Comments Add Comment

भूकम्पपीडितका नाममा करोड मूल्य पर्ने गाडी किनिए

एउटा कमल थापाको सचिवालयमा, बाँकी सचिव र सहसचिवलाई

२३ चैत, काठमाडौं । भूकम्पले घरबास उठाएको दुई बर्ष बित्दा करिब ८ लाख परिवारले अझै ओत लाग्ने छानो पाएका छैनन् । ठूलो संख्याका भूकम्प पीडितले अझै अनुदान वापतको पहिलो किस्ता पाइसकेका छैनन् । जसले पाए, तिनले पनि तत्काल छानो हाल्न सक्ने स्थिति छैन ।

तर, त्यही भूकम्प पीडितका नाममा आएको आर्थिक सहायताबाट स्थानीय विकास मन्त्रालयका सचिव र मन्त्रीले महंगो गाडी खरिद गरेका छन् ।

भूकम्प प्रभावित जिल्लाहरुमा सञ्चालन हुने पुनर्निर्माण सम्वन्धी विभिन्न आयोजनाहरुको समन्यवन गरी भूकम्प पीडितलाई चाँडै अनुदान पुर्‍याउनुपर्ने स्थानीय विकास मन्त्रालय अन्र्तगतको भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रले विलासी गाडी खरिद गरेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइका पूर्वनिर्देशक तथा सहसचिव गणेशराज वस्तीले गाडी खरिद गरी सचिवलाई उपलब्ध गराएका छन् । त्यस्तै भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रका इञ्जिनियर तथा सूचना अधिकारी सुशील श्रेष्ठले एडीबीले दिएको अनुदान र नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट उक्त गाडी खरिद गरिएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘एडीबीको पैसाले किनेको हो, उनले अघि भने ‘तीनवटा मात्रै होइन, यसअघि पनि किनेका थियांै, धेरै किनेका छौँ ।’

को-को चढ्दैछन् विलासी गाडी ?

खरिद गरिएका गाडीहरु मध्ये एउटा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चढेका छन् । उनले चढ्ने गाडी नम्बर बा १७ च ९२० हो ।

यस्तै बा १७ च २२९७ नम्बरको गाडी केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक ईश्वरचन्द्र मरहठ्ठाले चढ्दै आएका छन् ।

यसअघि यो गाडी, गाडी खरिद गर्ने निर्णयकर्ता सहसचिव गणेशराज वस्तीले चढ्दै आएका थिए । उनी त्यहाँबाट सरुवा भएपछि मरहठ्टा कार्यकारी निर्देशक भएर पुगेका हुन् ।

अर्को बा १७ च १५८३ को गाडी एक साताअघि स्थानीय विकास मन्त्रालयमा पठाइएको छ । सो गाडी मन्त्री कमल थापाको सचिवालयमा पुगेको छ ।

त्यसअघि यो गाडी भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रका उपसचिव महेश्वर घिमिरेले चढ्दै आएका थिए । उपसचिव गाडी सुविधा पाउने अधिकारीमा पर्दैनन् । तर, घिमिरेले एक करोड ११ लाखको गाडी चढेका थिए ।

केन्द्रका स्टोर शाखाका श्यामलाल पन्थीका अनुसार त्यसअघि केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशकका लागि कार्यालयमा टाटा कम्पनीको गाडी थियो । उनले भने, नाम त थाहा भएन, तर टाटा कम्पनी हो भन्ने थाहा छ ।

फोर्ड कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता गो अटोमोबायल्सले सो गाडी विक्री गरेको हो । उक्त कम्पनीले टेण्डर प्रक्रियाबाट गाडी खरिद गरेको गो अटोमोबायल्सका टीआर तुलाधरले अनलाइनखबरलाई बताए । उनले बजारमा उक्त गाडीको मूल्य एक करोड १२ लाख पर्ने जानकारी दिए ।

स्थानीय विकास मन्त्रालय अन्र्तगतको उक्त आयोजना र गो अटोमोबायल्सले फेब्रुअरी २६ तारिखमा खरिद सम्झौता गरेका थिए ।

