५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको रिपोर्टिङका लागि पुलित्जर जित्ने पत्रकारहरूको आलोचना गरे।
कैयौँ युद्ध रोकेको जस लिँदै उनले नोबेल शान्ति पुरस्कार नपाएकोमा पनि फेरि एकपटक असन्तुष्टि पोखे।
यस मामिलामा पत्रकारहरूले गलत रिपोर्टिङ गरेको र त्यसका लागि उनीहरूले पुरस्कार पाउन नहुने ट्रम्पको आरोप थियो। ट्रम्पले अहिलेसम्म १९ वटा पुस्तक लेखिसकेका छन्। तीमध्ये सन् १९८७ मा प्रकाशित ‘द आर्ट अफ द डिल’ सबैभन्दा चर्चित छ।
पुलित्जर पुरस्कार पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ। यद्यपि, यो पुस्तक, नाटक र सङ्गीतका लागि पनि प्रदान गरिन्छ।
सामाजिक सञ्जालमा ट्रम्पको उडाइयो मजाक
पुलित्जर पुरस्कारका लागि ट्रम्पले गरेको दाबीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको मजाक उडाएका छन्। कतिपयले उनको लेखन क्षमतामाथि नै प्रश्न उठाए।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘जुन व्यक्ति बालबालिकाको एउटा किताबसम्म लेख्न सक्दैन, उसलाई आफूले पुलित्जर पाउनुपर्छ भन्ने लाग्छ ?’
अर्का एक प्रयोगकर्ताले ट्रम्पको बोल्ने शैलीमाथि व्यङ्ग्य गर्दै लेखे, ‘ट्रम्प लेखनका लागि पुलित्जर चाहन्छन् ? उनी अङ्ग्रेजी भाषालाई यसरी व्यवहार गर्छन्, मानौँ त्यसलाई बन्धक बनाएका छन्। उनका वाक्यहरू बुझ्नका लागि त खोजी टोली नै चाहिन्छ।’
२०२६ को पुलित्जरमा ट्रम्प प्रशासनको रिपोर्टिङ पनि समावेश
सन् २०२६ को आधिकारिक सूचीअनुसार, कुल २५ वटा विधामा पुलित्जर पुरस्कार प्रदान गरिएको थियो। यसमा पत्रकारिता, पुस्तक, नाटक, सङ्गीत र एक विशेष सम्मानको विधा समावेश थिए।
यी पुरस्कारहरूमा ट्रम्प सरकारका नीति र कामकाजमाथि गरिएको रिपोर्टिङले पनि सम्मान पाएको थियो।
| संस्था (सञ्चारमाध्यम) | कुन कामको लागि पुरस्कार पाइयो ? |
| द न्युयोर्क टाइम्स | ट्रम्प र उनको परिवारलाई व्यापारबाट पुगेको फाइदा र उनीहरूको निजी स्वार्थसँग जोडिएका मामिलाको खोजमूलक रिपोर्टिङ। |
| द वासिङ्टन पोस्ट | ट्रम्प सरकारका निर्णयहरूले सरकारी विभाग र आम नागरिकमा पारेको असरको रिपोर्टिङ। |
| रोयटर्स | ट्रम्प सरकारले आफ्नो शक्तिको प्रयोग कसरी गर्यो र आफ्ना विरोधीहरूलाई कसरी निसाना बनायो भन्ने विषयको रिपोर्टिङ। |
| द सिकागो ट्रिब्युन | सिकागोमा ट्रम्प सरकारले घुसपैठियाहरूलाई पक्रन गरेको कारबाही र यसको विरोधमा स्थानीयहरू एकजुट भएको विषयको रिपोर्टिङ। |
रुसी मामिलामा २०१८ मा दुई पत्रिकाले पाएका थिए पुलित्जर
ट्रम्पले र्यालीमा रुससँग जोडिएको मामिलामा अवार्ड पाएको जुन प्रसङ्ग निकाले, त्यो सन् २०१८ को घटना हो।
२०१८ मा ‘द न्युयोर्क टाइम्स’ र ‘द वासिङ्टन पोस्ट’ले रुससँग जोडिएका समाचारका लागि पुलित्जर पुरस्कार पाएका थिए।
यी पत्रिकाहरूले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको र त्यसको अनुसन्धानमा ट्रम्पको चुनावी टोलीको सम्बन्धबारे पर्दाफास गरेका थिए।
ट्रम्प यी समाचारहरूलाई गलत बताउँछन्। उनले उक्त पुरस्कार खोस्नुपर्ने मागसमेत गरेका थिए। तर, २०२२ मा पुलित्जर बोर्डले अनुसन्धानपछि उनको माग खारेज गरिदियो।
बोर्डले पुरस्कार जित्ने समाचारहरू पछि गलत साबित भएको भन्ने कुनै प्रमाण नभेटिएको बताएको थियो।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4