म जे कुरा लेख्दै छु, त्यो सीधै लेखेको भए हुन्थ्यो ।
अर्थात् त्यो पुरानो चिहानको कुनै कुनाबाट कुरा सुरू गरेको भए राम्रो हुन्थ्यो ।
तर, म चाहन्छु, मेरो मालिक नामदोङ फ्यूको बारेमा केही बताऊँ । उसको बारेमा बताउन यस्तै स-साना अवसर खोजिरहेको छु ।
***
नामदोङ फ्यू साउथ कोरियाको नेम्यान भन्ने ठाउँको सामान्य किसान हो ।
थोरै जमिन छ । वर्षको पाँच महिना मात्र जमिनमा काम हुन्छ । बाँकी दिन ज्यालादारी काममा भौंतारिन्छ ।
अरू किसानको जस्तो ऊ सँग कार छैन ।
सामान ओसार्ने एउटा पिकअप ट्रक छ । जसमा दुःख-सुख यात्रा गर्छ ।
ठूलो परिवार छ । दुई छोरा । एक छोरी । बूढा बा-आमा र श्रीमती । छोराछोरी सबै विद्यार्थी हुन् । कलेज स्कूलको पढाइ खर्च कोरियामा महँगो छ ।
बा-आमाले आम्दानीको लागि काम गर्न सक्दैनन् । तर, आफ्नो पेट आफैं पाल्छन् । कोरियामा वृद्धहरूको लागि सरकारी सुविधा छ । तर, उनीहरूले लिएका छैनन् । कामै गर्छन् । सायद स्वाभिमानको गहिरो असर हृदयमा छ ।
मे महिनादेखि सेप्टेम्बरसम्म मात्र खेतबारीको काम हुन्छ । त्यसपछि जमिन जमेर बरफ बन्छ । म जस्ता विदेशी कामदारहरू ओरालो झर्छन् । स्थानीय किसान पनि ज्यालादारी काम गर्न दक्षिणतिर सर्छन् ।
गाउँ शून्य हुन्छ ।
नामदोङलाई प्लास्टिकका घरहरू बनाउन आउँछ । जाडो लागेपछि दक्षिणतिर झरेर प्लाष्टिकका घर बनाउने काम गर्छ, जसभित्र खेती गरिन्छ ।
वर्षैपिच्छे उसले म जस्ता विदेशी कामदार ल्याउँछ । तर, पाँच महिना मात्र काम दिन सक्छ । पाँच महिनापछि ऊ आफैंले ‘जव सेन्टर’मा लगेर कामदार छाडिदिन्छ ।
यस ठाउँमा नामदोङले मात्र हैन, अरू-अरू किसानले पनि यसै गर्छन् । सालैपिच्छे नयाँ कामदार ल्याउनु । काम सिकाउनु । भाषा सिकाउनु । गाह्रो काम हो । तर, यस भेगमा अरू विकल्प छैन ।
ऊ प्रत्येक वर्ष, काँक्रा र केप्सिकनले राम्रो भाउ भेट्यो भने कार किन्ने योजनामा हुन्छ । तर, जुलाईको अन्तिमतिर काँक्राको भाउ घट्छ ।
म आउनुभन्दा अघिल्लो साल पनि यसै भएछ । त्यस सालको परार पनि र त्यसको परार पनि ।
नामदोङ खुसी भएको बेला आफ्नो योजना मलाई सुनाउँछ । म सुन्छु । ऊ हलुका बन्छ ।
२०१४ जुलाई लागेपछि काँक्राको भाउ घट्यो । त्यस साल पनि उसले कार किनेन । ठीकठाक भन्न सक्दिनँ, नामदोङले अझै कार किन्यो कि किनेन ! उसलाई एक पल्ट पनि भेट्न जान भ्याएको छुइनँ । कोरिया छाड्नुअघि नामदोङलाई एक पल्ट भेट्न चाहन्छु ।
२०१४ सेप्टेम्बर १५ पछि नेम्यानमा चिसो बढ्यो । सागपात मर्यो । जमिन जम्यो ।
मलाई नामदोङले ‘जव सेन्टर’मा लगेर छाडिदियो । ‘जव सेन्टर’ जानुअघि मलाई बेस्मारी फकायो ।
आफ्नो दु:ख पोख्यो – ‘हेर, मेरो बारीमा अब काम छैन । तैंले देखेको छस्, जताततै बरफ जमेको छ । काँक्रा मर्यो । खुर्सानी सुक्यो । अब तलब दिन सक्दिनँ । म पनि काम खोज्न दक्षिणतिर झर्छु । तँ जव सेन्टर जा । अर्को काम खोज् । मेरोमा भन्दा राम्रो काम पाउँछस् । पैसा धेरै हुन्छ । धेरै पैसा कमाएर घर फर्की । खुसी हो । हेर्, जव सेन्टरमा गएर साहुले काम छैन, जा भन्यो नभन् । आफ्नै खुसीले छाड्न लागेको भन् । तैंले काम छैन भनिस् भने आगामी वर्ष जव सेन्टरबाट कामदार पाउँदिनँ । मलाई गाह्रो हुन्छ ।’
म फकिएँ । उसले भनेको मानेँ । यसरी फकिँदा मलाई घाटा हुन्छ, तर ठूलो घाटा हैन । सानो घाटा सहने मेरो बानी हो ।
त्यसपछिका यी दुई वर्ष उसले लगालग नेपाली कामदार ल्याएको छ ।
शंकालु छ –
मैले केही नराम्रो कुरा गर्छु र कामदार भड्काइदिन्छु भन्ठान्छ । नेपाली कामदारसँग मलाई सम्पर्क गराउँदैन ।
मैले दराजको खापामा नेपाली अंकमा फोन नम्बर लेखिछाडेको छु । ऊ सँग काम गर्न आउने नेपालीसँग मेरो सम्पर्क हुन्छ ।
उनीहरू आत्तिँदै फोन गर्छन्- ‘दैनिक १६/१७ घण्टा काम । ट्वाइलेट राम्रो छैन । खाना मीठो छैन । भाषा बुझिँदैन । कराइरहन्छ । इन्टरनेट छैन । बजार छैन । पसल छैन । कसरी बाँच्ने !’
काममा बानी नभएका नेपालीहरूको लागि यति कुरा ‘यातना गृह’ बराबर हो । को मूर्ख रमाउँछ यातना गृहमा !
म आफ्नो अनुभव बताउँछु । उनीहरूले सान्त्वना पाउँछन् ।
मैले नामदोङलाई असल मान्छे भनेको छु । खराब भनेको छुइनँ । ऊ असल नै छ, तर एकदम असल चाहिँ हैन ।
लोभी छ –
मलाई तलब दिएको दिन ऊ खुसी हुन्थ्यो । मलाई बजार लिएर जान्थ्यो । ‘तलब पाएको उपलक्ष्यमा के खुवाउँछस् ?’ सीधै सोध्थ्यो ।
म चिकेन किन्थेँ, ऊ दुई बोतल बियर किन्थ्यो । म चाजाङ् (एक किसिमको कोरियन परिकार) किन्थेँ । ऊ दुई बोतल सोजु (रक्सी) किन्थ्यो । म चाङ्पोङ (थुक्पा) किन्थेँ । ऊ एक बोतल बियर किन्थ्यो । बाँडेर खान्थ्यो ।
कहिलेकाहीँ रक्सी र सितनको सप्पै जिम्मा मलाई लाएर होटल मालिकलाई हतार छ, छिटो गर्नुस् भन्ने आदेश दिन्थ्यो ।
अलि मुडी टाइपको छ । छिटो रिसाउँछ । छिटै खुसी हुन्छ । श्रीमतीसँग पनि रिसाउँछ । गाउँलेसँग पनि रिसाउँछ । कराइरहन्छ । यो उसको बानी हो । मैले उसको बानीलाई स्विकारेको छु । (यसरी बुझे पनि हुन्छ, विद्रोह गर्न नसकेर स्विकारेको ।) ऊ मसँग जति रिसाउनुपर्ने थियो, त्यति चाहिँ रिसाएन ।
बराबर औकात भएको मान्छेसँग रिसाउन जति मजा हुन्छ त्यति मजा आफूभन्दा कम वा धेरै औकात भएको मान्छेसँग रिसाउँदा हुँदैन । जस्तै म डोनाल्ड ट्रम्प वा कुनै मगन्तेसँग रिसाएर के काम !
हाम्रो भाषा, सोचाइ, संस्कृति, खानपान केही पनि मिल्दैन ।
म कविता सोच्छु । किताब सोच्छु । फिल्महरू सोच्छु । कतै घुम्ने कुरा सोच्छु । साथीभाइको कोलाज सोच्छु ।
नामदोङ खेतबारी सोच्छ । काम सोच्छ । बोटविरूवाको बारेमा सोच्छ । समय सोच्छ ।
यस्तो केही नमिल्ने मान्छेसँग रिसाएर के मजा !
बेस्मारी गाली गर्नु, हेप्नुमा पनि आनन्द छ । तर, उसले मलाई गाली गरेर आनन्द लिन सकेन । हेपेर रमाउन सकेन । यसकारण मसँग धेरै रिसाउन पाएन ।
नामदोङ काम माया मार्दैन, तर निद्रा माया मार्छ । समय माया मार्दैन, तर आराम माया मार्छ । कहिलेकाहीँ रक्सी पिउनुपरे राति एघार बजेपछि मात्र भट्टी छिर्छ ।
नामदोङको सागबारीमा काम गर्न थालेको पूरै चार महिना बित्यो ।
अलिअलि दैनिकी बुझ्न सक्ने भएँ ।
नामदोङको बानी थाहा पाएँ । उसकी छुच्ची श्रीमती हाँस्दा र रिसाउँदा कस्ती देखिन्छे, ख्याल गर्न सक्ने भएँ ।
यहाँका गाउँलेहरूले पनि मलाई चिन्न थाले । कतिले मेरो नाम पनि याद गर्न सके । केहीले चाहिँ नेपाल साराम (नेपाली मान्छे) मात्र भन्न सके । धेरै बोधा दिमाग भएकाहरूले चाहिँ ‘बोधराज’ भन्न जानेनन् ।
यो पाँच महिनामा एकदिन पनि छुट्टी पाएको छुइनँ ।
दैनिक कामैकाम ! उठेदेखि सुतेसम्म । सुत्ने समय दिनको एक चोथाइ ।
***
एकदिन मध्याह्न नामदोङको दैनिकी बिथोलियो ।
दिउँसोको खाना खाएर मलाई चिसै हात काममा जा भनेन ।
तर, उसका आँखा शान्त थिएनन् । अनुहारको रङ एकदम हतारमा थियो । श्रीमतीसँग छिटोछिटो बोलिरहेको थियो । स्वर ढुङ्गामा फलाम रगडे जस्तो नमीठो थियो ।
प्रत्येक दिन सक्नैपर्ने काम हुन्छ । कुनै हालतमा छाड्न मिल्दैन । नसक्नुको विकल्प छैन ।
तर, नामदोङले आज दिउँसो नियमित काम हापिदियो । मलाई गाडीमा चढ्ने इसारा गर्यो ।
गाडीमा चढेपछि जिस्किँदै सोधेँ- ‘हामी कता घुम्न जाँदै छौं ? समुद्रतिर ?’
पहिले एक पल्ट साँझको बेला मलाई समुद्र घुमाउन लिएर गएको छ । फेरि कुनै दिन लैजान्छु भनेको थियो । मैले त्यही सम्झेँ ।
नामदोङको औंला पहाडको बीचतिर पर्ने गरी तेर्सियो ।
मैले बुझेँ, पहाडमा कुनै काम छ ।
***
कोरिया आएको पन्ध्र दिन भएको थियो । नामदोङले मलाई उसको साथीकोमा लिएर गयो ।
नामदोङ, उसको साथी र म भएर खोलामा माछा मार्यौं ।
त्यस दिन म खुब रमाएको थिएँ ।
टन्नै माछा मार्यौं ।
नामदोङको साथीले समातेको माछा पनि हामीलाई नै दियो ।
बेलुका नामदोङकी श्रीमतीले माछा उसिनी । त्यति नमीठो माछा कहिल्यै खाएको थिइनँ । माछा खाएर पहिलो पल्ट छादेँ ।
नामदोङ गाडी लिएर त्यही साथीको घर पुग्यो ।
उसको साथी रक्सी नखाई बस्न सक्दैन । बिहानैदेखि पिउँछ । काम गर्ने ठाउँमा पनि रक्सी लिएरै जान्छ । पिएरै काम गर्छ ।
नामदोङ र उसको घर अलि टाढा भए पनि बारीका सँधियार हुन् । यसकारण उसको रक्सीको मात मैले देखेको छु । बडो प्रेमिल छ ।
अहिले पनि मातेकै छ ।
नामदोङले साथीलाई केही भन्यो । सबै बुझिनँ ।
तर, उसको साथीले ‘व्यस्त छु, जान सक्दिनँ’ भनेको चाहिँ बुझेँ ।
त्यसपछि नामदोङ र म खोलाको किनारैकिनार उकालो लाग्यौं । पहाडको फेदमा पुगेपछि बाटो सकियो ।
उसले गाडी रोक्यो । गाडीबाट दुई वटा हँसिया निकाल्यो । दुइटै हँसिया उसैले बोक्यो ।
ऊ अघि-अघि हिँडेको छ । उसको पाइला कुल्चँदै म हिँडेको छु । लहरालुहुरी काट्छ । बाटो बनाउँछ । पोथ्रालाई मुन्ट्याउँदै जमिनमा फाल्छ ।
चुप छ । संवाद छैन । धेरै दिनपछि नामदोङ यसरी मौन बसेको छ । शान्त देखिएको छ ।
उकालै उकालो चालीस मिनेट हिँडेपछि मैले सोधेँ- ‘हामी कहाँ जाँदै छौं ?’
उ.. माथि । उसले औंला देखायो ।
तर, इसारा झाडीमा बिलायो । अरू केही भनेको थियो, बुझिनँ । मेरो दिमागले टिपेन । मैले बुझिनँ भन्ने उसले थाहा पायो ।
एक छिन मौन उभियो । मलाई बुझाउन सक्ने कुनै जुक्ति सोच्यो । जिभ्रो निकाल्यो । आँखा पल्टायो र मान्छे मरेको संकेत गर्यो ।
को मर्यो यो जंगलमा ? म ठीक यही वाक्य सोध्न चाहन्थेँ । तर, कोरियन भाषामा यो वाक्य बनाउन सकिनँ ।
मलाई डर लाग्यो । भयंकर डर !
जंगलमा मान्छे मर्दा पुलिस किन आएन ? नामदोङ किन आयो ? फेरि मलाई नै लिएर किन आयो ? उसको रक्स्याहा साथीले किन भ्याउँदिनँ भन्यो ?
मनले अनेक प्रश्नहरुको चाङ लगायो ।
कतै अघि मलाई मार्छु पो भनेको हो कि ! के थाहा ?
यो दूर देशको अनकान्टर जंगलमा गर्धनमा हँसिया हान्यो भने ! मारेर झाडीतिर फालिदियो भने ! कसले खोज्ने मलाई ?
कोरियामा अरू नेपाली साथीहरूसँग मेरो सम्पर्क छैन । गुमनाम सास फेरिरहेको छु ।
मृत्यु पनि अब गुमनाम हुने भयो !
गिद्धले मेरो पचास किलोको ज्यान कति दिनमा खाइसक्ला ! मेरो गिदी खानेबेलामा गिद्ध बौलाओस् ।
मेरो निधारमा चिसा पसिना पलाए । कुनै फिक्सनको काल्पनिक पात्र जस्तो भएँ । नाडी चिमोटेँ । सासले गति लियो । मेरो सासको चापमा परेर पातहरू हल्लिए ।
नामदोङले पछाडि फर्केर छिटो आइज भनेर करायो ।
के भो भनेर सोधेन । थाकिस् कि भनेर सोधेन । हतार छ, छिटो गर् भनेर करायो ।
मैले आफ्नै हातको भित्ताले आयु नापेँ । एक अंगुल बाँकी छ जस्तो लाग्यो ।
गोडा फतक्कै गले । तर, नामदोङको आदेश मान्न छाडिनँ । छिटो-छिटो नामदोङको पाइला कुल्चँदै उकालो उक्लिएँ ।
मृत्युभन्दा ठूलो आदेश रहेछ । मैले आदेश मानेँ ।
म मरेको म बाहेक अरू कसले थाहा पाउने ? मरेपछि आफ्नै मृत्युको खबर कसरी सुनाउने ?
ए गिद्ध, मेरो एक टुक्रा हड्डी बोकेर मेरो पासपोर्टको ठेगाना पछ्याउँदै नेपाल राज्य पुगेस् ।
ए गिद्ध, बाटो पैल्याउन सजिलो हुन्छ, मेरा दुई आँखा पनि सँगै लगेस् ।
मान्छेको मनै त हो । अनेक सोचिदिन्छ ।
नामदोङको अनुहार हेरेँ । शान्त छ । रिस छैन । आवेग छैन । कथाहरूमा सुनेको र मूर्तिमा देखेको बुद्धको अनुहार जस्तै छ ।
यस्तो शान्त मान्छेले कसरी हान्ला मेरो घाँटीमा हँसिया ! कसरी रोक्ला मेरो सुन्दर सासको गति !
कुनै कथामा बुद्धले मान्छे मारेको सुनेको छैन ।
मेरो मन द्वन्द्वमा फस्यो । आफैं प्रश्न गर्छ, आफैं उत्तर दिन्छ ।
यसरी म नामदोङको पछि-पछि बीस मिनेट जति पूरै बौलाउँदै हिँडेँ ।
एउटा माटोको ढिस्को भेटियो । वरिपरि खनेर समथर बनाइएको छ । रूख-विरूवा काटिएको छ । ढिस्को वरपर बाक्लो भुइँझार पलाएको छ ।
थोरै खुला छ जमिन । जहाँबाट नामदोङको घर देखियो । खोङ्वाङ् गाउँ छर्लङ्ग देखियो । मान्छेहरू पनि देखिए ।
यो चिहानघर रहेछ । नामदोङको कान्छा बाजेको ! अघि मलाई कुरा बुझाउँदा मरेको मान्छे बस्ने घरतिर जाँदै छौं भनेको रहेछ ।
म बुद्धुले बुझिनँ र अनेक शंका/प्रश्नले बाटोभरि आफैंलाई रेटिरहेँ ।
***
कोरियामा दुई ठूला चाड हुन्- छुसक र सलनाल ।
छुसक हाम्रो दशैं पूर्णिमाको ठीक अगिल्लो पूर्णिमामा पर्छ । सलनाल मध्य हिउँदमा । लुनार क्यालेण्डरको नयाँ वर्ष र हाम्रो सोनाम ल्होसार यही हो ।
छुसकको मौसम ठीक हाम्रो दशैंको मौसम जस्तै सुन्दर हुन्छ । बिहान खेतबाट माटोको आलो बास्ना उसैगरी आउँछ । दुबोमा शीत उसैगरी खस्छ ।
मन उसैगरी फुरूङ्ग हुन्छ । खुसी उस्तै सानदार हुन्छ ।
रहर उस्तै नयाँ कपडा र मीठो खानामा अल्झिन्छ ।
आफन्तको यात्रा उस्तै हतारमा हुन्छ । ठीक हाम्रो जस्तै शहर झोला भिरेर गाउँ छिर्छ ।
गाउँका बुढाबुढीहरू छोराछोरी भेट्छन् । ठीक हाम्रै बा-आमा मुस्कुराए झैं मुस्कुराउँछन् ।
अरू मौलिक कुरा- यी दुवै चाडमा पुर्खाहरूलाई सम्झिन्छ ।
पुर्खाको समाधिस्थल सफा गरिन्छ । चिरिच्याट्ट पारिन्छ । आत्मशान्तिको कामना गरिन्छ । पुर्खाले मन पराउने खानेकुरा उनीहरूको चिहानघरमा लगेर चढाइन्छ ।
छुसक आउन दुई दिन बाँकी छ ।
यसकारण नामदोङ आफ्नो कान्छो हजुरबालाई भेट्न चिहानघर आएको रहेछ । कान्छा हजुरबाको कुनै सन्तान नभएकोले नामदोङले बाजेलाई चाडबाडमा अनिवार्य भेट्नुपर्ने रहेछ ।
मैले त अनेक कुरा सोचिभ्याएको थिएँ । सत्य यो रहेछ ।
नामदोङ कुनै धर्म मान्दैन । कोरियाको परम्परा ‘सिन्दो’ लाई मान्छ । यो कुनै औपचारिक धर्म हैन । स्वतन्त्र आत्मालाई मान्ने बाटो हो । यसले कुनै धार्मिक देवता पुज्दैन । पुर्खालाई मान्छ ।
सिन्दो परम्परा मान्ने मान्छे कोरियामा सबैभन्दा धेरै छन् । ५४ प्रतिशतभन्दा धेरै ।
म सिन्दो परम्पराबाट प्रभावित छु ।
मैले साथीभाइको बीचमा दिने ताजा गफ छ- ‘म धर्म मान्दिनँ । धार्मिक नास्तिक हुँ । तर, ईश्वर मान्छु । ईश्वरीय आस्तिक हुँ ।’
मैले यो कुरा सिन्दो परम्पराबाट प्रभावित भएर भनेको हुँ । मान्छे प्रत्येक कुराबाट प्रभावित हुनसक्छ । म सिन्दो परम्पराबाट प्रभावित भएँ । यसलाई गहिरो अध्ययन गर्ने रूचि छ । म तर्क गर्ने बाटो खोजिरहेको छु ।
नामदोङ र मैले बाजेको चिहान वरपरको झार उखेल्यौं ।
मैले माथि नै भनिसकेँ, नामदोङ लोभी छ । यसकारण पुर्खाको लागि राम्रो घर बनाएको छैन । ओत छैन । फूल रोपेको छैन । धूपी वा सल्लाको एउटा पनि रूख छैन ।
वर्षको दुई पल्ट मात्र नामदोङ यहाँ आउँछ । विधि पूरा गर्छ । यसपालि पनि उसै गर्यो । चिहान सफा गर्यो । पुर्खाको आत्मालाई ढोग्यो ।
उसले मलाई पनि ढोग्न भन्यो । ‘मैले किन ढोग्ने ?’ सोधेँ ।
छातीमा दायाँ हात राखेर भन्यो, खुसी हुन । सायद उसले आत्मा खुसी हुन्छ भनेको हो । मैले बुझेँ ।
सोधेँ, कसरी ढोग्ने ?
उसले मलाई यसरी-उसरी भनेन । ‘तेरो घरमा पुर्खालाई कसरी ढोग्छ, उसैगरी ढोग् ।’ उसले मलाई स्वतन्त्र छाडिदियो ।
‘मेरो घरमा श्राद्ध गर्ने चलन छ । बाले हजुरबाको श्राद्ध गर्नुहुन्छ । तर, कसरी ढोग्ने भनेर मलाई थाहा छैन,’ म यी वाक्य उसलाई भन्न चाहन्थेँ ।
तर, कोरियन भाषामा यी वाक्य बनाउन सकिनँ । वाक्य घाँटीमा गाँठो पर्यो ।
छेगानुन मोथ्थे यो । (मलाई आउँदैन)
उसले दुई घुँडा टेक्यो । टाउको जमिनमा राख्यो । एकछिन ध्यानको मुद्रामा घोप्टो पर्यो ।
मैले नक्कल गरेँ । नामदोङको बाजेलाई ढोगेँ ।
कहाँ दूर देशको मान्छे आएर मलाई ढोग्यो भन्ठानेर उसको बाजे खुसी भयो होला । आत्मा रमायो होला । उहिले खान पुग्दैन थियो, खेतमा आफ्नै लागि काम पुग्दैन थियो । उत्पादन थिएन । नातिले विदेशी कामदार राख्न सक्ने भएछ भनेर नामदोङको कान्छा बाजे खुसी भयो होला ।
नामदोङको बाजेलाई ढोगेँ । तर, आँखामा आफ्नै हजुरबाको अनुहार आयो । कसैगरी नामदोङको हजुरबाको अनुहारको काल्पनिक स्केच आँखामा तयार भएन ।
बाको दराजमा राखेको हजुरबाको ब्ल्याक एण्ड ह्वाइट फोटोको अनुहार कुदाकुद गर्दै मेरो आँखामा आएर खस्यो । हजुरआमाको अनुहार पनि आयो ।
हजुरआमालाई चाहिँ थोरै समय भए पनि जीवितै देख्न पाएको थिएँ । हजुरआमाको मृत्युपछि निकै दिनसम्म हजुरआमा कहिले आउनुहुन्छ भनेर घरमा हैरान पारेको थिएँ ।
आमा बार्दलीबाट जून देखाएर भन्नुहुन्थ्यो, ‘उ: त्यहाँ जानुभएको छ । तैंले थुप्रै कक्षा पढेपछि आउनुहुन्छ । राम्रोसँग पढ् ।’
म खुरूखुरू पढ्न बस्थेँ ।
पछि मैले मृत्युबारे बुझेँ । आमाको सम्झाउने कला पनि बुझेँ । त्यति कलात्मक तरिकाले चुप बनाउन सक्ने आमा बाहेक यो दुनियाँमा अरू कुनै मास्टर हुँदैन ।
मेरो हजुरबा-हजुरआमा पनि खुसी हुनुभो होला, नातिले कोरियन चिहानमा मलाई सम्झ्यो भनेर ।
नामदोङले चिहानमा चढाउन कुनै खानेकुरा लिएर गएको थिएन । रीत अनुसार खानेकुरा त अनिवार्य चढाउनुपर्छ ।
फर्कन लाग्दा नामदोङ्लाई सोधेँ, ‘किन बाजेलाई खानेकुरा नदिएको ?’
नामदोङले जिस्किँदै भन्यो, ‘मर्ने बेला बाजेको कुनै दाँत थिएन, त्यस कारण चपाउन सक्दैनन् ।’
‘अनि रक्सी ?’ फेरि सोधेँ ।
‘खाँदैन थिए ।’
उसले मलाई फेरि जिस्क्याउँदै भन्यो, ‘तँलाई दिन मन लागेको भए बजारबाट किनेर ल्याएर दे ।’
मेरो खल्तीमा एउटा चुइङ्गम थियो । नामदोङको बाजेलाई त्यही चुइङ्गम चढाएँ ।
नामदोङ हाँस्यो । बेलुका खाना खाने बेलामा मैले चिहानमा चुइङ्गम चढाएको कुरा उसको परिवारलाई सुनायो ।
नामदोङकी आमा, जो मलाई असाध्यै माया गर्छिन् । तास झैं पातलो मेरो गाला सुमसुम्याएर हाँसिन् ।
म खुसी भएँ ।
***
ए साँच्ची, त्यो चुइङ्गम नामदोङको बाजेको आत्मामा पुग्यो कि मेरो आफ्नै हजुरबा-हजुरआमाको आत्मामा पुग्यो !
चिहान थियो नामदोङको बाजेको । सम्झेको थिएँ, आफ्नै पुर्खाको आत्मा ।
म स्वार्थी थिएँ कि सत्य थिएँ !