९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’
ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्।
उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण इतिहासकै सफल सैन्य अभियानमध्ये एक थियो। त्यसअघि ‘अपरेसन मिडनाइट ह्यामर’ चलाइएको थियो। त्यस अभियानले विश्वमा आतंकवादलाई बढावा दिने प्रमुख देशलाई परमाणु हतियार प्राप्त गर्नबाट रोकेको थियो।
त्यसपछि ‘अपरेसन एपिक फ्युरी’ चलाइएको ट्रम्पले उल्लेख गरेका छन्। इरानको सेना र अर्थव्यवस्था दुवै कमजोर भएको कुरा पनि लेखेका छन् ।
उनले लेखेका छन्,’अहिले इरानसँग नौसेना र वायुसेना छैन। उसको सेना र अर्थव्यवस्था दुवै नराम्ररी बिग्रिएका छन्। इरानमा मुद्रास्फीति दर ३०१ प्रतिशत पुगेको छ। नौसैनिक नाकाबन्दीका कारण इरानले तेल पाउन सकेको छैन। सैन्य र अन्य नेतृत्वसहित इरानका दुई तहका नेतृत्व समाप्त भएका छन्।’
एक दिनअघि ट्रम्पले इरानमाथिको आक्रमणबारे सम्झौता गर्ने वा युद्ध छेड्ने विषयमा निर्णय भइनसकेको बताएका थिए।
‘तपाईं मतदान गर्न जाँदा बीबी एक असाधारण लडाकु प्रधानमन्त्री रहेका कुरा सम्झनुहोस्’, ट्रम्पले नेतान्याहूप्रति भोटको अपिल गर्दै फेरि भने’, केही खराब मानिसहरूले इजरायललाई ‘सानो सैतान’ र अमेरिकालाई ‘ठूलो सैतान’ भनेका थिए। अब विश्वभर ‘अमेरिकाको मृत्यु होस्, इजरायलको मृत्यु होस्’ भन्ने नारा सुनिने छैन ।’
प्रतिक्रिया 4