Comments Add Comment

भारतीय कवि कुंवर नारायणका पाँच कविता

१. पर्खालहरु

अहिले म एउटा सानो घर
अनि धेरै ठूलो दुनियाँमा बस्छु

कुनैबेला म एउटा विशाल घर
अनि सानो दुनियाँमा बस्ने गर्थेँ

थोरै पर्खालहरुले
धेरै फरक पर्छ

पर्खालहरु नहुँदा हुन् त
दुनियाँभन्दा ठूलो हुन्छ घर ।

२. सामान्य जिन्दगी बाँचेर

म जान्दछु
संसारलाई बदल्न सक्दिनँ
न त लडेर नै
उसलाई जित्न सक्छु

हो, लड्दै-लड्दै शहीद बन्न सक्छु
अनि त्योभन्दा बढी
एक शहीदको समाधि
वा एक कलाकार जस्तै भव्य

तर शहीद हुनु
बिछट्टै बेग्लै प्रकारको विषय हो

एकदम सामान्य बाँचेर पनि
मान्छेहरु चुपचाप शहीद भएको देखिएको छ ।

३. प्रबन्ध

हिजो फेरि एउटा हत्या भयो
विचित्र परिस्थितिमा ।

म अस्पताल गएँ
तर त्यो ठाउँ अस्पताल थिएन
त्यहाँ मैले डाक्टरसँग भेटेँ
तर त्यो व्यक्ति डाक्टर थिएन
उसले नर्ससँग केही भन्यो
तर त्यो महिला नर्स थिइन ।
त्यसपछि उनीहरुले मलाई अपरेशन-कक्षमा लगे
तर त्यो ठाउँ अपरेशन-कक्ष थिएन ।
त्यहाँ बेहोश पार्ने डाक्टर
पहिलेदेखि नै तम्तयार थियो- तर ऊ पनि
खासमा कुनै अर्कै मानिस थियो ।

त्यसपछि त्यहाँ अधमरो बच्चा ल्याइयो
जो बिरामी होइन, भोको थियो ।

डाक्टरले टेबलबाट
अपरेशन गर्ने चक्कु उठायो
तर त्यो चक्कु होइन
खिया लागेको भयानक चक्कु थियो ।

चक्कु बच्चाको पेटमा रोप्दै उसले भन्यो-
अब यो एकदम ठीक हुनेछ ।

४. कविता

कविता वक्तव्य हैन, साक्षी हो
कहिले हाम्रो सामुन्ने
कहिले हामीभन्दा पहिले
कहिले हामीभन्दा पछाडि

भाषामा कविताको बयान
कसैले चाहे पनि रोक्न सक्दैन
जसको पूरा अर्थ हो- सत्य
जसको पूरा प्रयास हो- राम्रो मानिस

कवितालाई कुनै हतार छैन
कि ऊ विज्ञापनहरु जस्तै टाँसियोस्
जुलुसहरु जस्तै निस्कियोस्
नाराहरु जस्तै गुञ्जियोस्
अनि चुनावहरु जस्तै जितोस्

कविता मान्छेको भाषामा
कतै कुनै रुपमा बाँचोस्, बस् !

५. घण्टी

फोनको घण्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
ढोकाको घण्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
अलार्मको घण्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ

एकदिन
मृत्युको घण्टी बज्यो…
आत्तिँदै उठेर बसेँ-
म छु… म छु… म छु…
मृत्युले भन्यो-
कोल्टे फेरेर सुत ।

हिन्दीबाट अनुवाद: जोतारे धाइबा

  • सन् १९२७ सेप्टेम्बर १९ (फैजावाद, उत्तरप्रदेश) मा जन्मिएका कुंवर नारायण इतिहास र मिथकमार्फत वर्तमानलाई हेर्ने विशिष्ट सर्जक मानिन्छन् । मुख्य विधा कविता भए पनि उनले लेख, कथा, समीक्षा पनि लेखेका छन् । ‘चक्रव्यूह’, ‘तीसरा सप्तक’, ‘अपने सामने’, ‘कोई दूसरा नहीं’, ‘इन दिनों’ लगायत कवितासंग्रह, ‘आकारों के आसपास’ कथासंग्रह तथा ‘आज और आज से पहले’, ‘मेरे साक्षात्कार’ समीक्षा/विचार लेखसंग्रह लगायतका कृतिहरु प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment