+
+
Shares

लमजुङमा धेरै भारी र ११ जिल्लामा भारी वर्षा

लमजुङमा धेरै भारी वर्षा भएको छ भने काठमाडौं, सिन्धुपाल्चोक, कास्की, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुमपश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते ७:११

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका केही ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङमा धेरै भारी वर्षा भएको छ भने कास्की, सिन्धुपाल्चोक, काठमाडौं लगायत धेरै ठाउँमा भारी वर्षा भएको छ ।

महाशाखाका अनुसार लमजुङको फलेनीमा ११६.२ मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेशनमा ९१.४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, कास्कीको याङ्जाकोटमा ९३.२ र सिकलेसमा ८३.४, सिन्धुपाल्चोकको ढुंगे र काठमाडौंको सुन्दरीजल स्टेशनमा ८९.६/८९.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ५० मिलिमिटर भन्दा धेरै अर्थात भारी वर्षा हुने जिल्लाहरू धेरै रहेका छन् । स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुमपश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

आज पनि देशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?