News Summary
Generated by OK AI. Editorially reviewed.- इरानमा १९८० को दशकमा जन्मिएका ‘बर्न्ड जेनेरेसन’ ले युद्ध, प्रतिबन्ध, महँगी र राजनीतिक उथलपुथलबीच आफूहरू कठिन जीवन भोगिरहेको बताएका छन्।
- इरानको वार्षिक मुद्रास्फीति अगस्टको अन्त्यसम्म ८९ प्रतिशत पुगेको छ भने खाद्यान्नको मूल्यवृद्धि १२७ प्रतिशतभन्दा बढी भएको तथ्यांक केन्द्रले जनाएको छ।
- पेट्रोलको मूल्यवृद्धि, अमेरिकी प्रतिबन्ध, समुद्री नाकाबन्दी र अवरुद्ध यातायातले इरानी जनजीवन थप कठिन बनेको र परिवारहरू उपभोग घटाउन बाध्य भएको छ।
तेहरान (इरान) । सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो ।
सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो ।
त्यसपछि सन् १९८० को दशकमा छिमेकी इराकसँग आठ वर्षसम्म चलेको कठोर युद्ध, नवगठित इस्लामिक गणतन्त्रले अघि बढाएको सांस्कृतिक क्रान्ति, राजनीतिक बन्दीहरूको हत्या, प्रतिबन्ध र आर्थिक अनिश्चितता देखियो ।
पूर्वी तेहरानमा आफ्ना आमाबुबासँग बस्ने २३ वर्षीय बर्दियाका अनुसार, अहिले उनीजस्ता युवाले सन् १९८० को दशकको पुस्ताभन्दा पनि कठिन अवस्था भोगिरहेको महसुस गर्छन् । बढ्दो प्रतिबन्धका कारण रोजगारी बजार थप अस्थिर बनेको र महँगी बढिरहेको उनको भनाइ छ ।
‘स्वतन्त्र भएर बस्नु, परिवार सुरु गर्नु, देश छाडेर विदेश जानु, घर, पसल, गाडी वा नयाँ फोनसमेत किन्नु दिनप्रतिदिन टाढाको सपना बन्दै गएको छ,’ उनले सुरक्षा कारण आफ्नो नाम नखुलाउने सर्तमा अलजजिरालाई बताए ।
दशकौँदेखिको समस्या
दशकौँदेखि जारी आन्तरिक कुशासन र भ्रष्टाचारसँगै बाह्य हस्तक्षेपले करिब ९ करोड इरानीको जीवन कठिन बनाएको छ । यो अवस्था फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गर्नुअघिदेखि नै थियो ।
यस वर्ष अमेरिकाको महिनौँ लामो बमबारी, थप कडा बनाइएका प्रतिबन्ध र समुद्री नाकाबन्दीले अवस्था झन् बिगारेको छ । यसका अतिरिक्त जनवरीमा भएका सरकारविरोधी प्रदर्शन तथा सरकारले इन्टरनेट प्रयोगमा लगाएका प्रतिबन्धले पनि जनजीवन प्रभावित पारेका छन् ।
गत साता सरकारले पेट्रोलको मूल्य बढाएको छ । यसले महँगी थप बढाउने अनुमान गरिएको छ । अहिले ‘सुधार आउनुअघि अवस्था झन् बिग्रने’ धारणा आमरूपमा देखिन्छ ।
तेहरानको डाउनटाउनस्थित एउटा क्याफेमा काम गर्दै बिजनेस एडमिनिस्ट्रेसन पढिरहेका बर्दियाका लागि दैनिक जीवन चलाउनसमेत कठिन भइरहेको छ ।

पेन्सनभोगी उनका बुबाले अनलाइन राइड–हेलिङ एपमार्फत काम गरिरहेका छन् । उनीसँग १५ वर्ष पुरानो र कम गुणस्तरको इरानी कार छ । उनकी आमा कपडा उद्योगकी सेवानिवृत्त कर्मचारी हुन् र घरमै कहिलेकाहीँ सिलाइ गरेर आम्दानी गर्छिन् ।
सरकारी नगद अनुदान र खाद्य सहायता जोड्दा परिवारसँग महिनामा करिब ८० करोड रियाल अर्थात् हालको विनिमय दरअनुसार करिब ३५० डलर हुन्छ । तर, दैनिक खर्च तीव्र रूपमा बढिरहेको छ ।
‘हामीले प्रत्येक ६ देखि ८ हप्तामा एकपटक मात्र मासु किन्छौं,’ बर्दियाले भने । अब उनीहरूको परिवारले बाहिर खाना खान, टेकअवे किन्न, नयाँ कपडा वा घरायसी उपकरण खरिद गर्न सक्दैन । औषधिको खर्चले घरको बजेट नै नबिगारोस् भन्ने उनीहरूको चिन्ता छ ।
इरानको तथ्यांक केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अगस्टको अन्त्यसम्म वार्षिक मुद्रास्फीति ८९ प्रतिशत पुगेको थियो । खाद्यान्नको मूल्यवृद्धि भने अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२७ प्रतिशतभन्दा बढी थियो ।
इरानको राष्ट्रिय मुद्रा रियाल पनि निरन्तर कमजोर भइरहेको छ । गत साता तेहरानको खुला बजारमा एक अमेरिकी डलरको मूल्य १३ लाख ७० हजार रियालभन्दा माथि पुग्दै नयाँ न्यूनतम बिन्दुमा पुगेको थियो ।
आइतबार भने दर केही सुधार भएर करिब १३ लाख १० हजार रियालमा झरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार होर्मुज स्ट्रटबाट सीमित आवागमन सहज बनाउने विषयमा ओमानसँग समझदारी बन्नसक्ने सम्भावनाका कारण यस्तो सुधार देखिएको हो ।
तर, तेहरानले होर्मुज, नाकाबन्दी हटाउने, प्रतिबन्ध फुकुवा गर्नेलगायत आफ्ना सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान कायमै राखेको छ ।
यसैबीच समुद्री नाकाबन्दीका कारण इरानको अधिकांश तेल निर्यात रोकिएको छ । अमेरिकी प्रतिबन्ध र क्षेत्रीय तनावका कारण हवाई, स्थल तथा रेलमार्ग पनि अवरुद्ध वा प्रभावित छन् । यसले इरानी जनजीवनलाई थप कठिन बनाएको छ ।
एक इरानी प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई याद छ, मेरो बुबाले १ करोड तोमान (१० करोड रियाल, अहिलेको मूल्यमा करिब ४३ डलर) मा गाडी किन्नुभएको दिन । मलाई यो पनि याद छ, मेरो बुबाले १ करोड तोमानमै जग्गा किनेको दिन । आज उहाँ घरमा थोरै मासु लिएर आउनुभयो र त्यसको मूल्य पनि १ करोड तोमान भएको बताउनुभयो । म स्तब्ध छु । म केवल २४ वर्षको हुँ र मैले यी सबै देखिसकेको छु !’
पछिल्ला केही सातामा इरानीहरूले थोरै मात्रामा खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु किन्दा तिरेको अत्यधिक रकम देखाउँदै बनाएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
तर कतिपयले गुनासो गर्नुको सट्टा व्यंग्यात्मक रूपमा आफूहरू खुसी रहेको बताएका छन् । उनीहरूका अनुसार सरकारविरुद्ध विरोध प्रदर्शन गरे जेल हालिन वा मृत्युदण्डसमेत हुनसक्ने जोखिम छ ।
गत साता इरानी सरकारी टेलिभिजनले यस्ता भिडियोहरू इस्लामिक गणतन्त्रलाई उल्ट्याउन ‘दंगा भड्काउने’ प्रयास गर्नेहरूको ‘नयाँ परियोजना’ भएको टिप्पणी गरेको थियो ।
‘सहनशीलता क्षय हुँदैछ’
दशकौँको दबाबका बाबजुद इरानको अर्थतन्त्रले राजनीतिक उथलपुथल, प्रतिबन्ध, मुद्रा उतारचढाव र मध्यपूर्वमा सबैभन्दा घातक बनेको कोभिड–१९ महामारीका बीच उल्लेखनीय रूपमा टिकाउपन देखाएको छ ।
तर एक वर्षभन्दा कम अवधिमा इरानीहरूले ऊर्जा संकट र अमेरिका तथा इजरायलबाट सुरु भएका दुई युद्धसमेत भोगिसकेका छन् ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित अन्य नेताहरूले वर्तमान ‘न युद्ध, न शान्ति’को अवस्थाको अन्त्य गर्नुपर्ने इच्छा पटक–पटक व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्तो अवस्थाले इरानी जनतामा अनिश्चितता बढाउनुका साथै अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ ।
अर्थशास्त्री तथा बजार विश्लेषक बेहनाम सामादीका अनुसार राजनीतिक र आर्थिक अनिश्चितताको ठूलो मूल्य इरानले चुकाइरहेको छ । सरकार र परिवार दुवैका लागि अवस्था सुधार गर्न निर्णायक कदम चाल्न कठिन भइरहेको उनको भनाइ छ ।

‘परिवारहरू दीर्घकालीन योजना बनाउनुभन्दा आफ्नो क्रयशक्ति जोगाउन केन्द्रित छन् । व्यवसायहरूले नयाँ लगानी गर्नुको सट्टा जोखिम व्यवस्थापन र विद्यमान सञ्चालनलाई निरन्तरता दिन बढी स्रोत छुट्याइरहेका छन्,’ उनले उनले अलजजिरासँग भनेका छन्, ‘सरकार पनि सामाजिक सहायता, विदेशी मुद्रा व्यवस्थापन र संकट समाधानमा थप स्रोत खर्च गर्न बाध्य छ ।’
अहिले धेरै इरानीहरू इरानको अर्थतन्त्र कहिले धराशायी हुन्छ भन्ने प्रश्न गरिरहेका छैनन् । बरु वर्तमान खस्किँदो अवस्था अझ कति समयसम्म टिक्नसक्छ र त्यसको मूल्य कति चुकाउनुपर्ने हो भन्ने चिन्ता गरिरहेका छन् ।
परिवारहरूले आफ्नो जीवनशैली र उपभोगको ढाँचा क्रमश: परिवर्तन गरिरहेका छन् । मनोरञ्जन, शिक्षा र स्वास्थ्य सेवामा समेत खर्च घटाइएको छ । उधारोमा खरिद गर्ने तथा किस्ताबन्दीमा सामान लिने प्रवृत्ति तीव्र रूपमा बढेको छ । यसरी इरानीहरूले वर्तमान आर्थिक दबाबको केही हिस्सा भविष्यतर्फ सारिरहेका छन् ।
‘सायद सबैभन्दा सही वर्णन यही हो कि इरानी परिवारहरू परिस्थितिसँग अनुकूलित भइरहेका छन् । तर यसको अर्थ उनीहरूको जीवनस्तर यथावत् छ भन्ने होइन,’ अर्थशास्त्री समादी भन्छन्, ‘इरानको आर्थिक सहनशीलताको ठूलो हिस्सा घट्दो उपभोग, कम बचत र परिवारको कल्याणमा आएको गिरावटका कारण टिकिरहेको छ ।’
उनी अगाडि भन्छन्, ‘र, यही विषयमा ध्यान दिन आवश्यक छ– यदि यो अवस्था निरन्तर रह्यो भने आज हामीले ‘सहनशीलता’ भनेको कुरा क्रमश: ‘सहनशीलताको क्षय’मा परिणत हुनसक्छ ।’
(अलजजिरामा प्रकाशित सामाग्रीको भावानुवाद)
प्रतिक्रिया 4