
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन्।
- शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै अब बिगार्ने होइन, सपार्नेतिर कार्यक्रम अघि बढ्नुपर्ने धारणा राखेका छन्।
- उनले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ।’
१२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् ।
नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’
हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्दछ ।’
उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताएका छन् । ‘यही समयको माग हो,’ पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’
प्रतिक्रिया 4