Comments Add Comment

विद्यार्थीले थाले स्ववियु निर्वाचन आचारसंहिता अनुगमन

'शंकरदेवमा आचारसंहिता उल्लंघन भएको पाइएन'

१ फागुन, काठमाडौं । फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई सहज रुपमा सम्पन्न गराउन विद्यार्थी संगठनहरुका केन्द्रीय नेताहरुले कलेजहरुको संयुक्त अनुगमन सुरु गरेका छन् ।

संयुक्त संयन्त्रले सबै कलेजमा पुगेर अनुगमन गर्ने र कतै उल्लंघन भएको पाइएमा तत्काल आचारसंहिता लागू गर्न आ-आफ्ना संगठनलाई निर्देशन दिनेछ ।

‘स्ववियु निर्वाचन प्रक्रिया आजबाट सुरु भइसकेकाले हार्दिकतापूर्वक निर्वाचन होस्, अवाञ्छित गतिविधि नहोस् र क्याम्पस प्रशासनलाई पनि सहयोग होस् भनेर अनुगमन थालेका हौं,’ अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने ।

‘शंकरदेवमा आचारसंहिता पालना’

आइतबार बिहान शंकरदेव क्याम्पसबाट संयुक्त अनुगमन कार्य थालनी भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

‘अनुगमनका क्रममा शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएन,’ अनुगमन टोलीमा रहेका अखिल क्रान्तिकारीका प्रवक्ता बस्नेतले भने ।

अनुगमन टोलीले शंकरदेव क्याम्पसका प्रमुखलाई भेटेर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह पनि गरेको छ ।

शंकरदेव क्याम्पसको अनुगमनमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, महासचिव ऐन महर लगायतको उपस्थिति थियोे । त्यसैगरी अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, उपाध्यक्ष रञ्जित तामाङ, प्रवक्ता सुरेन्द्र बस्नेत, अर्का उपाध्यक्ष दलबहादुर जिसी, अखिल (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र लगायत थिए ।

तर, शंकरदेव क्याम्पसको अनुगमनमा नेविसंघका प्रतिनिधि भने थिएनन् । नेविसंघका उपाध्यक्ष पुष्पविक्रम शाही  नेपाल कमर्श क्याम्पस र अस्कलको अनुगमनमा सहभागी थिए ।

शनिवार बागबजारमा बसेको १० विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आचारसंहिता अनुगमनका लागि साझा संयन्त्र बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment