Comments Add Comment

सीता दाहालको स्वास्थ्य समस्या के हो ? नेपालमा उपचार सम्भव छैन ?

३ चैत, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीताको स्वास्थ्य उपचारका लागि आइतबार अमेरिका जाँदैछन् । छोरी गंगा र ज्वाइँ जीवन आचार्यसहित उनीहरु साँझ ५ बजे इत्तेहाद एयरबाट अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।

प्रचण्डको सचिवालयका एक सदस्य विष्णु सापकोटा (जुगल)का अनुसार सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने छ ।

सीताको समस्या के हो ?

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ ।

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको छ । त्यसैले सीताको मन बहलाउन प्रचण्डले बेला–बेला विभिन्न ठाउँमा घुमाउन लैजान्छन् । गृहमन्त्री रामबहादुर थापा बादलसहित प्रचण्ड र सीता म्याग्दीको तातोपानी कुण्डमा पुगेर स्नान गरेको तस्वीर समाजिक सञ्जालमा भाइरल भएको थियो । सीताको उपचारकै सिलसिलामा तातोपानी कुण्डमा पुगेको प्रचण्ड परिवारका सदस्य बताउँछन् ।

अमेरिका लैजानुअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर, पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन ।

नेपालमा उपचार सम्भव छैन ?

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालका डा. प्रत्युष श्रेष्ठका अनुसार पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो । रोग यो पूर्णरुपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ ।

यसको उपचारविधि भनेको औषधि र अपरेसन हो । औषधिले ठीक नभएमा अपरेसन गर्नु पर्ने श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘जुन ठाउँमा बिग्रिएर यो समस्या आउँछ त्यो ठाउँमा मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर उपचार गर्न सकिन्छ ।’

यो रोगको सामान्य उपचार बाँसबारीस्थित न्यूरो अस्पतालमा हुँदै आएको छ । तर, प्रचण्ड पत्नी सीताको समस्या कुन स्तरको हो भन्ने कुरा रिपोर्ट नहेरी भन्न नसकिने उनले बताए ।

डा. श्रेष्ठले भने, ‘पीएसपीको उपचार हामीले गर्दै आएका छौं । तर, सीता दाहालजीको समस्या कस्तोखालको हो, कुन स्टेजको हो, त्यो नहेरी यहाँ उपचार सम्भव हुन्छ कि हुँदैन भन्न सकिँदैन ।’

लक्षण कस्तो हुन्छ ?

पीएसपीको समस्या ६० वर्ष उमेर पूरा भएका व्यक्तिहरुलाई बढी हुन्छ । बलिउडका चर्चित हास्य अभिनेता कादर खान पनि पीएसपी समस्याबाट पीडित थिए । क्यानडाको एक अस्पतालमा उपचार गर्दागर्दै गत ३१ डिसेम्बरमा ८१ वर्षको उमेरमा खानको निधन भएको थियो । उनलाई सास लिन गाह्रो हुन्थ्यो ।

यसको लक्षण समय अनुसार गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन मुश्किल हुन्छ । यद्यपि हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरणशक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

उपचार विधि

यसको लक्षण पार्किन्सनसित मिल्दोजुल्दो हुने भएकाले चिकित्सकहरुलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ । कतिपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्रै रोग पत्ता लगाउन सकिन्छ । त्यसैले, यो रोग लागेको शंका लागेमा न्युरोलोजिस्टको सहायता लिन सकिन्छ ।

पीएसपीको प्रभावकारी उपचारबारे विभिन्न अनुसन्धान भइरहेको छ । यद्यपि न्यूरो सर्जन र न्यूरोलोजिस्ट मिलेर यसको उपचार गर्दै आएका छन् । सुरुमा औषधि सेवन गर्ने र औषधिले काम नगरे मस्तिष्कको अपरेशन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर उपचार गर्न सकिने न्यूरो सर्जन डा. श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment