कवि/कथाकार उपेन्द्र सुब्बा साहित्यिक कार्यक्रमहरुमा जाँदा छुट्टै छाप छाड्छन् । कविता वाचनमा लिम्बू लबज र ठेट शैलीले उनी आकर्षणको पात्र बन्छन् । पछिल्लो समय भने अर्को पाटोले पनि उनको आकर्षण बढायो । त्यो हो, फिल्मको अभिनय ।
आफैंले कथा/पटकथामा सह-लेखन गरेको फिल्म ‘कबड्डी’ र त्यसको सिक्वल ‘कबड्डी कबड्डी’ मा उनी झाँक्रीको भूमिकामा देखिए । डेडलक कपाललाई जटा बनाइएको अनि झ्याप्प दाह्री-जुँगा राखेको उनको हुलिया दर्शकको आँखामा गढेर बस्यो । फिल्ममा सानो भूमिका भए पनि कवि उपेन्द्रलाई कलाकार उपेन्द्रको अवतारमा उत्तिकै रुचाइयो ।
फिल्ममा झाँक्रीबा निःसन्तान महिलालाई प्रसादको रुपमा ‘खीर’ चखाउँछन् । त्यसको नौ महिनामा रित्तो काख चिर्बिराउन थाल्छ । झाँक्रीको यस्तो काइदा कानून रुढिवादी समाजको विडम्बना बनेर देखिँदा दर्शकलाई हास्य रस उमार्न पनि असरदार भइदियो ।
तर, झाँक्रीको अभिनयमा एक झमट देखिएर साधारण जीवनमा फर्किसकेका उपेन्द्रलाई भने घरिघरि त्यही पात्रको भूतले झम्टिरहन्छ । बाटोघाटोदेखि इन्टरनेटका सामाजिक सञ्जालसम्म उनलाई झाँक्रीको चिनारीले चिमोट्न छाडेको छैन ।
यसबाट उनी दिक्क रहेछन् । त्यसो त एक हिसाबले यो चिनारी र चर्चा फिल्मी चरित्रको सफलता हो । तर, वास्तविक जीवनभन्दा धेरै परको चरित्रले दैनिक जीवनमै गिज्याइरहँदा उनलाई हैरान बनाएको छ । लप्पनछप्पनमा रमाएको झाँक्री चरित्रले आफ्नो साधारण जिन्दगीमा घाटा पुर्याएको उपेन्द्रको अनुभव छ ।
‘यो चाहिँ मलाई प्लसभन्दा पनि बढी माइनस लाग्यो’, दिक्किनुको कारण खुलाए, ‘म गम्भीर कविता भन्न स्टेज उक्लिरहेको बेला र पोडियममा कविता भनिरहँदा मान्छेहरु हाँसिरहेका हुन्छन् । यसले त मलाई जोकरभन्दा बढी बनाउने स्थिति देखिनँ ।’
कतै जाँदा उनलाई मान्छेहरुले नाम र कवि फुर्कोबाट चिनेनन् भने सँगैका साथीहरुले तुरुन्तै झाँक्रीबा भनेर परिचय जोड्दिइहाल्छन् । त्यसो भनिदिँदा उनलाई कबड्डी फिल्म नहेर्नेहरुले समेत चिन्ने गर्छन् । किनकि चिया पसलदेखि फेसबुकका ट्रोलहरुमा झाँक्रीबा जोकका पात्र बनेर छाइरहेका हुन्छन् ।
झाँक्रीको कुरा आउँदा सन्तान प्राप्तिको ओखती भनेर ख्वाइने ‘खीर’ को विम्ब जोडिएकै हुन्छ । उपेन्द्रले प्रत्यक्ष भेट, फोन सम्पर्क तथा सामाजिक सञ्जालमा मान्छेहरुबाट पटकपटक सुन्ने ठट्यौली हो, ‘खीर कत्तिको ख्वाइँदै छ त ?’, ‘त्यो खीर कस्तो थियो होला त ?’, ‘झाँक्रीको झारफुक मन्त्र चाहिँ एकदम राम्रो रै’छ’ आदि ।
फिल्म राम्रो चल्यो र उपेन्द्रको क्यारेक्टर पनि हिट भयो, त्यसले दिने खुसी आफ्नो ठाउँमा छ । तर, फिल्ममा देखिने चरित्रलाई वास्तविक जीवनमै जोडेर हेरिँदिँदा उनलाई पटक्कै चित्त बुझ्दैन ।
‘फेसबुकका ट्रोलहरुमा आफ्नो चरित्र तोडमोड गरेको देखेर म हाँसि त दिएँ, तर मेरो साधारण चरित्रको अगाडि त्यो सुहाएन’, उनी भन्छन् ।
उनी सार्वजनिक सवारी साधनमा यात्रा गर्छन् । कहिले साझा बस चढ्छन् । कहिले टेम्पोमा कुचुक्र परेर बस्छन् । त्यस्तो बेला पनि उनलाई बडो फसाद पर्छ ।
‘गाडीभित्र कस्तो अप्ठेरोमा उभिइरहेको बेला मान्छेहरुले बोलाइदिने, झाँक्री भन्दिने गर्छन्’ उनले चर्चित पात्रको दुःख कहे, ‘त्यसरी घुरेर हेर्दा मलाई आफैंलाई असहज लाग्छ ।’
फिल्मको एउटा सानो पात्रले वास्तविक जीवनमै पछ्याइरहला भनेर उनले सायदै सोचेका थिए । तर, उनलाई उपेन्द्र सुब्बा भन्दा पनि झाँक्रीकै रुपमा बोलाउनेहरु थुप्रै हुन्छन् । त्यसैले उनी आफ्नो फेसबुक स्टाटसमा ठिटाहरुलाई सेक्ने गरी यदाकदा झोक पोख्छन्, ‘कस-कसलाई खीर चाहिएको हो ?’
दुइटा फिल्ममा खेल्दा खुरापाती चरित्रले असहज बनाएपछि उनले अब फिल्म नै नखेल्ने सोच बनाएका छन् । आइन्दा फिल्म खेल्दै नखेल्ने कसम खाएका भने छैनन्, तर नखेल्नु राम्रो हुने ठानेका छन् ।
झाँक्रीले जस्तै निधार बटारेर जोखाना हेरे झैं बोले, ‘फिल्मको प्रभाव यति हुँदो रै’छ, दिक्कै बनायो हाउ मलाई । अबदेखि नखेल्ने नै भनेर बसेको छु ।’
प्रतिक्रिया 4