News Summary
Generated by OK AI. Editorially reviewed.- रोयटर्स/इप्सोस सर्वेक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता १ प्रतिशत विन्दुले बढेर ३२ प्रतिशत पुगेको छ ।
- नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि दर्ता मतदातामध्ये ४७ प्रतिशतले डेमोक्र्याटिक र ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई रोजेका छन् ।
- सर्वेक्षणमा ७३ प्रतिशत मतदाताले जीवनयापनको लागत गलत दिशामा गइरहेको बताएका छन्, र महँगी प्रमुख चासो बनेको छ ।
१० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता दर गत साताको ऐतिहासिक न्यून विन्दुबाट एक प्रतिशत विन्दुले बढेर ३२ प्रतिशत पुगेको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि गरिएको रोयटर्स/इप्सोस सर्वेक्षणले यस्तो देखाएको हो ।
सोमबार सम्पन्न सर्वेक्षणअनुसार अमेरिकी कंग्रेसमा कुन दलको नियन्त्रण हुनुपर्छ भन्ने प्रश्नमा दर्ता भएका मतदातामध्ये ४७ प्रतिशतले डेमोक्र्याटिक पार्टी र ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई रोजेका छन् । ११ प्रतिशत मतदाताले भने कसलाई मत दिने भन्ने निर्णय गरिनसकेको बताएका छन् ।
अक्टोबर १९ मा सम्पन्न सर्वेक्षणको तुलनामा डेमोक्र्याटिक पार्टीको अग्रता एक प्रतिशत विन्दुले घटेको हो । अनिर्णीत मतदाताको झुकावसमेत समेट्दा डेमोक्र्याटिक पार्टीको समर्थन ५० प्रतिशत र रिपब्लिकन पार्टीको ४१ प्रतिशत देखिएको छ । यस आधारमा डेमाक्र्याटिक पार्टी नौ प्रतिशत विन्दुले अगाडि छ ।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले अमेरिकी कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) मा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ । हाल दुवै सदनमा बहुमत कायम राख्न रिपब्लिकन पार्टी संघर्षरत छ ।
कंग्रेसका कुनै एक सदनमा मात्रै नियन्त्रण गुमाए पनि ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालको बाँकी दुई वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिनाइ हुन सक्ने विश्लेषण गरिएको छ ।
सिनेटमा डेमोक्र्याटलाई कठिन चुनौती
राजनीतिक विश्लेषकहरूले प्रतिनिधिसभामा डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना राम्रो देखेका छन् । तर सिनेटमा नियन्त्रण कायम गर्न भने उसले थप कठिन चुनौती सामना गर्नुपर्ने उनीहरूको आकलन छ ।
वास्तविक मतदानमा कति मतदाता सहभागी हुन्छन् भन्ने अझै स्पष्ट छैन । तर मतदान गर्ने सम्भावना बढी रहेका मतदातामाझ पनि डेमोक्र्याटिक पार्टी ५३ प्रतिशत समर्थनसहित अगाडि छ । रिपब्लिकन पार्टीको समर्थन ४४ प्रतिशत छ ।
मतदाताको प्रमुख चासो महँगी
निर्वाचनमा मतदाताको प्रमुख चासो महँगी र जीवनयापनको बढ्दो लागत बनेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी ७३ प्रतिशत मतदाताले आफ्नो जीवनयापनको लागत गलत दिशामा गइरहेको बताएका छन् ।
फेब्रुअरीमा ट्रम्पले इरानमाथि सैन्य आक्रमणको आदेश दिएपछि पेट्रोलको मूल्य बढेको र त्यसले महँगीसम्बन्धी चिन्ता बढाएको रोयटर्सले उल्लेख गरेको छ ।
इरानसँगको युद्ध सुरु हुनुअघि भएका रोयटर्स/इप्सोस सर्वेक्षणमा अमेरिकी अर्थतन्त्र व्यवस्थापनका लागि डेमोक्र्याटिक पार्टीभन्दा रिपब्लिकन पार्टीलाई बढी उपयुक्त ठान्ने मतदाता धेरै थिए । तर पछिल्लो सर्वेक्षणमा अर्थतन्त्र व्यवस्थापनमा डेमोक्र्याटिक पार्टीलाई ३७ प्रतिशत र रिपब्लिकन पार्टीलाई ३३ प्रतिशत मतदाताले उपयुक्त मानेका छन् ।
मतदानप्रति डेमोक्र्याट समर्थक बढी उत्साहित
सर्वेक्षणले मध्यावधि निर्वाचनमा मतदान गर्न डेमोक्र्याटिक पार्टीका समर्थक बढी उत्साहित रहेको पनि देखाएको छ ।
डेमोक्र्याटिक पार्टीका ४६ प्रतिशत समर्थकले मध्यावधि निर्वाचनमा मतदान गर्न आफूहरू निकै उत्साहित रहेको बताएका छन् । रिपब्लिकन पार्टीका समर्थकमध्ये यस्तो बताउनेको संख्या ३० प्रतिशत छ ।
अनलाइन माध्यमबाट गरिएको सर्वेक्षणमा अमेरिकाका १ हजार ६७९ वयस्क सहभागी थिए । तीमध्ये १ हजार २८० जना दर्ता भएका मतदाता थिए । सर्वेक्षणको त्रुटि सीमा समग्र वयस्कका लागि दुई प्रतिशत विन्दु र दर्ता भएका मतदाताका लागि तीन प्रतिशत विन्दु रहेको रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया 4