Comments Add Comment

पर्सा र बारामा सञ्चालित फर्मका कुखुरा परीक्षण गरिने

Photo Credit : अनलाइनखबर फाइल

५ चैत, वीरगञ्ज । बर्ड फ्लूको संक्रमण भए नभएको थाहा पाउन बारा र पर्सा जिल्लामा सञ्चालित कुखुरा फर्महरुबाट नमूना संकलन गरी परीक्षणका लागि पठाइने भएको छ । मकवानपुर र काठमाण्डुमा कुखुरामा बर्ड फ्लूको संक्रमण रहेको पुष्टि भएपछि पर्सामा उच्च सतर्कता अपनाउन लागिएको हो ।

जिल्ला बर्ड फ्लू नियन्त्रण प्राविधिक समितिको बैठकले बारा र पर्सा जिल्लामा सञ्चालित कुखुरा र्फमहरुबाट ¥यान्डम तरिकाले कुखुराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउने निर्णय गरेको ग्रामीण कुखुरा व्यवसायी संघका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको प्राविधिक समितिको बैठकले सबै सरोकारवालाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

‘पर्सा जिल्ला वर्ड फ्लूको उच्च जोखिममा रहेको महशुस गरि यहाँका कुखुरा व्यवसायी, कुखुरा र्फम सञ्चालक, अण्डा व्यवसायी, दाना सप्लायर्स र कुखुराको चल्ला सप्लायर्स लगायतका पन्छी तथा पन्छीजन्य पदार्थ ओसारप्रसार गर्ने सरोकारवाला सबै निकायले उच्च सतर्कता अपनाउन आ-आफ्नो क्षेत्रबाट पहल गर्ने ।’ प्राविधिक समितिले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैठकले हेटौंडा नाका हुँदै पथलैया भएर आउने पन्छी तथा पन्छीजन्य पदार्थ र त्यस संग सम्बन्धित सामाग्रीहरु पथलैया नाकामा पूर्णतया रोक लगाउने, सम्बन्धित कुखुरा व्यवसायी माछामासु व्यवसायी सरोकारवाला सबैले जैविक सुरक्षा लगायत तोकिएका प्रक्रिया अपनाउन लगाउने निर्णय गरेको छ ।

औषतमा २० गाडी ब्रोईलर कुखुरा उत्पादन हुने पर्सा जिल्लामा ४ सयको हाराहारीमा कुखुरा व्यवसायी छन् । मकवानपुर, चितवनबाट लेयर्स कुखुरा, अण्डा र चल्ला आउने गरेको छ भने पर्सा, बाराबाट काठमाण्डु लगायतका शहरमा कुखुरा निर्यात हुने गरेको छ ।

भारतसँग खुल्ला सीमाना भएका कारण पर्सा, बारा जिल्ला त्यसैपनि बर्डफ्लूको जोखिममा छ । भारतबाट पंक्षीजन्य बस्तु आयातमा प्रतिबन्ध लगाईएको भएपनि सस्तोमा पाईने हुँदा चोरी तस्करीबाट कुखुरा, चल्ला र अण्डा आउने गरेको छ । पछिल्लो पटक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ७ नागस्वती स्थित कूलप्रसाद चौलागाईको कर्मसियल लेयर्स र्फमको कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लू भेटिएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले यस क्षेत्रमा बर्ड फ्लू उब्जिन र भित्रिन नदिन सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरिएको बताए । ‘दक्षिणतिरको कन्ट्रोल गरि नै राखेका छौं, अब उत्तरतिरको समेत निगरानी गर्नुपर्ने भएको छ ।

बाहिरी संक्रमण भित्रिन नदिन यताबाट हेटौंडा तर्फ जान नदिने र उताबाट आउन नदिने भएका छौं । ठोरी नाका हुँदै चितवन लैजान ल्याउन प्रतिबन्ध लगाएका छौं,’ उनले भने, ‘जिल्लामा उब्जिन नदिन कुखुरा उत्पादकहरुलाई खोर सरसफाइ गर्ने लिएर सतर्कता अपनाउन भनेका छौं । स्थानीयले पनि कुखुरा चरा मरेको थाहा पाउनासाथ प्रशासनलाई खबर गरेर सहयोग गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment