Comments Add Comment

सीमांकन बाहेकका विषयमा संविधान संशोधन गर्न सरकार तयार

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकनलाई आयोगमार्फत् टुंगो लगाउन प्रस्ताव गर्दै निर्वाचन प्रक्रियामा आउन आन्दोलनरत मधेसी मोर्चालाई आग्रह गरेका छन् । मोर्चा पनि सिमांकनको विषयलाई आयोगमार्फत टुंग्याउने र अन्य मागलाई सदनमै दर्ता भएको संविधान संशोधन विधेयक मार्फत सम्बोधन गर्ने प्रस्तावमा सकारात्मक देखिएको छ ।

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान मोर्चाका नेताहरुसँग छलफल गरेका थिए । सिंहदरवारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमांकनलाई आयोगमार्फत् समाधान गर्ने प्रस्ताव राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘यथाअवस्थामा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई सिमाङ्कनको विषय प्रदेश र केन्द्रको चुनाव अगाडि नै आयोगमार्फत् टुंग्याउने गरी अन्य संशोधनका बुँदाहरु परिमार्जनसहित पारित गराउन सहमतिमा आउन आग्रह गर्नुभएको हो,’ आचार्यले भने ।

प्रधानमन्त्रीले तत्कालका लागि सिमांकन बाहेकका विषयमा संविधान संसोधन गरी स्थानीय तहको निर्वाचनमा जुट्न मधेशी मोर्चालाई आग्रह गरेका थिए ।

जवाफमा मोर्चाका नेताहरुले आफूहरुको बैठक बसेर मात्रै औपचारिक जवाफ दिने बताएका थिए । सिंहदरबारबाट निस्किए लगत्तै मोर्चा आवद्ध दलका शीर्ष नेताहरु बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा छलफलमा जुटेका छन् ।

त्यसअघि अनलाइनखबरसँग कुरा गर्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले भाषा र प्रतिनिधिलाई तत्काल सम्बोधन गर्ने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएको बताए । उनले भने, ‘सिमांकनको विषयलाई पनि सम्बोधन गर्ने कुरा छ तर आयोग बनाएर ।’

यसैगरी सदभावना अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावबारे बैठकमा छलफल गर्ने प्रतिक्रिया दिए ।

सरकारले मधेसी समुदायलाई दमनकारी नीति लिएको, संविधान संशोधन नगरेको र स्थानीय तह निर्वाचन स्थगित नगरेको लगायतका विषयमा पाँच बुँदे माग राख्दै पूरा गर्न सात दिनको समयसीमा दिएको थियो । सात दिनको समयसीमा मंगलबार सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment