News Summary
Generated by OK AI. Editorially reviewed.- बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अघि बढाएको कानुनी कारबाहीलाई राजनीतिक प्रतिशोध र धम्कीको पराकाष्ठा भनेका छन्।
- संघीय एजेन्टहरूले गत सोमबार वासिङ्टनस्थित ओमारको घरमा छापा मारी उनको फोन जफत गरेपछि न्याय मन्त्रालयले २६ वर्षअघिको आप्रवासन कागजात छानबिन गरिरहेको छ।
- ओमारले यो अनुसन्धानलाई ‘विच हन्ट’ भन्दै खारेज गरेकी छिन्, जबकि डेमोक्र्याट नेताहरूले यसलाई शक्तिको चरम दुरुपयोग भनेका छन्।
२ कात्तिक, काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अगाडि बढाएको कानुनी कारबाहीको कडा शब्दमा भर्त्सना गरेका छन् ।
मिनेसुटाबाट प्रतिनिधित्व गर्ने सांसद ओमारमाथि दशकौँ अगाडि अमेरिकी नागरिकता प्राप्त गर्दा फर्जी कागजात पेस गरेको आशङ्कामा भइरहेको छानबिनलाई ओबामाले राजनीतिक प्रतिशोध र धम्कीको पराकाष्ठा भनेका छन् ।
लामो समयसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पबाटै अमेरिकी नागरिक नभएको असत्य र आधारहीन दाबीको सिकार बनेका ओबामाले सामान्यतया राजनीतिक मुद्दाहरूमा तुरुन्तै टिप्पणी गर्ने गरेका छैनन् ।
तर, गत हप्ता फेडरल एजेन्टहरूले सांसद ओमारको घरमा छापा मारेको घटनालाई उनले ‘अमेरिकी मूल्यमान्यता माथिको विश्वासघात’ बताएका छन् ।
एक्समा ४ सय भन्दा बढी शब्दको लामो विज्ञप्ति जारी गर्दै ओबामाले लेखेका छन्, ‘कुनै पनि राष्ट्रपति वा प्रशासनले कसैलाई तर्साउनका लागि यस्तो नाङ्गो प्रयास गर्न तयार हुनुले सबै अमेरिकीहरूलाई आक्रोशित बनाउनुपर्छ, चाहे सांसद ओमारको राजनीतिक विचारप्रति जोसुकैको जस्तोसुकै दृष्टिकोण किन नहोस् ।’
‘किनकि यदि यो नयाँ सामान्य (न्यू नर्मल) बन्न पुग्यो भने, यो उहाँमै रोकिएला वा भविष्यमा दुवै दलका कुनै पनि राष्ट्रपतिले यस्तै गर्लान् भनी विश्वास गर्ने कुनै कारण बाँकी रहनेछैन,’ उनले थप भनेका छन् ।
विवादको जरो र फेडरल एजेन्टको छापा
गत सोमबार संघीय एजेन्टहरूले सांसद ओमारको वासिङ्टनस्थित घरमा छापा मार्दै उनको फोन जफत गरेका थिए । २६ वर्षअघि आप्रवासनसम्बन्धी कागजातहरूमा ओमार वा उनका स्वर्गीय पिताले गलत जानकारी दिएका थिए वा थिएनन् भन्ने विषयमा न्याय मन्त्रालय (डीओजे) ले अनुसन्धान गरिरहेको छ ।
‘द वाल स्ट्रीट जर्नल’ को रिपोर्ट अनुसार ट्रम्प प्रशासनको मुख्य उद्देश्य सांसद ओमारको अमेरिकी नागरिकता खोल्ने र अन्तत: उनलाई देश निकाला गर्ने कानुनी आधार तयार पार्नु हो ।
सन् १९९५ मा बाल्यकालमै सोमालियाबाट अमेरिका आएकी ओमार सन् २००० मा उनका बुबाको नागरिकतामार्फत अमेरिकी नागरिक बनेकी थिइन् । त्यतिबेला रेकर्डअनुसार उनी १७ वर्षकी थिइन् । तर, अनुसन्धानकर्ताहरूले उनी एक वर्ष जेठी रहेको र त्यसैले नागरिकताका लागि स्वत: योग्य नभएको दाबी गर्ने प्रमाण खोजिरहेका छन् ।
सन् २०१९ मा पनि ट्रम्पको पहिलो कार्यकालमै यही आरोपको समीक्षा गरिएको थियो, तर पर्याप्त प्रमाण नभएपछि त्यतिबेला अनुसन्धान अघि बढाइएको थिएन ।
सांसद ओमारले भने यो छानबिनलाई ट्रम्पका कटु आलोचकहरूलाई तर्साउनका लागि रचिएको ‘चुडैलको शिकार’ (विच हन्ट) भन्दै खारेज गरेकी छिन् । निर्वाचनको ठीक केही साताअघि चालिएको यो कदमलाई डेमोक्र्याट नेताहरूले शक्तिको चरम दुरुपयोग भनेका छन् ।
यसैबीच, अमेरिकी अधिवक्ता जिनान पिरोले कङ्ग्रेसनल वाचडगले खारेज गर्न सिफारिस गरे पनि ओमारको आर्थिक विवरणबारे समेत छुट्टै अनुसन्धान भइरहेको बताएकी छिन् ।
‘जीवन उथलपुथल पार्ने षड्यन्त्र’
ओबामाले ट्रम्प प्रशासनको आलोचना गर्दै लेखेका छन् कि राष्ट्रपतिले आलोचना सहन नसकेर एक निर्वाचित जनप्रतिनिधिमाथि संघीय सरकारको सम्पूर्ण शक्ति दुरुपयोग गरेका छन् ।
उनले भनेका छन्, ‘कानुनी आधार नभएका कारण यस्ता मुद्दाहरू पहिले पनि अदालतमा खारेज भएका थिए र यसपटक पनि त्यस्तै हुने सम्भावना छ । तर, न्याय हुनुअघि नै सांसद ओमारको जीवन उथलपुथल भइसकेको छ, उनका कानुनी बिलहरू थुपारिएका छन् र मिनेसुटाका जनताको सेवा गर्नुको सट्टा उनले आधारहीन आरोपहरूसँग लड्न समय खर्चिन बाध्य हुनुपरेको छ ।’
प्रतिक्रिया 4