Comments Add Comment

ललितपुरको मेयरमा त्रिपक्षीय भिडन्तः उम्मेदवारलाई नजिकबाट चिन्नुस्

१९ बैशाख, ललितपुर । उपत्यकामा रहेको दोस्रो महानगरपालिका ललितपुरमा मंगलबार प्रमुख दलहरुले उत्साहपूर्वक रुपमा उम्मेदुवारी दर्ता गराएका छन् । प्रमुख तीन दलका मेयर र उपमेयरका उम्मेदवारहरुको परिचयात्मक विवरण यहाँ प्रस्तुत गरिएको छः

चिरिबाबु महर्जन, मेयर (नेपाली कांग्रेस)

नेपाली कांग्रेसले लगातार तीन कार्यकालको २२ वर्ष वडाअध्यक्ष भएका व्यक्तिलाई ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । चिरीबाबु महर्जनले २०३८ सालदेखि ०४५ सम्म दुई कार्यकाल लगातार पञ्चायती वडा अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए ।

त्यसपछि ०४९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

चिरीबाबु महर्जन ०४७ सालदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध भएका हुन् । बहुदल अघिसम्म उनी पञ्चायती व्यवस्थाको पक्षधर थिए ।

यस्तै ०५९ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेलामा पनि उनी राजाको कदमको पक्षमा उभिएका थिए । उनी राजा ज्ञानेन्द्रले आहृवान गरेको उपमहानगरपालिकाको मेयरको उम्मेदवार थिए । गणतन्त्र आएपछि उनी कांग्रेसबाट मेयरको चुनाव लड्दैछन् ।

व्यवस्थापनमा स्नाकोत्तर गरेका महर्जनले राजनीतिक बाहेकका विभिन्न कामको अनुभव संगालेका छन् । उनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल परियोजनाको प्रोजेक्ट म्यानेजरका रुपमा लगातार २० वर्षसम्म काम गरेका थिए । यस्तै उनी ज्यापु समाजको संस्थापक अध्यक्षसमेत हुन् ।

हरिकृष्ण व्यञ्जनकार – मेयर (एमाले)

नेकपा एमालेबाट महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएका पाटन च्यासलका हरिकृष्ण व्यञ्जनकार एमाले, ललितपुरका जिल्ला अध्यक्षसमेत हुन् । उनी ०३५ सालदेखि विद्यार्थी संगठनमार्फत एमालेसँग आवद्ध भएका हुन् ।

व्यवस्थापनमा स्नाकोत्तर गरेको व्यञ्जनकार यसअघि ०४३ सालमा ललितपुर उपमहानगरपालिकाको वडाअध्यक्षमा निर्वाचित भएका थिए । त्यसक्रममा उनले नगर पञ्चायतको बोर्ड सदस्य भएर समेत काम गरेका थिए । त्यसपछि उनले आजसम्म कुनै निर्वाचनमा भाग लिने अवसर पाएका थिएनन् ।

राजनीति बाहेक व्यञ्जनकार ०४० सालदेखि दुई वर्ष शिक्षक पेशामा आवद्ध भए । ०४२ सालदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे । उनी पछिल्लो समय पार्टीबाहेक पशुपति क्षेत्र विकास कोषको बोर्ड सदस्य थिए ।

दिनेश महर्जन दीपेश, मेयर (माओवादी केन्द्र)

ललितपुर महानगरपालिकामा माओवादी केन्द्र स्थानीय नेवार समुदायका व्यक्तिलाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार दिनेश महर्जन दीपेश माओवादी केन्ऽका पोलिटब्युरो सदस्य हुन् ।

०४८ सालबाट राजनीति सुरु गरेका दिपेश जनमोर्चा हुँदै तत्कालीन विद्रोही नेकपा माओवादीमा प्रवेश गरेका थिए । माओवादीमा उनले सैन्य मोर्चामा रहेर ललितपुर जिल्लाको कमाण्डर तथा काठमाडौं उपत्यकाको सहायक कमाण्डरको रुपमा काम गरे । ०५८ सालपछि सैन्य क्षेत्र छाडेर उनले पार्टीको सांगठनिक फाँटमा काम गर्न थालेका हुन् ।

ललितपुरका रैथाने दिपेश केन्द्रीय मानसिक अस्पताल पाटनका पूर्वअध्यक्ष एवं जिल्ला शान्ति समितिका पूर्व संयोजक समेत हुन् ।

हसिना शाक्य, उपमेयर (माओवादी)

माओवादी केन्द्रको तर्फबाट ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार बन्न सफल ४९ बर्षकी हसिना शाक्य पाटन निवासी हुन् । ०६२/०६३ को जनआन्दोलनमा ललितपुरबाट नेतृत्वदायी भूमिका खेलेकी उनी जनयुद्धकालीन कार्यकर्ता भने होइनन् । उनले ०६४ सालमा मात्रै नेकपा माओवादीको पार्टीको सदस्यता लिएकी थिइन् ।

उनी माओवादीको सम्पर्कमा भने ०५४ सालदेखि नै रहेकी थिइन् । राजनीति बाहेक उपमेयरकी उम्मेदवार शाक्यसँग सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनी ०५४ सालदेखि ललितपुर नागरिक मञ्चमा आवद्ध छिन् । उनी उपमेयरको उम्मेदवार हुँदासम्म मञ्चको संयोजक थिइन् । यस्तै उनी ललितपुरको बौद्ध बिहार संघको पनि महिला अध्यक्ष हुन् । विगत ६ बर्षदेखि उनी उक्त संस्थाको अध्यक्ष थिइन् ।

उनी माओवादी पार्टीको भने सामान्य कार्यकर्ता मात्र हुन् । अध्ययनको क्षेत्रमा अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनी केही बर्षदेखि एक सहकारी संस्थाको सञ्चालक भएर काम गर्दै आएकी थिइन् ।

हसिनासँग अहिलेसम्म कुनै पनि चुनाव लडेको अनुभव छैन । उपमेयरको उम्मेदवारका रुपमा यो उनको पहिलो चुनावी यात्रा हो ।

सुकुमाया तामाङ, उपमेयर (एमाले)

एमालेबाट उपमेयरको उम्मेदवार बनेकी सुकुमाया तामाङ एमालेको अखिल नेपाल महिला संघको क्षेत्र नम्बर तीनकी अध्यक्ष हुन् । उनी पार्टीको क्षेत्रीय कमिटी सदस्य पनि हुन् ।

०५४ सालदेखि एमालेमा आवद्ध तामाङले अहिलेसम्म कुनै निर्वाचनमा भाग लिएकी छैनन् । ललितपुर महानगरपालिकाको बुगमती वडा नम्बर २२ निवासी उनले स्नातक तह पूरा गरेकी छिन् ।

 गीता सत्याल, उपमेयर (नेपाली कांग्रेस)

नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनाइएकी गीता सत्याल ०४८ सालदेखि नेपाली कांग्रेससँगको राजनीतिमा जोडिएकी हुन् ।

उनी नेविसंघ हुँदै नेपाल महिला संघ ललितपुर जिल्लाको अध्यक्षको भूमिकामा थिइन् । त्यसअघि उनले नेपाल महिला संघ ललितपुरमा १० बर्षसम्म सचिवको भूमिकामा रहिन् । उनले नेपालीमा स्नातकोत्तर गरेकी छिन् । उनको परिवारमा उनीमात्रै राजनीतिमा छिन् । उनी नख्खीपोटकी बासिन्दा हुन् । अध्यापन पेशामा केही बर्ष बिताएकी उनको जन्म ०३४ सालमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment