News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरका प्रवेश रिजाल अमेरिकाको क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष र प्रमुख एआई अधिकृत बनेका छन्।
- उनले काठमाडौँको सेन्ट जेभियर्स कलेजपछि अस्ट्रेलिया र अमेरिका पढेर सिटी ग्रुप हुँदै क्रस रिभर बैंकमा नेतृत्व सम्हालेका हुन्।
- रिजाल नेपालबाट युवा पलायन रोक्न वित्तीय प्रणालीको आधारभूत संरचना बलियो बनाउनुपर्ने र त्यसबारे पुस्तक लेख्ने तयारीमा छन्।
९ कात्तिक, काठमाडौं । अर्थशास्त्रका प्राध्यापकका पुत्र प्रवेश रिजालले एसएलसी पास गरेपछि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा विज्ञान विषयमा आईएस्सी गरे । त्यसबेला पनि विज्ञानका कक्षाहरूमा कृत्रिम बौद्धिकताका कुरा हुन्थे । तर विज्ञान पढेका रिजालले सोचेका थिएनन्, वित्तीय क्षेत्रमा त्यसमा पनि आर्टिफिसिल इन्टेलिजेन्समा आफ्नो करिअर बन्नेछ भनेर ।
तर, विराटनगरबाट उच्च शिक्षाका लागि काठमाडौं आएका उनी यहाँ रोकिएनन्, स्नातक पढ्न अस्ट्रेलिया पुगे, त्यहाँबाट स्नातकोत्तर गर्न अमेरिका । पढाइसँगै घुमाइफिराइ करिअरले अमेरिकामै रोक्यो, जहाँ उनी सफलताका सिँढी चढ्न थाले ।
संसारको वित्तीय केन्द्र मानिने अमेरिकाको वाल स्ट्रिटमा स्थापित हुन धेरैका लागि दशकौंको अनुभव र संघर्ष आवश्यक पर्छ । तर रिजालले भने तुलनात्मक रूपमा कम उमेरमै सिटी बैंक जस्तो विशाल संस्थामा मात्रै होइन, क्रस रिभर बैंक जस्तो तीव्र वृद्धि गरिरहेको प्रविधि केन्द्रित बैंकमा पनि नेतृत्वदायी जिम्मेवारी सम्हाल्ने अवसर पाए ।
रिजाल अहिले अमेरिकाको क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष (ईभीपी) हुन् । क्रस रिभर बैंक अमेरिकाको प्रमुख प्रविधिमा आधारित बैंक हो । त्यसमा पनि उनी बैंकमा प्रमुख एआई अफिसरका रूपमा कृत्रिम बुद्धिमत्ता र बैंकको व्यावसायिक रणनीतिसँग जोडिएको जिम्मेवारी निर्वाह गर्छन् । उनी परम्परागत बैंकिङको सीमाभन्दा बाहिर पुगेर वित्तीय सेवाको नयाँ स्वरूप निर्माण गर्ने काममा संलग्न छन् ।
विराटनगरबाट सुरु भएको यात्रा र अस्ट्रेलियाको बाटो
प्रवेशको जन्म सन् १९९० मा विराटनगरको पोखरियामा भयो । उनका बुवा डा. दीपकप्रसाद रिजाल त्रिभुवन विश्वविद्यालयमा गणितीय अर्थशास्त्रका प्राध्यापक थिए । आमा भने व्यवसाय गर्थिन् ।
उनले विराटनगरकै सेन्ट जोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि परिवार काठमाडौं सरेपछि उनले सेन्ट जेभियर्स कलेजमा विज्ञान विषय लिएर आईएस्सी पढे ।
त्यतिबेला उनी किशोर अवस्थामै थिए । अगाडि कुन विषय पढ्ने, कुन देश जाने र कस्तो करिअर बनाउने भन्ने स्पष्ट चित्र त थिएन, तर उच्च शिक्षा विदेशबाट हासिल गर्नुपर्छ भन्ने चाहिँ थियो ।
सन् २००८ मा उनी स्नातक अध्ययनका लागि अस्ट्रेलिया गए । सिड्नीस्थित म्याक्वेरी विश्वविद्यालयमा अर्थशास्त्रअन्तर्गत इकोनोमेट्रिक्स विषयमा अध्ययन गरे । इकोनोमेट्रिक्समा आर्थिक सिद्धान्तलाई गणितीय विधि र तथ्यांकको विश्लेषणसँग जोडेर अध्ययन गरिन्छ । वित्तीय बजारमा मूल्य, जोखिम र लगानीको व्यवहार बुझ्न गणित तथा तथ्यांकको प्रयोग महत्त्वपूर्ण हुन्छ । प्रवेशको शैक्षिक छनोटले पछि वित्तीय इन्जिनियरिङ र परिमाणात्मक विश्लेषणको क्षेत्रमा अघि बढ्न आधार तयार गर्यो ।

