२६ माघ,काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी संगठनहरुले क्याम्पसहरुलाई फ्रि वाइफाई जोन बनाउने र शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने एजेण्डालाई घोषणापत्रमा प्रमुखतासाथ उठाएका छन् ।
फागुन १४ गते त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत हुन लागेको स्ववियु निर्वाचनका लागि प्रमुख विद्यार्थी संगठनले आ आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले बुधवार प्रतिबद्धतापत्र सार्वजनिक गरे ।
अनेरास्ववियुले बागबजारस्थित हार्दिक होटलमा र क्रान्तिकारीले पनि बागबजारको ताज होटलमा अलग अलग कार्यक्रम गरि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । दुवै संगठनले प्रमाणपत्र धितो राखेर ऋण पाउने एजेण्डालाई मुख्य रुपमा उठाएका छन् ।
त्यस्तै क्याम्पसहरुलाई फ्रि वाइ फाइ जोन बनाउने, क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण कायम गर्ने जस्ता साझा नारा दुवैका घोषणापत्रमा उल्लेख छन् । प्रतिबद्धतापत्रमा क्याम्पसको शौचालय सफा गर्नेदेखि विश्वविद्यालयका पाठ्यक्रम परिमार्जन गर्ने सम्मका नारा समेटिएका छन् ।
‘यातायातमा विद्यार्थी छुटः अखिलको योगदान’
अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमालेका विद्यार्थी इन्चार्ज तथा अनेरास्ववियुका पूर्व अध्यक्ष रविन्द्र अधिकारीले विद्यार्थीलाई यातायात ३३ प्रतिशत छुटको व्यवस्था आफूले गराएको स्मरण गरे । उनले स्ववियुको स्थापनानै अखिलको अगुवाइमा भएकाले उसलाई निर्वाचनमा दोस्रो हुने छुट नभएको बताए ।
अखिलले यातायात र मनोरन्जनमा विद्यार्थीलाई छुट दिलाउने,प्रमाणपत्र धितो राखेर ऋण दिलाउने जस्ता उपलब्धी आफ्नो कारण प्राप्त भएको भन्दै आउने चुनावमा अखिलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ । अखिल अध्यक्ष नविना लामाले आफ्नो संगठन बिगतदेखिनै स्ववियुमा पहिलो शक्ति रहेकाले यसपटक थप शसक्त हुने दावी गरिन् ।
अनेरास्ववियुले उम्मेदवारी चयन तथा चुनाव परिचालनका लागि केन्द्रीय नेताहरुलाई बिभिन्न क्याम्पसमा खटाएको छ । सबैलाई सर्कुलर सहित कार्यक्षेत्रमा खटाइएको र उम्मेदवारी चयनमा पनि खासै विवाद नरहेको महासचिव ऐन महरले बताए ।
सर्टिफिकेट लेऊ, पार्ट टाइम जब देऊ: क्रान्तिकारी
उता माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था आफूहरुले गराएको दावी गरेको छ । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यार्थीलाई रोजागारी वा बेरोजगार भत्ता उपलव्ध गराउनुपर्ने समेत बताए ।
क्रान्तिकारीले आफ्नो चुनावी नारा नै ‘सरकार विद्यार्थीको सर्टिफिकेट लेऊ,शैक्षिक लोन र पार्टटाइम जब देऊ’ भन्ने तय गरेको छ । क्रान्तिकारीले २८ वर्षे उमेर हद आफ्नै नीति भएकाले नेतृत्व पनि क्रान्तिकारीकै हुनुपर्ने भन्दै विद्यार्थीसाग मत मागेको छ ।
क्रान्तिकारीले क्याम्पस पढिरहेका नियमित विद्यार्थीलाई पार्ट टाइम जागिरको व्यवस्था गर्नुपर्ने मुद्दा पनि अघि सारेको छ । त्यसका लागि उसले विश्वविद्यालयमा छुट्टै पार्ट टाइम रोजगारी बिभाग स्थापना हुनुपर्ने माग समेत गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पस मध्ये यसअघिको चुनावमा अनेरास्ववियुले २६ क्याम्पसमा जित हासिल गरेको थियो । त्यस्तै नेपाल विद्यार्थी संघले १८ क्याम्पस,अखिल क्रान्तिकारीले १५ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले एउटा क्याम्पस जितेका थिए ।
यसपटक ६० आंगिक र सम्बन्धन प्राप्त समेत गरि ३३७ क्याम्प्समा चुनाव हुन लागेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावका लागि फागुन १ गते मतदाता नामावली प्रकाशन र ५ गते उम्मेदवारी मनोनयनको मिति तोकिएको छ ।
यो पनि पढ्नुहोस्
विद्यार्थीको चुनावमा यसरी हुँदैछ ठूला दलको मत सर्वेक्षण
क्याम्पसमा चुनावी माहौलः कतै डोजर लाग्यो, कतै दोहोरो झडप
प्रतिक्रिया 4