News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा युवा पिँढीको राजनीति र राज्य सञ्चालनमा संलग्नता बढ्नु उत्साहको विषय भएको बताउनुभयो।
- उहाँले आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउने विश्वास व्यक्त गर्नुभयो।
- पूर्वराजाले विगतका वर्षहरूमा नेपाल विकासका दृष्टिले कमजोर भएको र राजनीतिक परिवर्तनले मात्र कोरा परिवर्तन भएको उल्लेख गर्नुभयो।
३० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिंढी संलग्नता बढ्दै जानु उत्साहको विषय भएको टिप्पणी गरेका छन् ।
सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ,’ सम्बोधनको क्रममा उनले भनेका छन् ।
साथै, उनले वितेका केही वर्ष विकासका दृष्टिले देश झनै कमजोर भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
‘वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्यौं,’ पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन्, ‘तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा हामी धेरै दगुरियौं । तर राष्ट्रको श्री वृद्धिमा हामी निकै पछि पर्यौं । सधैं प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।’
प्रतिक्रिया 4