News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका दुई दर्जन नेताले १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर संस्थापन र इतर समूहबीच निर्णायक वार्ता गर्न आग्रह गरेका छन् ।
- पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितले पार्टीलाई एकढिक्का बनाउन संवाद, सहमति र सहकार्यमा जोड दिएका छन् ।
- देउवा, खड्का, कोइराला र सभापति गगन थापासँग छलफल भएको भन्दै नेताहरूले नयाँ पुस्तालाई अघि ल्याएर एकता खोज्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन् ।
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन् ।
देश संकटमा रहेको संवेदनशील घडीमा कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली पार्टी निर्माणमा जुट्न उनीहरूले अपिल गरेका छन् ।
देउवा, खड्का र कोइरालासँग छलफल गरेपछि उनीहरूले सभापति थापालाई पनि भेटेका बताइएको छ । कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन तोकेको छ ।
यस्तै देउवा समूहले आगामी असोज १५ मा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । सहमतिको प्रयास सफल नभए कांग्रेसमा समानान्तर महाधिवेशन हुने निश्चित रहेको देउवा समूहका नेताहरू बताउँदै आएका छन् ।
कांग्रेस एकता, महाधिवेशन र नेतृत्वको भूमिकाबारे अपिल जारी गर्ने नेतामध्येका एक रामहरि खतिवडासँग अनलाइनखबरका लागि केशव सावदले गरेको कुराकानी गरेका छन् :
तपाईंहरूले महाधिवेशनको कार्यतालिकाहरू नै रोक्न आग्रह गर्नुभएको छ । महाधिवेशन रोक्नु नै अहिले कांग्रेस एकताको पहिलो सर्त हो भन्ने निष्कर्षमा कसरी पुग्नुभयो ?
सबैभन्दा महत्वपूर्ण कुरा अहिलेको देश, परिस्थिति, कानुनी राज्य, संविधानलाई विचार गर्दा कांग्रेस कमजोर हुँदाखेरि देश धेरै कमजोर हुने भयो । हामी विशेष महाधिवेशनबाट एउटा अवस्थामा पुग्यौं । केही साथीहरू अझै समेटिएका छैनन् भन्ने हामीलाई लागेको हो ।
तथापि, पार्टीलाई एकीकृत नबनाइकन देशका वर्तमान समस्या समाधान गर्ने शक्ति अरू देखा परेनन् । त्यसैले दुई पक्षको छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका आएको अवस्था छ । एउटा अलि पछि गर्ने, एउटा अब लगत्तै महाधिवेशन गर्ने ‘क्यालेन्डर’ कांग्रेसभित्र आयो ।
यो अवस्थामा दुवै समूहले वार्ता गरेर एकताबद्ध भएर जाँदा अहिलेको विषम् परिस्थितिमा कांग्रेस एकताबद्ध भएर जान्छ र यसले एउटा नया उत्साह कार्यकर्ता पैदा हुन्छ । केही समय सारेर भए पनि एकता हुन्छ भने दुवै पक्षले महाधिवेशन स्थगित गर्नुपर्छ ।
फेरि यो एक पक्षको मात्र कुरा हैन । पार्टीको बृहत् एकताका लागि यो आवश्यक छ जस्तो महसुस गरेर हामीहरूले दुवै पक्षलाई आग्रह गरेका हौं ।
तपाईंहरूको अपिलमा ‘निर्णायक वार्ता’ भनिएको छ । यसअघि कांग्रेसमा पटक–पटक वार्ता भएका थिए । तर, सहमति भएन । यसपटकको वार्ता निर्णायक बन्ने आधार के देख्नुहुन्छ ?
हामीले वर्तमान सभापति गगन थापासँग पनि कुरा गर्यौं । पूर्वसभापति शेरबहादुर देउवासँग पनि भेटेका छौं । त्यसपछि अन्य नेताहरू डा. शेखर कोइराला, पूर्णबहादुर खड्कासँग पनि हाम्रो भेट भएको छ ।
सबैलाई एकताबद्ध बनाएर लैजाँदा ‘पोजेटिभ’ हुन्छ । निर्णायक–अनिर्णायक के हुन्छ थाहा छैन, अब यो चाहिँ अलिकता नेतृत्वले नै बुझ्नुपर्यो । कांग्रेस वर्तमान परिस्थितिमा कमजोर हुँदाका परिणामहरू देशले कस्तो अवस्था भोगिराखे छ भन्ने कुरा सबैले बुझेकै छ ।
त्यसैले वर्तमान नेतृत्वले बुझ्नुपर्यो भन्ने हाम्रो आग्रह हो । हिजो पार्टी सभापतिले म पदाधिकारीहरूसँग छलफल गर्छु, अन्य नेताहरूसँग पनि छलफल गर्छु । कमजोर पार्टी मलाई पनि मान्य हुँदैन र अरुलाई पनि मान्य हुँदैन । त्यसैले म पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार छु भनेर भन्नुभएको छ ।
हामीलाई विश्वास छ । ‘इगो’ले मुलुक बन्दैन । दम्भले अथवा घमण्डले, इर्स्या–दोषारोपणले पनि हुँदैन । पार्टी एकताबद्ध हुनु नै फाइदा हुन्छ भनेर हामीले यो पहल गरेका हौं ।
यो अपिलमा हस्ताक्षर गर्ने अधिकांश नेताहरू १४ औं महाधिवशेनमा देउवा समूहबाट निर्वाचित हुनुभएको थियो । तपाईंहरूको पहललाई देउवा पक्षप्रति नरम भएर गरिएको दबाबका रूपमा बुझ्ने कि वास्तवमै गगन–देउवा दुवै पक्षलाई बराबर जिम्मेवार ठहर्याउनुभएको हो ?
हामी कसैप्रति नरम र कसैप्रति गरम होइनौं । हामी शेरबहादुर देउवाको पनि ‘ग्रेसफुल एक्जिट’ होस् भन्ने चाहन्छौं । अबको राजनीतिमा नयाँ पुस्तालाई अगाडि लिएर हिँड्दा नै फाइदा हुन्छ भन्ने हामीले महसुस गरेका छौं ।
सरसर्ती हेर्दा पनि कांग्रेसमा अबको विकल्प नयाँ पुस्ता नै हो । वर्तमान अवस्था हेर्दा नयाँ पुस्ताले नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्छ । त्यसैले पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यो कसैको पक्ष वा विपक्षमा गरिएको पहल होइन ।
तथापि, १४औं महाधिवेशनका बेला म आफैं पनि शेरबहादुर देउवाको टिमबाट केन्द्रीय समितिमा निर्वाचित भएको हुँ । तर, राजनीतिक परिस्थिति सधैं एकैनासको रहँदैन । रुख र चारतारे झण्डालाई हामी आधार मान्छौं र पार्टीको आधिकारिकतालाई नै आधार मानेर अघि बढ्छौं ।
तपाईंहरूले सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण हुने भन्नुभएको छ । तर, विवादको अर्को केन्द्र पूर्वसभापति शेरबहादुर देउवा पनि हुनुहुन्छ नि ।
उहाँ (देउवा) लाई पनि हामीले आग्रह गरेका छौं । म आफैंले पनि भेटेर राष्ट्रिय राजनीतिको कुरा गरौं भन्दा उहाँ अदालतले न्याय दिन्छ भन्नुहुन्छ । राजनीतिक मुद्दा, पार्टीको मुद्दालाई अदालतले निर्णय गर्ने प्रक्रिया कति ठीक हो, कति ठीक होइन, त्यो एउटा पक्ष हो ।
तर, सधैँ अदालतमा झुन्डिएर बसेर मात्रै पनि वर्तमान समस्या समाधान नहोला । देश विकराल अवस्थामा छ । तपाईंहरूले देख्नु भएकै छ- २९ खर्बभन्दा बढी हामी ‘लोन’ (ऋण) मा छौं, आन्तरिक र बाह्य गरेर । रोजगारका अवसरहरू छैनन् । उद्योग–धन्दाहरू बन्द भएका छन् ।
युवालाई हामीले नेपालमै रोजगारको अवसर दिलाउन सकेका छैनौं । सरकारप्रति जुन आशा र उत्साह जाग्नुपर्ने थियो, त्यो उत्साह र आशा जागेको छैन । कांग्रेस प्रजातन्त्रवादीहरूको एउटा आस्थाको केन्द्र थियो । प्रजातन्त्रवादीको आस्थाको केन्द्र पनि कांग्रेस रहेन भने भोलि कहाँ जाने हो ? अन्तर्राष्ट्रिय शक्तिको पनि एउटा विश्वासको वातावरण सिर्जना गर्ने शक्ति कांग्रेस हो भन्ने थियो ।
त्यो पनि कमजोर हुने हो भने त भोलि अप्ठेरो अवस्था हुन्छ भनेर सबैलाई मिलाएर लैजान लागि हामीले गरेको आग्रह अहिले निकालिएको ‘फर्मुला’ हो । वास्तवमा हामीले यो र त्यो पक्षभन्दा पनि समग्र मुलुकको हितका लागि यो आवश्यक छ भन्ने महसुस गरेका हौं ।
यदि गगन थापा र शेरबहादुर देउवा दुवै पक्षले हामी महाधिवेशन रोक्दैनांै भन्नुभयो भने तपाईँहरूको के गर्नुहुन्छ ? अपिलपछि तपाईँहरूको अर्को कदम के होला ?
हिजो गगनजीसँग हाम्रो वार्ता भएको छ । शेरबहादुर दाइसँग पनि सामान्य कुरा भएको छ । अब महाधिवेशन रोक्दै रोकेनन् भने क्रियाशील सदस्यता आद्यावधिक गर्ने साथीहरूले अथवा ‘रिन्यु’ (नवीकरण) गर्ने साथीहरूले गर्नुभएको छ ।
व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म कांग्रेस फुटाएर जाने पक्षमा होइन ।
हिजो अपिल जारी गर्ने अधिकांश नेताहरू त अब विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले गर्ने अधिवेशनमा सहभागी हुने पनि सुनिन्छ । के त्यो साँचो हो ?
अब सबै साथीहरूलाई समेटेर जाँदा पार्टीको अधिवेशन भयो भने आधिकारिक पार्टीको अधिवेशनमा नजाने भन्ने कुरा त आउँदैन होला ।
प्रतिक्रिया 4