१५ फागुन, काठमाडौं । सरकारले फागुन १९ र २० गते काठमाडौंमा नेपाल लगानी सम्मेलन गर्ने भएको छ । सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वान प्रमुख वक्ताका रुपमा सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा हुन लागेको हो ।
सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, जापान, इटाली, अमेरिका, रुस, क्यानडा, बेलायत, फिनल्याण्ड लगायत दुई दर्जन मुलुकका झण्डै २५० लगानीकर्ता सहभागी हुनेछन् । कार्यक्रममा ३ सयभन्दा बढी नेपाली लगानीकर्ता तथा विज्ञ पनि सहभागी हुनेछन् ।
सम्मेलनले नेपाललाई लगानीको आकर्षक गन्तब्यको रुपमा प्रचार गर्ने र त्सबाट वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका विभिन्न ९ वटा विषयगत सेक्सन राखिएका छन् ।
लगानीका प्रमुख सम्भावना भएका क्षेत्रको सेक्टोरल प्रोफाइल प्रस्तुत गरिने कार्यक्रम तय भएको लगानी बोर्डले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।