सरकारी गाडी, रातो नम्बर प्लेट

सचिव केदारबहादुर अधिकारी, उपप्रधानमन्त्री कमल थापाको सचिवालयका अधिकारीहरु र केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक मरहठ्टाले सरकारी गाडी रातो नम्बर प्लेट बनाएर चढ्दै आएका छन् ।

सरकारी स्वामित्वमा रहेको गाडी रातो प्लेट बनाएर चढ्न पाइँदैन । तर, रातो प्लेट प्रयोग गर्दा निजी प्रयोजनाका लागि समेत प्रयोग गर्न पाउने हुँदा सरकारी अधिकारीहरुले रातो प्लेटमा गाडी चलाइरहेका छन् ।

अनलाइनखबरले भूकम्पीय आपतकालीन पुनस्र्थापना केन्द्रका निर्देशक मरहट्टासँग गाडी खरीदबारे प्रश्न सोध्दा यस्तो जवाफ आयोः

भूकम्प पीडितका लागि आएको पैसाबाट किन त्यति महंगो विलासी गाडी किनियो ?

यो म आउनुभन्दा पहिले नै किनिएको थियो । त्यसैले त्यो गाडी कुन स्रोत र कुन प्रयोजनका लागि किनिएको हो, त्यसबारे मलाई कुनै जानकारी छैन । म आएपछि खरिद भएको छैन ।

तपाईले पनि त्यही तीनमध्ये एउटा गाडी चढिरहनुभएको छ नि हैन ?

हो, मैले एउटा चढिरहेको छु ।

भूकम्पपीडितका लागि काम गर्नुपर्ने एउटा आयोजना प्रमुखका लागि यति महंगो विलासी गाडी चाहिने नै हो त ?

यस्तो सर, म आउनुभन्दा पहिले नै खरिद भएर प्रयोगमा आइसकेको रहेछ । र, सहसचिव लेवललाई दिइएको गाडी रहेछ । यो कसरी निर्णय भयो, कसरी खरिद भयो, कुन स्रोतबाट खरिद भयो मैले भन्न सक्दिनँ ।

अनलाइनखबरले यही विषयमा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सोधेको छः

भूकम्पपीडित एवं प्राकृतिक प्रकोपमा परेकाहरुलाई हेर्नुपर्ने केन्द्रीय आयोजनाले कुन पैसाले त्यही महंगा गाडीहरु किनेको हो सचिवज्यू ?

त्यो उतै सोध्नुपर्ला ।

तर, तपाईले पनि त त्यही गाडी चढिरहनु भएकोरहेछ, त्यही भएर तपाईलाई सोध्दैछु ?

उनीहरुले के-के कार्यक्रम बनाएर किनेका होलान् ।

भूकम्प पीडितका लागि आएको पैसाबाट यसरी महंगो गाडी किन्न मिल्छ ?

त्यो अनुदानको पैसाबाट होइन, कार्यक्रम बनाएर किनिएको हो ।

तपाइसँग गाडी हुँदाहुँदै तपाईले किन त्यही गाडी लिनुभएको ? उक्त आयोजनालाई गाडी आवश्यक थिएन भने किन किनियो ? थियो भने आयोजनाले नलिएर किन तपाईले लिएको ?

(रिसाउँदै) मन्त्रालयकै लागि भनेर एउटा गाडी लिएको हो ।

अनि अर्को थप एउटा पनि चाहिएको हो ?

त्यो त साटेको हो । हामीसँग भएको पुरानो गाडी दिएर यो लिएको हो ।

एक करोड ११ लाखको गाडी चढ्न अत्यावश्यक नै हो त ?

त्यो कार्यक्रमको बजेट बनाउनेलाई सोध्नुस् न । मलाई किन सोध्नुहुन्छ ? उनीहरुले किन बजेट राखेको, किन किनेको हो, मलाई थाहा भएन । मन्त्रालयलाई आएको गाडी मैले बढेको हो । तीनवटामध्ये एउटा मन्त्रालयकै लागि भनेर किनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment