News Summary
Generated by OK AI. Editorially reviewed.- स्पोटिफाइले गीत, पोडकास्ट र अडियोबुकलाई अर्थपूर्ण बनाउन ‘प्लेलिस्ट नोट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।
- प्रयोगकर्ताले आफूले सिर्जना वा सहकार्य गरेका प्लेलिस्टमा नोट थपेर पुराना सम्झना, सिफारिस र सामग्री जोड्नुको कारण लेख्न सक्नेछन् ।
- सम्पादक नोट र प्रोफाइल सुविधा अमेरिका, क्यानडा, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका १६ वर्षमाथिका प्रयोगकर्तामा रोल आउट भइरहेको छ ।
२ भदौ, काठमाडौं । स्पोटिफाइले आफ्नो प्लेटफर्ममा गीत, पोडकास्ट र अडियोबुकहरूलाई अझ बढी अर्थपूर्ण र रोचक बनाउने उद्देश्यले ‘प्लेलिस्ट नोट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।
यो नयाँ फिचर अनुसार प्रयोगकर्ताहरूले आफूले सिर्जना गरेका वा सहकार्य गरेका प्लेलिस्टहरूमा रहेका विभिन्न सांगीतिक तथा अडियो सामग्रीहरूको तल लिखित रूपमा आफ्ना पुराना सम्झनाहरू, विशेष सिफारिसहरू वा ती सामग्री जोड्नु पछाडिको कारणहरू विस्तारमा लेख्न सक्नेछन् ।
यो फिचरले श्रोताहरूबीच सांगीतिक अनुभव साटासाट गर्न र प्लेलिस्टलाई अझ पर्सनलाइज् बनाउन ठूलो सहयोग पुर्याउने स्पोटिफाइको विश्वास छ ।
यो फिचरको अर्को महत्त्वपूर्ण पक्ष ‘सम्पादक नोट’ र ‘सम्पादक प्रोफाइल’ हुन् । यसअन्तर्गत स्पोटिफाइका व्यावसायिक एडिटरहरूले टुडेज टप हिट्स, र्याप क्याभियारी, हट काउन्ट्रि, अल न्यु पप, मिन्ट र फ्रेस फाइन्ड हिपहपजस्ता चर्चित एडिटर प्लेलिस्टहरूमा केही निश्चित गीतहरू वा ट्रयाकहरू किन छनोट गरिएका हुन् भन्ने कुरा खुलाउनेछन् ।
श्रोताहरूले प्लेलिस्टको शीर्षभागमा रहेको नोट अप्सनमा ट्याप गरेर त्यस्ता सम्पादकीय टिप्पणीहरू पढ्न सक्नेछन् । सम्पादकको नाममा क्लिक गरेर उनीहरूको व्यक्तिगत प्रोफाइल, उनीहरूका मनपर्ने ट्र्याकहरू र उनीहरूले योगदान पुर्याएका अन्य प्लेलिस्टहरू पनि सजिलैसँग हेर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्नका लागि आफूसँग भएको वा सहकार्य गरेको प्लेलिस्ट खोल्नुपर्ने हुन्छ । त्यसपछि कुनै पनि गीत, पोडकास्ट एपिसोड वा अडियोबुकको छेउमा रहेको तीनवटा थोप्ला भएको मेनुमा थिचेर ‘एड नोट’ छनौट गर्नुपर्छ र आवश्यक टेक्स्ट लेखेर सेभ गर्नुपर्छ । यसो गर्दा सम्बन्धित सांगीतिक सामग्रीको तल उक्त नोट देखिनेछ र प्लेलिस्ट पहुँच भएका अन्य प्रयोगकर्ताले त्यसलाई पढ्न सक्नेछन् ।
सम्पादक नोट र सम्पादक प्रोफाइलहरूको यो सुविधा हाल अमेरिका, क्यानडा, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका १६ वर्ष वा सोभन्दा बढी उमेरका निःशुल्क र प्रिमियम दुवै प्रकारका प्रयोगकर्ताहरूका लागि क्रमशः रोल आउट भइरहेको छ ।
प्रयोगकर्ताका लागि उपलब्ध यो प्लेलिस्ट नोट्स सुविधा एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ ।
साथै स्पोटिफाइले हाल विश्वभर ३० करोडभन्दा बढी सब्सक्राइबर र ७७ करोड ७० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाएको छ ।
प्रतिक्रिया 4