
उनका लागि ती पदक केवल सम्मान थिएनन्। ‘धेरैजसो मान्छे तीन चार वर्ष, चार पाँच वर्ष एउटा ठाउँमा बसेर अर्को ठाउँमा जान्छन्। हामी केही मान्छे भने एउटै सरकारी संरचनामा निरन्तर काम गरिरहेका थियौं,’ उनी भन्छन्।
अस्ट्रेलियामा सामुदायिक यात्रा
अर्थशास्त्रीको सरकारी करिअरसँगै हमालको अर्को परिचय विस्तार हुँदै गयो, नेपाली समुदायको अभियन्ताका रूपमा।
अस्ट्रेलिया पुगेका सुरुका वर्षमा नेपाली निकै कम थिए। त्यतिबेला नेपालीहरूबीच भेटघाटका लागि सिड्नी र क्यानबेराको बीचमा पिकनिक गर्ने अवस्था रहेको उनी सम्झन्छन्।
क्यानबेरामा रहेको अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीसँग उनको सम्बन्ध लामो छ। उनले पहिलो पटक सन् १९९८-९९ देखि २००४-०५ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २००९-१० देखि २०१०-११ सम्म पुनः अध्यक्ष बने।
यसरी हेर्दा नेपाली समुदाय अस्ट्रेलियामा विस्तार हुँदै गरेको समयदेखि नै उनी संस्थागत गतिविधिमा सक्रिय थिए।
एकीकृत आवाज अर्थात् फेन्का
अस्ट्रेलियामा नेपालीको सङ्ख्या बढ्दै जाँदा विभिन्न राज्यमा नेपाली समुदायका छुट्टाछुट्टै संस्था पनि बढे।
हमालको विचारमा अब ती संस्थाहरूबीच समन्वय आवश्यक थियो। सबैको समस्या एउटै ठाउँमा पुर्याउने र अस्ट्रेलियाली सरकारसँग नेपाली समुदायको साझा आवाज राख्ने संस्था आवश्यक थियो।
त्यही सोचबाट फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को अवधारणा अघि बढ्यो।
विभिन्न नेपाली समुदायका संस्थाहरूलाई एउटै आवाजमा जोड्ने अवधारणाका लागि सन् २०१५ मा पाँच सदस्यीय मूल कार्यदल बनेको थियो, जसमा डा. कृष्ण हमाल पनि थिए। यो संस्था सन् २०१८ अगस्ट २ मा औपचारिक रूपमा दर्ता भयो।
हमाल पछि यसको नेतृत्वमा पुगे। सन् २०२१-२३ को कार्यसमितिमा उनी अध्यक्ष थिए।
संस्थाको उद्देश्य अस्ट्रेलियाका संघीय, राज्य तथा स्थानीय सरकारसँग नेपाली समुदायका मुद्दा उठाउनु हो। त्यसैअनुसार उनले आप्रवासन, क्षेत्रीय बसाइँसराइ, रोजगारी, शिक्षा, स्वास्थ्य तथा नेपाली समुदायको सामाजिक अवस्थासँग सम्बन्धित विषयमा सरकारसमक्ष आवाज पुर्याउँदै आएका छन्।
संसद्सम्म नेपाली समुदायको आवाज
फेन्कामार्फत हमालले अस्ट्रेलियाली संसद्का विभिन्न प्रक्रिया र छलफलमा नेपाली समुदायका मुद्दा राखेका छन्।
क्षेत्रीय आप्रवासनसम्बन्धी संघीय संसदीय छानबिनमा फेन्काले पेस गरेको दस्तावेजमा नेपाली समुदायलाई क्षेत्रीय अस्ट्रेलियामा बसोबास गराउन रोजगारी, परिवार, बालबालिकाको शिक्षा र समुदाय निर्माणलाई एकसाथ हेर्नुपर्ने विषय उठाइएको थियो। उक्त दस्तावेजमा हमाल फेन्काका महासचिवका रूपमा हस्ताक्षरकर्ता थिए।
उनको नेतृत्वमा नेपाली समुदायले सिपयुक्त आप्रवासनलाई प्राथमिकता दिनुपर्ने, क्षेत्रीय क्षेत्रमा नेपाली परिवारलाई आकर्षित गर्न रोजगार र सामाजिक संरचना आवश्यक पर्ने तथा नयाँ पुस्तालाई खेलकुद र सामुदायिक गतिविधिमा जोड्नुपर्ने विषय उठाउँदै आएको छ।
अस्ट्रेलियामा नेपाली समुदायको घरेलु हिंसा, मानसिक स्वास्थ्य र नयाँ पुस्ताको सामुदायिक सहभागिता जस्ता विषय पनि उनका प्राथमिकतामा छन्।
उनका लागि प्रवासमा सफल हुनु भनेको व्यक्तिगत आर्थिक उपलब्धि मात्र होइन, आफू बसेको समाजमा नेपाली समुदायको पहिचान, क्षमता र योगदान स्थापित गर्नु पनि हो।
नेपालसँग अटुट सम्बन्ध
अस्ट्रेलियामा दशकौं बिताए पनि हमालको नेपालसँगको सम्बन्ध भने निरन्तर रह्यो।
हेल्प नेपाल नेटवर्क जस्ता संस्थामार्फत उनी नेपालका सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित गतिविधिमा जोडिएका छन्। उनी गैरआवासीय नेपाली संघका विभिन्न पहलमा पनि संलग्न रहे। खासगरी खुला विश्वविद्यालय सम्बन्धी कार्यदलमा सदस्य रहेर महत्वपूर्ण भूमिका खेले ।
उनको पहिलो उल्लेखनीय परियोजनामध्ये एक थियो, दुर्गम क्षेत्रमा आँखा शिविर तथा उपचारसँग सम्बन्धित सहयोग।
अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीमा उनले डा. सञ्जु रोहितसँग मिलेर दुर्गम क्षेत्रमा आँखा उपचारका लागि सहयोग जुटाएको सम्झन्छन्।
त्यसपछि सन् २०१५ को भूकम्प, कोभिड महामारीलगायत संकटमा पनि उनी राहत तथा सहयोग अभियानमा जोडिए।
कोभिडका बेला अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्थालाई जोडेर राहत तथा स्वास्थ्य सामग्री संकलन गरिएको उनले बताए। सामग्री ट्रकमार्फत सिड्नी पुर्याएर समुद्री मार्ग हुँदै नेपाल पठाइएको र नेपाली सेनाको समन्वयमा आवश्यक ठाउँमा वितरण गरिएको उनको भनाइ छ।
त्यही अवधिमा नुवाकोट र चितवनमा विद्यालय भवन निर्माणमा पनि सहयोग गरिएको उनले बताए।
महोत्तरीको बर्दिबास, जहाँ उनको बाल्यकाल बित्यो । त्यहाँ उनले करिब अढाई करोड रुपैयाँ लागतमा ताल निर्माण गरेको बताए। त्यही गाउँमा मन्दिर निर्माणमा पनि व्यक्तिगत रूपमा संलग्न भएको उनी सम्झन्छन् ।
शिक्षा, लगानी र ज्ञान हस्तान्तरणका माध्यमबाट प्रवासी नेपालीले नेपालमा योगदान गर्न सक्ने उनको धारणा छ।
त्यसैले अस्ट्रेलियामा आफ्नो करिअर बनाएर पनि उनी नेपालबाट टाढा भएनन्, बरु आफ्नो अनुभव र सम्पर्कलाई नेपाली समुदाय र नेपालसँग जोड्ने माध्यम बनाए।
आज अस्ट्रेलियामा नेपाली समुदायको अवस्था उनी अस्ट्रेलिया पुग्दाको समयभन्दा विल्कुल फरक देख्छन्।
पहिले नेपाली भेट्नसमेत कठिन थियो। अहिले अस्ट्रेलियाका विभिन्न सहरमा नेपाली समुदायका आफ्नै संस्था, व्यवसाय, पेसागत समूह र सामाजिक सञ्जाल छन्।
चासो नयाँ पुस्ताको
हमालको चासो अब नयाँ पुस्तातिर छ।
विशेषगरी खेलकुदमार्फत युवालाई समुदायसँग जोड्ने, मानसिक स्वास्थ्यमा ध्यान दिने र नेपाली पहिचानसँग उनीहरूको सम्बन्ध बलियो बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्। विशेषगरी अस्ट्रेलियाका प्राथमिक विद्यालयमा नेपाली भाषा पढाउने व्यवस्था विस्तार गर्नुपर्ने विषयमा पनि समुदायले पहल गरिरहेको उनी बताउँछन्।
उनका लागि यो अर्को चरणको सामुदायिक यात्रा हो।
चारकोसे झाडीको बीचमा बुबाले स्थापना गरेको विद्यालयमा पढ्न थालेका बालकदेखि अस्ट्रेलियाको संघीय सरकारका नीति अनुसन्धानमा काम गर्ने अर्थशास्त्रीसम्मको यात्रा लामो छ।
तर, उनको कथा सरकारी जागिरमा पुगेर सकिँदैन।
१९७९ मा छात्रवृत्तिमा अस्ट्रेलिया पुगेका त्यो पहिलो पुस्ताको नेपाली आज पनि नेपाली समुदायका संस्थाहरू, नीति बहस र नयाँ पुस्ताका सम्भावनासँग जोडिइरहेका छन्।
प्रतिक्रिया 4