+
+
Shares

तिलिचो तालको यात्रा : अक्टोपस झरनाको न्वारन, १००० रुपैयाँको तातोपानी

विश्वकै अग्लो ठाउँमा अवस्थित ताल देखेर मनै हराभरा भइदियो । झार जंगल केही छैन । हिँउ नै हिँउको साम्राज्य ।

एल बी मुखिया एल बी मुखिया
२०८२ कात्तिक १९ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तालको वरिपरि हिमाल र हिउँको साम्राज्य छ र यहाँ पर्यटकहरूको भीड लाग्ने गर्दछ।

विश्वकै उचाइमा अवस्थित ताल कुन हो ?

हाजिरी जवाफमा सोधिने प्रश्न हुन्थ्यो यो, जतिबेला हामी विद्यालयमा हुन्थ्यौं । हामी कनीकुथी जवाफ दिन्थ्यौं, ‘तिलिचो ताल ।’

हिम टाकुरामा रहेको त्यो ताल आफैंमा अद्‍भूत र अनुपम रहेछ । विश्वकै अग्लो स्थानमा रहेको मात्र होइन, पदयात्राका लागि विश्वकै रोमाञ्चक गन्तव्य पनि रहेछ । तिलिचो तालको बारेमा जति सुन्यो, उति मन रोमाञ्चकताले भरिन थाल्यो ।

अन्ततः हामीले तिलिचो तालको फन्को लगाउने निधो गर्‍यौं ।

होलिस्टिक हर्ब्स र होलिस्टिक अस्पतालका हामी सात जना तम्तयारीमा लाग्यौं । ट्रेकिङ ब्याग, लट्ठी, थर्मस र खानेकुरा किनमेल गरियो । सबैकुरा ठिकठाक भएपछि शरद ऋतुको मोहक मौसममा हामीले काठमाडौं छाड्यौं ।

आकाश खुला थियो । सर्बत्र घमाइलो थियो । हामी गीत गाउँदै, गफ गर्दै, हासोठट्टा गर्दै अगाडि बढ्यौं । धादिङको गल्छीमा पुगेर चियानास्ता खाइयो, कुरिनटारमा माछा खाना खाइयो । अनि अबुखैरेनी, डुम्रे, बेसीशहर हुँदै हामी फेरि उस्तै गतिमा बढिरह्यौं ।

अक्टोपस झरनाको न्वरान, बाटैपिछे देउसी

पहिलो दिनको हाम्रो यात्रालाई झरनै-झरनाले स्वागत गरेझैं लाग्यो । एक ठाउँ होइन, तीन ठाउँ हामीले झरनासँग साक्षतकार गर्‍यौं । लमजुङ हुँदै यात्रा गरिरहँदा सुरुमा भेटियो बुम झरना।

ठूलो चट्टाने ढुंगाको कापबाट फुत्त निस्किएको पानीको फोहोरा र तिब्रतासाथ झरेको त्यसको लहर देखेर हामी रमायौं । त्यसमा परेको इन्द्रेणी र पृष्टभूमिको हिमालले हामीलाई अझ लोभ्यायो । हामीले फोटो खिच्यौं, टिकटक बनायौं ।

त्यसदिन उस्तो हतारो थिएन । गन्तव्यसम्म आरामले पुग्न सकिन्थ्यो । त्यसैले बाटोमा देखिने र भेटिने रमणीय दृश्यहरूबाट भरपुर आनन्द लियौं । तर बाटो-बाटोमा देउसी टिम भेटिए, डोरी टाँगेरै बसेका । सुरुको टिमले होस्टल बनाउनका लागि देउसी खेलेको बताए । मैले पनि ‘पवित्र कामको लागि रहेछ’ भन्दै एक हजार रुपैयाँ दिएँ ।

तर, त्यहाँबाट अगाडि बढेपछि चालक भाइले मलाई सर्तक गराउँदै भन्यो, ‘सर, यति धेरै पैसा दिएर साध्य लाग्दैन । बाटैपिछे यसरी डोरी टाँगेर बसेका हुन्छन् ।’ भयो पनि त्यस्तै । अन्ततः एक–डेढ सय दिँदै डोरी पन्छाइयो ।

केही समयपछि हामीलाई अर्को मोहक झरनाले स्वागत गर्‍यो । लमजुङकै सुन्दर झरना रहेछ यो, जुन मोटरबाटोमै झरेको थियो । अघिल्लो झरना टाढाबाट देखिएको थियो। यो झरनालाई भने हामीले स्पर्श गर्न पायौं । झरनाको नाम रहेछ, अक्टोपस झरना ।

यस्तो नाम हामीलाई चित्त बुझेन । हामीले यसको अर्को नाम न्वरान गरिदियौं, माकुरे झरना । नेपालमै नभएको जीवको नाम किन राख्ने ? नेपालीपनको नाम राखेर हामी फेरि झरनामा खेल्यौं, रमायौं ।

साँझतिर हामी मनाङ–मर्स्याङ्दी तरेर तालगाउँ पुग्यौं । आजको हाम्रो वासस्थान यही थियो । चार वर्षअघि बाढी पहिरोले बगाएको यो बस्ती पुनर्निमाण गरिएको रहेछ । होटल, रिसोर्टको सुविधा भएको तालगाउँ आकर्षक देखिन्थ्यो । होटलमा झोला थान्को लगाएर यसो घुम्न निस्कँदा हामीले नजिकै अर्को ठूलो झरना देख्यौं । पश्चिमी क्षितिजमा घामको गोला डुब्दै गर्दा हामी त्यो झरनामा रमाइरहेका थियौं ।

वाइन फ्याक्ट्रीको लटरम्म स्याउ र पाँच हजार जरिवाना

अघिल्लो दिन झरना नै झरनाले स्वागत गरे झैं दोस्रो दिन ताल नै तालले स्वागत गर्‍यो हामीलाई । दोस्रो दिन बिहान सात बजे उठियो, साढे सातमा ब्रेकफास्ट तयार भइसकेको थियो । तातो पानीले ज्यान तताएपछि हामीले होटल सञ्चालकसँग केही भलाकुसारी गर्‍यौं । खासगरी स्वस्थ्य खानपान र जीवनशैलीबारे चर्चा भयो । हामीले उनीहरूको निःशुल्क स्वास्थ्य जाँच पनि गरिदियौं । त्यसपछि बाटो ततायौं, मनाङ मर्स्याङ्दीको तिरैतिर ।

मनाङको सदारमुकाम चामे पुगे पनि हामी त्यहाँ धेरैबेर रोकिएनौं । बरू जहाँबाट छ्याङ्ग हिमाल देखिन्छ, त्यहाँ अग्लो चटान भेटिन्छ । त्यहीं बस्दै र फोटो खिच्दै रमाइयो । ढिकुर पोखरीमा हामीले बिहानको खाना खायौं । त्यो चिसो ठाउँमा ताजा र तात्तातो खाना खान निकै मिठो लाग्यो । त्यहाँ विदेशी पर्यटकको बाग्लो चहलपहल थियो ।

खानपानपछि अगाडि बढ्दै जाँदा हामी अर्को मनोरम ठाउँमा पुग्यौं । त्यो निलो ताल थियो । चलनचल्तीको नाम, ब्लु लेक । हेर्दै रहरलाग्दो ताल देखेपछि हामीले फोटो–भिडियोका लागि पोज दिन थालिहाल्यौं । चारैतिर हिमालैहिमाल । माझमा निलो ताल । जति हेरेपनि मन नअघाउने ।

त्यहाँ रहँदा म केही भावुक पनि भएँ । यति राम्रो ठाउँलाई हामीले वास्तवमै बेवास्ता गरेका रहेछौं । पर्यटन प्रवर्द्धनका लागि ठोस पहल गरिएको थिएन । त्यहाँबाट साँघुरो र कच्ची पुल पारे गरेर माथि उक्लिएपछि हामीले भेट्यौं, वाइन तथा जुस फ्याक्ट्री । त्यहाँ पर्यटकहरू वाइन, जुसको चुस्की लिइरहेका देखिन्थे ।

बेकरी परिकार पनि पाइँदोरहेछ। फ्याक्ट्री नजिकै स्याउको बारी रहेछ । त्यहाँ होचा बोटमा पनि लटरम्म स्याउ फलेको देखेर दंग परियो । अझ दंग पर्ने अर्को कुरा थियो, कसैले स्याउ टिपेको खण्डमा ५ हजार जरिवाना ।

हामीले चाहिँ पछि फर्कँदा कोसेली स्वरुप वाइन लैजाने भनी यात्रा जारी राख्यौं । बाटो अत्यासलाग्दो थियो । चट्टाने भीरलाई खोपेर बनाइएको । साँघुरो, भिरालो र असजिलो पनि । त्यहाँ बाटो बनाउनका लागि ब्लास्टिङ गर्ने क्रममा १४ जनाको ज्यान नै गएको रहेछ ।

मनाङ बजारको गेटमा फोटो खिचेर अगाडि बढेको हामीले अर्को ताल भेट्यौं । नाम रहेछ, गंगापूर्ण । तर त्यहाँ नखेली हामी सरासर अगाडि बढ्यौं । किनभने हामीलाई अब ढिला नगरी खाङसार पुग्नु थियो । त्यहीं नै हाम्रो आजको बिसौनी थियो ।

त्यहाँ पुगेपछि बाँकी किनमेल गर्न र अलि आराम गर्नका लागि समय चाहिन्थ्यो । किनभने खाङसारदेखि गाडी जादैनथ्यो । त्यसैले मस्त आराम गरेर अर्को दिन हामीले पैदल यात्राका लागि तयार हुनु थियो ।

पहरामा पाइलाहरू : डरको अगाडि जित छ

खाङसार बजार निकै साँघुरो रहेछ, दुई वटा गाडीसमेत ओहोरदोहार गर्न नमिल्ने । सानो बजार, धुलाम्मे । जसोतसो हामीले रातको खाना खाएर त्यहीं विश्राम गर्‍यौं । बिहान ७ बजे उठेर नास्तामा अण्डा र चना खाइयो । लसुन र टिमुरको सुप खाइयो । अनि पैदल यात्रा सुरु गरियो ।

हामी सबैसँग तातो पानीका थर्मस थियो, लठ्टी टेक्दै उकालो लाग्यौं । बाटोमा घोडा–खच्चड भेटिए, ओहोरदोहोर गरिरहेका । साँघुरो बाटोमा तिनीहरूलाई पनि साइड दिदै अगाडि बढ्नुपर्ने । यसरी नै हामी श्रीखर्कमा पुग्यौं । त्यहाँ चिया कफी खाइयो ।

फेरि हामी उक्लियौं । हिउँ पग्लिएर आएको कञ्चन पानी बग्ने खोला, त्यसमाथि बनेको पुल । घुम्ती र असजिलो बाटो । उकालो ओरालो, कतै सुरुङ । पहरामा हिँडेजस्तो । शरीरको थोरै सन्तुलन गुम्यो वा खुट्टा चिप्लियो भने मस्याङ्दी नदीमा झरिने । ‘डर के आगे जित है’ भने जसरी हामीले होसियारीपूर्वक पाइलाहरू चाल्यौं ।

कहिल्य अप्ठ्यारो बाटो छिचोल्दै त कहिले हिमाली दृश्यहरू हेरेर मख्ख पर्दै हामी तिलिचो आधारशिवरमा बास बस्न पुग्यौं । पहिले नै बुक गरिएको होटलमा सरसामन थान्को लगाएर हामी केही पर गयौं, जहाँ हिउँ पग्लिएर पानी बगिरहेको थियो । त्यसैको छेउमा सानो ग्यास बाल्यौं, पानी उमाल्यौं र कफी पियौं ।

तर, हामीसँग यहाँ धेरैबेर अलमल गरिरहने समय थिएन । किनभने भोलि बिहान नहुँदै तिलिचोका लागि हिँड्नुपर्ने थियो । राति ८ बजे खाना खाएर हामी ओछ्यानमा घुस्रियौं।

भिराले बाटो, ८ हजारको घोडा सवार

तिलिचो लेक उक्लनेहरू प्राय: बिहानको दुइ–तीन बजे नै बाटो तताउने रहेछन् । हामी तम्तयार भएर निस्कँदा घडीले ४ बजेको संकेत गरिरहेको थियो । बाहिर अँध्यारो नै थियो । टाउकोमा टर्च लाइट, एउटा हातमा थर्मस झुड्याएर अर्को हातले लट्ठी टेक्दै हामी उकालो लाग्यौं । यतिबेलासम्म त्यहाँ बास बसेकाहरू हिँडिसकेका थिए ।

हिँड्नुअघि हामीले अण्डा, चना र सुप खाएका थियौं । र, बाटोमा पिउनका लागि आ–आफ्नो थर्मसमा तातोपानी बोकेका थियौं । दुई घण्टा जति सरासर हिँडेपछि हिमालमा घामको किरण परेको देखियो । घामको कलिलो किरण जब हिउँमा पोतियो, त्यो विछट्टै सुन्दर हुँदोरहेछ । यस्तो लाग्ने, हिमाल खासमा पौराणिक कथाहरूमा वर्णन गरिने सुनौलो टाकुरा हो ।

हिमालमा घामको किरण परेपछि हामीले टर्च लाइट बन्द गर्‍यौं, किनभने बाटो पहिल्याउन अब गाह्रो थिएन । तर, बाटो भने सहज थिएन । भिरालो, घुम्ती, साँघुरो । ढुंगाको रोडामाथि हिँड्नुपर्ने । त्यसैले कतिपय त आधा बाटोबाटै फर्किरहेका भेटिन्थे । एक त बाटोमा हिँड्न गाह्रो, अर्को चाहिँ लेक लाग्ने । उस्तै मान्छेले यहाँको यात्रा गर्न नसक्ने रहेछन् । त्यसैले स्थानीयले यहाँ घोडा राखेर बसेका हुँदारहेछन्, यात्रु ओसार्नका लागि ।

बाटोमा १५–२० वटा घोडाको वथान भेटिए । हामी घोडा चढ्नुपर्ने अवस्थामा थिएनौं । सबै सहीसलामत थियौं । तर, हाम्रो टोलीको कान्छो सदस्य अर्थात मेरो छोरो अनमोलले भने घोडाको रहर गर्‍यो ।

तिलिचो तालसम्म पुगेको ८ हजार रुपैयाँ लाग्ने रहेछ । २२ घुम्ती कटाएको पाँच हजार । हामीले निकै मोलमोलाई गरेपछि सात हजारमा तिलिचोसम्म पुर्‍याउन राजी भए । अनमोल घोडामा चढेर अगाडि बढ्यो ।

हामी उसैगरी हिँड्न थाल्यौं । बाटो उस्तै कठिन, घुम्ती, भिरालो । जसोतसो २२ घुम्ती काटेर ५ घण्टाको निरन्तर उकालो चढेपछि हामी पुग्यौं, तिलिचो ताल ।

आहा तिलिचो !

चारैतिर हिम टाकुरा । सेताम्मे । माझमा विशाल जलाशय । आकाशको प्रतिछायाँ परेर निलो भएको । सुन्दर, शान्त र स्निग्ध । विश्वकै अग्लो ठाउँमा अवस्थित ताल देखेर मनै हराभरा भइदियो । करिब दुई किलोमिटर चौडाइ, पाँच किलोमिटर लम्बाइ । झार जंगल केही छैन । हिँउ नै हिँउको साम्राज्य । हामीले धित मरुञ्जेल तिलिचोलाई हेरिरह्यौं । रोमाञ्चकताले रमाइरह्यौं ।

तिलिचो ताल भएको ठाउँमा एउटा साधरण किसिमको होटल रहेछ । त्यहाँ खुट्टा टेक्ने ठाउँ थिएन । खचाखच थिए पर्यटकले । त्यहाँ एक थर्मस तातोपानीको एक हजार रुपैयाँ रहेछ । एक मग तातो पानीको दुई सय रुपैयाँ । आखिर जे भएपनि तिलिचो पुगियो । मनभरी, आँखाभरी त्यहाँको सौन्दर्यलाई सजाइयो ।

हामीले स्विटजरल्यान्डमा यस्तै हिँउ खेलेका थियौं । तर, त्यहाँको हिँउ र यहाँको हिँउमा फरक अनुभूत भयो ।

कसैले सोध्छन् नि, स्वर्ग कस्तो हुन्छ ? म यसको जवाफ दिनेछु, ‘तिलिचो ताल जस्तै’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?