म्याक्वेरी विश्वविद्यालयमा अध्ययनरत रहँदा प्रवेश विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत अमेरिकाको मिसिसिपी विश्वविद्यालय पुगे र सन् २०१० र २०११ को अवधिमा त्यहाँ समर स्कुलमा सहभागी हुने अवसर पाए । त्यही बेला उनले अमेरिकाको शैक्षिक र व्यावसायिक संसारलाई नजिकबाट बुझ्ने मौका पाए ।
त्यही बेला हो, उनलाई वाल स्ट्रिटमा काम गर्ने सपना पलाएको । वाल स्ट्रिटको बैंकिङ क्षेत्रमा लगानी, वित्तीय बजार र जोखिमको विश्लेषण गर्ने विशेषज्ञको माग हुन्छ । त्यहाँ ‘क्वान्ट’ भनिने परिमाणात्मक विश्लेषकहरू गणित, तथ्यांक, वित्तीय सिद्धान्त र कम्प्युटेसनल विधि प्रयोग गरेर लगानी तथा व्यापारसम्बन्धी निर्णयमा सहयोग गर्छन् ।
प्रवेशलाई यही क्षेत्रले आकर्षित गर्यो । सोही कारण अस्ट्रेलियाको अध्ययन पूरा गरेपछि अमेरिकामै गएर वित्तीय इन्जिनियरिङ पढ्ने निर्णय गरे।
त्यसका लागि उनले न्युयोर्क विश्वविद्यालय (एनवाईयू) रोजे । सन् २०११ र २०१२ तिर सुरु भएको उनको अमेरिकी स्नातकोत्तर अध्ययनले उनलाई वित्तीय बजारको गणितीय विश्लेषण, वित्तीय उपकरणको मूल्य निर्धारण र जोखिम व्यवस्थापन जस्ता विषयमा विशेषज्ञता हासिल गर्ने बाटो खोल्यो ।
अमेरिकामा अध्ययन गर्दा नै उनले व्यावसायिक अनुभव बटुल्न थाले । स्नातकोत्तर अध्ययनकै क्रममा उनी न्यू इंग्ल्यान्ड एसेट म्यानेजमेन्टमा इन्टर्नका रूपमा जोडिए । पछि एसोसिएटको जिम्मेवारीमा काम गरे ।
उनका अनुसार, उक्त संस्थाले त्यसबेला बीमा क्षेत्रसँग सम्बन्धित ठूलो लगानी पोर्टफोलियो व्यवस्थापन गर्थ्यो । यसले उनलाई पाठ्यपुस्तकमा पढेका वित्तीय सिद्धान्तलाई वास्तविक बजारमा कसरी प्रयोग गरिन्छ भन्ने बुझ्ने अवसर दियो ।
सिटी ग्रुपदेखि क्रस रिभरसम्म

सन् २०१४ को डिसेम्बरमा प्रवेश सिटी ग्रुपको ग्लोबल बैंकिङ व्यवसायमा भाइस प्रेसिडेन्टका रूपमा जोडिए । बीचमा उनले पीएनसी बैंकमा पनि केही समय काम गरे । समग्रमा सन् २०१४ देखि २०२० सम्मको अवधिमा सिटी ग्रुपसँगको अनुभवले उनलाई अन्तर्राष्ट्रिय बैंकिङको ठूलो संरचनाभित्र काम गर्ने अवसर दियो ।
सिटी ग्रुपमा उनले परिमाणात्मक मोडलिङ र वित्तीय पोर्टफोलियो विश्लेषणसँग सम्बन्धित काम गरे । पछि सिनियर भाइस प्रेसिडेन्ट बने ।
यो उनको करिअरको महत्वपूर्ण चरण थियो । तर प्रवेशले त्यही बाटोमा सधैं हिँडिरहनुभन्दा प्रयोग गर्नु उचित सम्झे ।
सन् २०२० मा क्रस रिभर बैंकमा जोडिए ।
सिटी ग्रुप जस्तो विशाल संस्थाको तुलनामा क्रस रिभर त्यतिबेला सानो बैंक थियो । बाहिरबाट हेर्दा स्थापित अन्तर्राष्ट्रिय बैंकको वरिष्ठ पद छाडेर तुलनात्मक रूपमा सानो संस्थामा जानु जोखिमपूर्ण निर्णय देखिन्थ्यो । तर, प्रवेशले बैंक कति ठूलो छ भन्ने होइन, त्यसमा आफूले के गर्न सक्छु भन्ने सोचे ।
क्रस रिभरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जिल्स गेडसँगको अन्तिम अन्तर्वार्तामा पनि उनले ‘म सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्ष छु, यो नयाँ बैंकमा म किन आउने ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा गेडले ‘यो बैंकलाई कुन दिशामा लैजाने भन्ने निर्णयमा तपाईंले नै प्रभाव पार्न सक्नुहुन्छ’ भने । जुन उनको सोचसँग मिल्यो । तीस वर्षको उमेर आसपासमा उनी स्थापित संस्थाको सुरक्षित बाटोभन्दा नयाँ सम्भावनाको मार्गतर्फ मोडिए .
क्रस रिभर बैंक सन् २००८ मा स्थापना भएको अमेरिकी बैंक हो, जसले नियमनमा आधारित बैंकिङलाई वित्तीय प्रविधिसँग जोडेर भुक्तानी, ऋण र एम्बेडेड फाइनान्स जस्ता सेवा उपलब्ध गराउँछ । यसले अन्य वित्तीय प्रविधि कम्पनीहरूलाई आफ्ना उत्पादन सञ्चालन गर्न आवश्यक बैंकिङ पूर्वाधार उपलब्ध गराउने काम गर्छ ।
सुरुमा उनले बैंकको क्वान्टिटेटिभ स्ट्राटेजिज विभाग निर्माण र विस्तार गर्ने काम गरे । पछि बैंकले डेटा र एआईको छुट्टै नेतृत्व आवश्यक ठानेपछि त्यसको जिम्मेवारी पनि उनलाई दिइयो ।
१०० जनाको संस्थाबाट हजारभन्दा बढी कर्मचारीसम्म

प्रवेश क्रस रिभरमा ९६औं कर्मचारीका रूपमा जोडिएका हुन् । तर उनी जोडिएपछिको सात वर्षको अवधिमा कर्मचारी संख्या बढेर हजारभन्दा बढी पुगेको छ ।
त्यो वृद्धि बैंकको आफ्नै व्यावसायिक विस्तारसँग जोडिएको छ । तर प्रवेशको भूमिका केवल एउटा विभागको प्राविधिक नेतृत्वमा सीमित रहेन । परिमाणात्मक रणनीति, डेटा र एआई हुँदै बैंकका विभिन्न व्यावसायिक क्षेत्रको रणनीति तथा विस्तारसँग जोडिएको जिम्मेवारी उनले सम्हाल्न थाले ।
सन् २०२५ मा क्रस रिभरले उनलाई प्रमुख डेटा तथा एआई अधिकारीका रूपमा नियुक्त गर्यो । त्यसबेला बैंकले स्थापना गरेको नयाँ विभागको नेतृत्वसँगै उनी बैंकको उच्च व्यवस्थापन तहमा पुगेका थिए ।
त्यसपछि उनको कामको दायरा अझ फराकिलो भएको छ । अहिले उनी एक्जिक्युटिभ भाइस प्रेसिडेन्टका रूपमा बैंकको उत्पादन रणनीति, डेटा र एआई तथा विभिन्न व्यावसायिक क्षेत्रको विस्तारसँग सम्बन्धित कामको नेतृत्व गर्छन् । आफ्नो प्रत्यक्ष नेतृत्वमा करिब २५० जनाको संगठन रहेको प्रवेश बताउँछन् । उनी सिधैं अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत गेडलाई रिपोर्टिङ गर्छन् ।
क्रस रिभरले वित्तीय प्रविधि कम्पनीहरूलाई भुक्तानी र ऋणसम्बन्धी सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार दिन्छ । यस्तो व्यवस्थामा बैंक आफैंले सबै ग्राहकलाई प्रत्यक्ष सेवा दिनुभन्दा अरू कम्पनीका उत्पादनलाई बैंकिङ प्रणालीसँग जोड्ने भूमिका खेल्छ ।
प्रवेशका अनुसार, क्रस रिभरले वर्षमा करिब ४० अर्ब अमेरिकी डलर बराबरको ऋण उत्पत्ति गर्छ र उसको पूर्वाधारबाट करिब ५०० अर्ब डलर बराबरको भुक्तानी प्रवाह हुन्छ ।
उनको जिम्मेवारीको केन्द्रमा यही प्रणालीलाई अझ प्रभावकारी बनाउने, नयाँ वित्तीय उत्पादन निर्माण गर्ने र प्रविधिको सहयोगमा बैंकिङ सेवाको पहुँच विस्तार गर्ने काम छ ।
प्रविधिसँगै वित्तीय प्रणालीको संरचना बदल्ने सोच

प्रवेशको रुचि नयाँ प्रविधि अपनाउने वा बैंकको कारोबार बढाउनेमा मात्र सीमित छैन । उनी वित्तीय बजारको संरचना, त्यसको पूर्वाधार र अर्थतन्त्रमा वित्तीय संस्थाले खेल्ने भूमिकाबारे पनि अध्ययन तथा लेखन गरिरहेका छन् ।
उनी फ्रान्सको ईडीएचईसी बिजनेस स्कुलमा विद्यावारिधि गरिरहेका छन् ।
व्यावसायिक जीवनसँगै अनुसन्धानमा समय दिनु सजिलो छैन । तर प्रवेशका लागि वित्तीय बजारलाई बुझ्ने र त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने प्रश्नमा चिन्तन गर्ने काम एकअर्काका पूरक हुन् ।
चिन्ता नेपालको
नेपालको अर्थतन्त्रबारे पुस्तक लेख्ने योजनामा छन् उनी । पुस्तकको प्रस्तावित शीर्षक राखेका छन्, ‘ह्वाई डू दे लिभ’ (उनीहरू किन छाड्छन् ?’) भन्ने छ । हरेक पुस्ताका नेपाली युवाले किन देश छाडिरहेका छन् ? नेपालले आफ्नै क्षमता र प्रतिभालाई देशभित्रै उपयोग गर्न नसक्नुको कारण के हो ? भन्ने प्रश्नको उत्तर पुस्तकमा खोज्दै छन् उनी ।
प्रवेशको चासो व्यक्तिगत रूपमा विदेश जान पाएको अवसरको कथा सुनाउनुमा मात्रै छैन। आफू जस्तै वा आफूभन्दा कम अवसर पाएका युवालाई नेपालले किन देशभित्रै राख्न सकेको छैन भन्ने विषयमा आर्थिक दृष्टिकोणबाट बहस गर्न चाहन्छन् । नेपालको आर्थिक समस्यालाई भावनात्मक आग्रहबाट नभई, नीतिगत र विश्लेषणात्मक ढंगले बुझ्न चाहन्छन् ।
आफू वर्षमा चार–पाँच पटक नेपाल आउने गरेको उनी बताउँछन् । नेपालको राजनीति, अर्थतन्त्र र नीतिगत बहसमा उनको रुचि छ । पछिल्ला वर्षहरूमा नेपालको बैंकिङ क्षेत्रका व्यक्तिहरूसँग उनले छलफल अघि बढाएका छन्, नेपालका केही बैंक र सरकारी पक्षसँग सम्भावित सहकार्यका विषयमा छलफल भइरहेको उनी बताउँछन् ।
नेपालको आर्थिक विकासबारे प्रवेशको धारणा छ, ‘वित्तीय प्रणालीको आधारभूत संरचना बलियो बनाउनुपर्छ ।’ उनले यसलाई ‘फाइनान्सियल प्लम्बिङ’ भन्छन् । जसरी घरमा पानी सहज रूपमा चल्न पाइप, जडान र निकास व्यवस्थित हुनुपर्छ, त्यसरी नै अर्थतन्त्रमा पैसा, ऋण र लगानीको प्रवाह प्रभावकारी हुन वित्तीय बजारको संरचना र नियमहरू व्यवस्थित हुनुपर्छ भन्ने उनको तर्क छ ।
उनी अहिले क्रस रिभर बैंकको विश्वव्यापी विस्तार र वित्तीय प्रविधिको विकासमा केन्द्रित छन् । बैंकलाई विभिन्न देशका अर्थतन्त्रसँग जोड्ने, वित्तीय सेवाको पहुँच बढाउने र एआई तथा डिजिटल पूर्वाधारको प्रयोगबाट नयाँ सम्भावना सिर्जना गर्ने कामलाई अहिले प्राथमिकता दिएका छन् । हालका लागि उनले क्रस रिभर बैंकलाई छोड्ने योजना बनाएका छैनन्, बरु यहीँ अझै ठूलो अवसर देखेका छन् ।
हरेक दिन २ हजारभन्दा बढी युवा देश छोडिरहेका छन् । अवसरको खोजीमा खाडीदेखि अमेरिकासम्म ती युवाहरू पुग्छन् । त्यसरी नेपालबाट ट्यानेन्ट ड्रेन हुनुमा युवालाई दोष दिने होइन, देशमै अवसर दिनसक्ने अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने हो । प्रवेश त्यही प्रश्नको उत्तर खोज्ने काममा लागिरहेका छन् ।
प्रतिक्रिया 4