Comments Add Comment

‘राजावादी उभार’ देखेर ज्ञानेन्द्र मख्ख !

राजतन्त्रको पक्षमा खुलेआम नाराबाजी

३० फागुन, मलंगवा । पूर्वराजा ज्ञानेन्द्र शाहले तीर्थाटनका रुपमा ‘मधेस मिसन’ शुरु गरेका छन् । विहीबार मधेसको राजधानी जनकपुरबाट सर्लाहीको मलंगवा निस्कने क्रममा पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा एक प्रकारको जनउभार जस्तै देखियो ।

ज्ञानेन्द्रको भ्रमणमा खुलेआम राजतन्त्रको पक्षमा नारा लाग्नुका साथै ब्यानरमा उनलाई ‘महाराजधिराज सरकार’ भनेरै सम्वोधन गरिएको पाइयो । यद्यपि पूर्वराजा ज्ञानेन्द्रले जनताको र देशको भलो होस् भन्नेबाहेक आफूसँग अरु स्वार्थ नरहेको बताउन छुटाएनन् ।

बुधबार बेलुका झापाबाट आफैंले गाडी चलाएर स्थलमार्ग हुँदै जनकपुर आइपुगेका पूर्वराजाको यो भ्रमणलाई धार्मिक भनिए पनि उनले ठूलो संख्यामा यहाँका स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । सर्लाही जिल्लामा पुग्दा जिल्लाका सरकारी अधिकारी एवं जनप्रतिनिधिले समेत पूर्वराजासँग भेटवार्ता गरेका छन् ।

विहीबार अपरान्ह २ बजे जनकपुरबाट मलंगवा जाने क्रममा पूर्वराजाले कम्तिमा एक दर्जन स्थानमा ओर्लेरै जनतासँग सम्वाद गरे ।

धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी लगायतका स्थानमा सयौंका संख्यामा स्थानीय बासिन्दाले पूर्वराजाको स्वागत गरेका थिए ।

हातमा फूलमाला र राष्ट्रिय झण्डा बोकेका मधेशी महिलाहरुसँग पूर्वराजाले छोटोछोटो सम्वादसमेत गरेका थिए ।

पूर्वराजालाई हेर्नका लागि ठाउँ-ठाउँमा सडक किनारामा सयौं जनता उभिएका थिए । उनीहरुले पूर्वराजालाई हात हल्लाएर अभिनन्दन गरेका थिए भने समर्थकले ‘राजा आऊ, देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

सर्लाही सदरमुकाम मलंगवाको दुर्गा मन्दिर पुग्नुअघि सडकमा स्थानीय बासिन्दाको लाम छिचोल्न नसकिने भएपछि पूर्वराजा गाडीबाट ओर्लिएर पैदल हिँड्नुपरेको थियो ।
मलंगवामा मात्र हजारौंको संख्यामा जनसमूह भेला भएको बताउँदै पूर्वराजाको मधेस मिसनमा हिँडिरहेका शिवसेना अध्यक्ष अनिल बस्नेतले बताए ।

मलंगवामा पूर्वराजा पुग्दा सयौंले नाराबाजी गरेका थिए । उनलाई भेट्न र छुनका लागि सर्वसाधारणको तँछाड मछाड चलेको थियो । भिड नियन्यन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको दृश्य देखिन्थ्यो ।

स्थानीय प्रशासनले पूर्वराजाको सुरक्षार्थ र भीड नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

स्थानीय जनताको स्वागत छिचोल्दै मा दूर्गा भगवती मन्दिरमा प्रवेश गरेका पूर्वराजाले करिव १० मिनेट विशेष पूजाअर्चना गरेका थिए ।

मन्दिरका पुजारीलाई उनले खाममा राखेर दक्षिणा दिँदै मुलुकको भलो होस् भन्ने कामना रहेको बताए । पुजारीहरुले राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको पुकार गर्दै जयजयकार गरे ।

पूर्वराजा पूजाआजा सकेर फर्किँदा सडकमा झन् ठूलो भीड लागिसकेको थियो । यो भीड पूर्वराजा आउने हल्लासँगै स्वस्फूर्त रुपमा आएको स्थानीयको दाबी छ ।

मलंगवा बजारमा पूर्वराजाको स्वागतार्थ ब्यानरहरु टाँगिएका थिए । स्थानीयले पूर्वराजालाई राजतन्त्र हटेपछि मधेसले दुःख पाएको भन्दै हिन्दू धर्मको रक्षाका लागि राजा पुनः आउनुपर्ने बताएका थिए । पूर्वराजाले भने मुन्टो हल्लाउने बाहेक कुनै प्रतिक्रिया दिएनन् । तर, उनी आफ्नो स्वागतमा हजारौं सर्वसाधारणको उपस्थिति देख्दा दंग थिए ।

पूर्वराजाले मलंगवाकै जानकी पार्टी प्यालेसभित्र केहीबेर आराम गर्दा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र मलंगवाका मेयर लगायतले भेटघाट गरे ।
भेटका क्रममा पूर्वराजाले मधेसको पछिल्लो अवस्थाबारे जानकारी लिएको भेटका एक सहभागीले अनलाइनखबरलाई बताए ।

चार दिनका लागि जनकपुर आइपुगेका पूर्वराजाले शुक्रबार साँझ रामजानकी मन्दिरमा विशेष पूजाअर्जना गर्ने कार्यक्रम रहेको पूर्वराजाका निजी सचिव फणिराज पाठकले अनलाइनखबरलाई बताए । जनकपुरमा ठूलो संख्यामा सर्वसाधारण पूर्वराजाको स्वागतमा आउने दाबी पूर्वराजाका समर्थकहरुले गरेका छन् ।

पूर्वराजा शनिबार उदयपुरको गाईघाट र आइतबार सप्तरीको छिन्नमस्ता दर्शनपछि झापा फर्किने कार्यक्रम छ ।

यसबीचमा उनले विभिन्न व्यक्तिहरुसँग गोप्य भेटघाट पनि गरेका छन् ।

पूर्वराजाले मधेसमा आफ्नो पक्षमा माहौल बनाउन खोजेको आँकलन यहाँका नागरिक अगुवाहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment