९ कात्तिक, सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखियो । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही आइतबार एउटै मञ्चमा देखिए ।
२०५४ सालमा यही विद्यालयमा बोगटीले शाहीलाई कक्षा ८ मा पढाएका थिए । झन्डै तीन दशकपछि उनीहरू सोही विद्यालयमा आयोजित औपचारिक कार्यक्रमको मञ्चमा भेटिएका हुन् । कार्यक्रममा तत्कालीन शिक्षक बोगटीले आफ्ना पूर्वविद्यार्थी शाहीलाई स्वागत गरे ।
समयसँगै दुवैको भूमिका फेरिएको छ । कुनै बेला विद्यालयको कक्षाकोठामा शिक्षकबाट पढ्ने विद्यार्थी शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । उनलाई पढाउने बोगटी भने नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।
गुरु–चेलाको यो भेटले विद्यालय जीवनका स्मृति, शिक्षकको योगदान र समयसँगै बदलिने सामाजिक भूमिकालाई एकै ठाउँमा जोडेको छ ।
प्रतिक्रिया 4