+
+
Shares

भोटेकोशी बाढी : ३२ विद्यालयका ९ हजार ४२८ बालबालिका प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको बाढीले रसुवा, नुवाकोट र धादिङका ३२ विद्यालयका ९ हजार ४२८ बालबालिका प्रत्यक्ष प्रभावित भएको सिजपले जनाएको छ।

२८ भदौ, काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण ३२ वटा विद्यालयका ९ हजार ४२८ बालबालिका प्रत्यक्ष प्रभावित भएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले जानकारी दिएको छ । रसुवा, नुवाकोट र धादिङका बालबालिका प्रभावित भएको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।

शुक्रबार सिजपले आयोजना गरेको ‘बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीहरूको दायित्व’ विषयक छलफल कार्यक्रममा पौडेलले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् ।

उनका अनुसार प्रभावितमध्ये १ हजार ३७३ जना बालबालिका विस्थापित भएर होल्डिङ सेन्टरमा बसिरहेका छन् । प्रारम्भिक प्रतिवेदनअनुसार ४८८ जना विद्यार्थी अझै सम्पर्कविहीन छन् । ५ जना विद्यार्थी मृत भेटिएका छन्।

बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष अनुगमन गर्दा बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपांगता भएका बालबालिका बढी जोखिममा परेको उनले बताए ।

बाढी प्रभावित बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षालाई प्राथमिकतामा राखेर राज्य तथा सरोकारवाला निकायले तत्काल काम गर्नुपर्ने पौडेलले बताए । अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा अझ बढी संवेदनशील भएर काम गर्नुपर्नेमा उनको जोड छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले विपद्को समयमा सञ्चारमाध्यमले आवाजविहीनका आवाजलाई प्राथमिकता दिनुपर्ने बताए। बालबालिकासम्बन्धी समाचार तयार गर्दा उनीहरूको अधिकार, गोपनीयता र मानसिक अवस्थालाई विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्लान इन्टरनेशनलका पोलिसी म्यानेजर इर्शाद अहमद अन्सारीले विपद्का समयमा बालबालिकाका मुद्दालाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताए । बालबालिकाका क्षेत्रमा काम गर्ने क्रममा सिजपसँग आवश्यकताअनुसार सहकार्य र सहयोग गर्न तयार रहेको पनि अन्सारीले बताए।

छलफलमा सहभागी सञ्चारकर्मीहरूले बालबालिकाको विषयमा कुनै सञ्चारमाध्यम, सरकारी निकाय वा संघसंस्थाबाट गलत कार्य भएमा वा तथ्यहीन सूचना सम्प्रेषण भएमा सिजपले त्यसबारे सार्वजनिक रूपमा आवाज उठाउनुपर्ने बताएका थिए।

उनीहरूले बालबालिकाका सवालमा सम्बन्धित निकायसँग वकालत तथा पैरवीलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?