News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्मा ज्यान गुमाएका, बेपत्ता र घाइते भएका ५२ परिवारलाई ६ लाख १ हजार ६०१ रुपैयाँ राहत वितरण गरेको छ।
- समितिले आइतबार रोल्पाको लिबाङमा संकलित राहत रकम सम्बन्धित पालिकाका अध्यक्ष र पीडित परिवारलाई पूर्वअर्थमन्त्री वर्षमान पुनमार्फत हस्तान्तरण गरेको हो।
- समितिका अनुसार रोल्पामा विभिन्न विपद्मा परी ५० जनाको मृत्यु वा बेपत्ता र दुई जना घाइते भएका छन्।
९ कात्तिक, रोल्पा। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ।
समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका संयोजक तथा समितिका इन्चार्ज जेपी रोकामगरले जानकारी दिए।
थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा साउन २८ गते गएको पहिरो, सुनछहरी गाउँपालिका–२ को गाम र सेरममा साउन २९ गते गएको पहिरो, लुङ्ग्री गाउँपालिकामा गएको पहिरो तथा भदौ ८ गते भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको हो। त्यस्तै, असारदेखि असोजसम्म चट्याङ लागेर तथा रुख ढलेर ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारलाई पनि राहत दिइएको समितिले जनाएको छ।
रोकामगरका अनुसार पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनमार्फत सम्बन्धित पालिकाका अध्यक्ष र पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, नगरप्रमुख, राजनीतिक दलका अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनको पनि उपस्थिति थियो।
रोल्पामा ५० जनाको मृत्यु तथा बेपत्ता
समितिका अनुसार विभिन्न विपद्मा परी रोल्पामा ५० जनाको मृत्यु वा बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
विवरणअनुसार थबाङ गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ। सुनिल स्मृति गाउँपालिकामा १० जना, परिवर्तन गाउँपालिकामा चार जना, रुन्टीगढी गाउँपालिकामा तीन जना तथा रोल्पा नगरपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा दुई–दुई जना बेपत्ता भएका छन्। लुङ्ग्री गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।
मृतक तथा बेपत्ताका ५० परिवार र घाइतेका दुई परिवार गरी ५२ परिवारलाई जनही ११ हजार ५०० बराबर रुपैयाँका दरले राहत वितरण गरिएको समितिले जनाएको छ।
प्रतिक्रिया 4