२ भदौ, काठमाडौ । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै कांग्रेसले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले संशाधित कार्यतालिकाअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ । यसअघि केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो ।
‘वडा अधिवेशन पछाडि सरेको छ । २४ गते तोकेका छौं,’ महामन्त्री पौडेलले अनलाइनखबरसँग भने । उनले यसबीचमा पार्टीको असन्तुष्ट समूहसँग संवाद गरिने पनि उनले बताए ।
‘महाधिवेशनका लागि समय एकदमै छोटो छ । त्यो समयभित्र अधिकतम समय निकालेर हामी संवाद, सहमति र सहभागिता बढाउन चाहन्छौं,’ पौडेलले भने, ‘संवादका निम्ति समय निकालेका हौं । सदस्यतासम्बन्धी काम बाँकी रहेर होइन ।’
संवादको समय बढाउन वडा अधिवेशन २२ दिन पछाडि धकेलिएको र यसबीचमा पार्टीका तर्फबाट एकताको भरपूर प्रयास हुने पौडेलको भनाइ छ ।
‘संवादको समय बढाउनका लागि वडा अधिवेशन २४ गते पुर्याइएको हो,’ उनले भने, ‘हाम्रोतर्फबाट एकताको भरपूर प्रयास हुन्छ ।
संशोधित कार्यतालिकाअनुसार अब २७ भदौमा गाउँ–नगर सम्मेलन, ३१ भदौमा प्रदेश सभा क्षेत्रीय सम्मेलन हुने भएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको अधिवेशन ३ असोजमा, जिल्ला अधिवेशन ६ असोजमा र प्रदेश सम्मेलन १० असोजमा हुने छ ।
प्रतिक्रिया 4