+
+
Shares

हुम्लाको आवास शैली : एउटै छानामुनि पशु र मानिस, सरसफाइमा चुनौती

श्रीनगरको बस्तीले पुस्तौँदेखि जोगिएको मौलिक वास्तुकला र स्थानीय जीवनशैलीको झल्को दिन्छ । यसको संरक्षण पुराना संरचना जस्ताको तस्तै राख्नुमा मात्र सीमित हुनु हुँदैन । स्थानीयको जीवन सहज बनाउने सुधार र सांस्कृतिक पहिचान जोगाउने प्रयासलाई सँगसँगै अघि बढाउन आवश्यक छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक ९ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको अदानचुली गाउँपालिका–३ श्रीनगरमा माटो र ढुङ्गाका परम्परागत घरमा मानिस र पशुचौपाया एउटै संरचनामा बस्ने भएकाले सरसफाइमा समस्या देखिएको छ।
  • स्थानीयले पशुका लागि छुट्टै गोठ नहुँदा घरको दैनिक व्यवस्थापन कठिन भएको र व्यवस्थित आवासको आवश्यकता बढेको बताएका छन्।
  • श्रीनगरका स्थानीयले मौलिक वास्तुकला जोगाउँदै सरसफाइ सुधार, छुट्टै गोठ र सुरक्षित आवासका लागि स्थानीय तहले योजना बनाउनुपर्ने बताएका छन्।

९ कात्तिक, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरमा घरहरू एकअर्कासँग जोडिएजस्तै देखिन्छन् । माटो र ढुङ्गाले बनेका घर, समथर छतमा सुकाइएका अन्न र पहाडका पाखामा फैलिएको बस्तीले यहाँको मौलिक जीवनशैली झल्काउँछन् । तर, पुस्तौँदेखि चल्दै आएको यही आवास शैलीले स्थानीयलाई सरसफाइ र पशु व्यवस्थापनमा चुनौती पनि थपेको छ ।

अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको श्रीनगरमा घरको भुइँतला पशुचौपाया राख्न, माथिल्लो तला मानिस बस्न र छतमा अन्न सुकाउन तथा भण्डारण गर्न प्रयोग गरिन्छ । घरहरू नजिकनजिक बनाइएकाले कतिपय घरका छत अर्को घरको आँगनजस्तै देखिन्छन् ।

सीमित समथर जमिन र भिरालो भूगोलका कारण उपलब्ध ठाउँको अधिकतम उपयोग गर्दै यहाँ यस्तो बस्ती विकास भएको देखिन्छ । स्थानीयस्तरमै उपलब्ध माटो र ढुङ्गाबाट बनेका घरले यहाँको भूगोलअनुकूल विकसित वास्तुकलाको परिचय दिन्छन् ।

स्थानीय मनरुप परियारका अनुसार यहाँका घर परम्परागत चलनअनुसार निर्माण हुँदै आएका छन् । घरको संरचना स्थानीयको जीवनयापनसँग जोडिएको छ । खेतीपातीबाट उत्पादित अन्न सुकाउन र राख्न छत उपयोगी हुने गरेको छ भने भुइँतलामा पशुचौपाया राख्ने चलन छ ।

तर, एउटै घरमा मानिस र पशुचौपाया राख्नुपर्ने संरचनाले सरसफाइमा कठिनाइ हुने गरेको स्थानीय बताउँछन् । स्थानीय रामबहादुर महतराका अनुसार पशुचौपायाका लागि छुट्टै गोठ नहुँदा घरको सरसफाइ र दैनिक व्यवस्थापनमा समस्या हुने गरेको छ ।

स्थानीय कालिबहादुर नेपाली पनि पशु व्यवस्थापनका लागि छुट्टै गोठको व्यवस्था नहुँदा कठिनाइ हुने बताउँछन् । लामो समयदेखि चल्दै आएको परम्परा भए पनि अहिले सरसफाइ र व्यवस्थित आवासको आवश्यकता बढ्दै गएको उनको भनाइ छ ।

परम्परागत वास्तुकला कि व्यवस्थित आवास ?

श्रीनगरका घर आवासका संरचना मात्र होइनन्, स्थानीय समुदायको इतिहास, सीप र जीवनपद्धतिका चिनारी पनि हुन् । माटो र ढुङ्गाको प्रयोग, समथर छत र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने शैली यहाँको मौलिक वास्तुकलाका विशेषता हुन् ।

साविक कर्णालीका विभिन्न बस्तीमा पनि यस्तै शैलीका घर पाइन्छन् । स्थानीय सामग्री प्रयोग गरी निर्माण गरिएका यस्ता घरले भूगोल र उपलब्ध स्रोतअनुसार मानिसले आफ्नो जीवनशैली कसरी विकास गरे भन्ने देखाउँछन् ।

तर, समयसँगै आवासका आवश्यकता पनि बदलिएका छन् । पशुचौपायाका लागि छुट्टै गोठ, घरभित्र सरसफाइको उचित व्यवस्था र सुरक्षित आवास अहिलेका आवश्यकता हुन् । परम्परागत संरचना जोगाउने कि त्यसमा सुधार गर्ने भन्नेभन्दा पनि मौलिकता कायम राख्दै स्थानीयका समस्या कसरी समाधान गर्ने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।

परम्परागत संरचना गाउँको पहिचान बने पनि पशु व्यवस्थापन र सरसफाइमा देखिएका समस्या समाधानका लागि सुधार आवश्यक देखिएको स्थानीय बताउँछन् । तर, यस्ता घरको व्यवस्थापन, सुधार वा वैकल्पिक आवाससम्बन्धी ठोस योजना नभएको स्थानीयको भनाइ छ ।

परम्परागत घरलाई एकैपटक विस्थापित गर्नु मात्रै समस्याको समाधान होइन । यस्ता घर स्थानीय संस्कृति, सीप र जीवनशैलीसँग जोडिएका छन् । अर्कोतर्फ, सरसफाइ र पशुपालन व्यवस्थापनमा देखिएका समस्यालाई बेवास्ता गरेर पुरानै संरचनालाई निरन्तरता दिँदा स्थानीयले भोग्दै आएका कठिनाइ पनि यथावत् रहन सक्छन् ।

‘त्यसैले परम्परागत वास्तुकलाको संरक्षणसँगै घरको सरसफाइ सुधार, पशुचौपायाका लागि छुट्टै गोठको व्यवस्था र सुरक्षित आवास निर्माणबारे स्थानीय तहले योजना बनाउन आवश्यक देखिन्छ,’ एक स्थानीयले भने, ‘घर सुधारका लागि प्राविधिक सहयोग, स्थानीय सामग्रीको प्रयोग र परम्परागत शैलीसँग मेल खाने संरचनाको विकासले मौलिकता जोगाउँदै आवासलाई व्यवस्थित बनाउन मद्दत गर्न सक्छ ।’

श्रीनगरको बस्तीले पुस्तौँदेखि जोगिएको मौलिक वास्तुकला र स्थानीय जीवनशैलीको झल्को दिन्छ । यसको संरक्षण पुराना संरचना जस्ताको तस्तै राख्नुमा मात्र सीमित हुनु हुँदैन । स्थानीयको जीवन सहज बनाउने सुधार र सांस्कृतिक पहिचान जोगाउने प्रयासलाई सँगसँगै अघि बढाउन आवश्यक छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?