Comments Add Comment

बाटोमा फोहोर फाल्नेलाई पक्राउ गर्न दिनदिनै गस्ती

१५ चैत, पोखरा । ‘ए हजुर तपाईंको घर, पसल अगाडि फोहोर देखिएको छ नि ! फोहोरको जिम्मेवारी तपाईं नै हुनुहुन्छ !’ – पोखरा महानगरपालिका ९ का अधिकांश घर तथा पसलअघि यस्तै लेखिएका पोस्टर टाँसिएका छन् ।

‘सफा सुन्दर पोखरा सहर, जरिवाना लिने हैन हाम्रो रहर’ पद्यात्मत्मक शैलीमा नारा पनि लेखिएको छ र फोहोर लिन गाडी नआएमा सम्पर्क टेलिफोन नम्बर पनि दिइएको छ ।

पटकपटक सार्वजनिक ठाउँमा फोहोर नफाल्न अनुरोध गर्दा पनि अटेरी गरेपछि वडा कार्यालयले जरिवाना तिराएर पोस्टर टाँसिदिएको हो ।

वडालाई पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा गरिसकेपछि पनि सधैं अटेरी गर्ने घरबेटी तथा व्यवसायीलाई वडाले घर तथा पसलमै यसरी पोस्टर टाँसेर सुसूचित गरिरहेको छ । अटेरी गर्नेलाई कारबाही गरिरहेको छ । त्यसपश्चात पनि अटेर गर्नेलाई प्रहरी प्रशासन नै लगाइरहेको छ । यतिमात्रै नभएर वडाले फोहोर फाल्नेलाई कारबाही गर्न रातको समयमा पनि गस्ति गर्न समिति नै बनाएको छ ।

‘गाडी जहिल्यै आउँछ । व्यवसायी तथा घरबेटीले तर, रातको मौका पारेर बाटोबाटोमा फोहोर फालेर हैरानै बनाए,’ पोखरा ९ वडाअध्यक्ष रामराज लामिछानेले भने, ‘अति भएपछि हामी नै सडकमा उत्रेर उनीहरुलाई पक्रन बाध्य छौं ।’ गस्ती गनै थालेपछि सडकमा फोहोर फाल्नेहरु घटेको उनको दावी छ ।

रातको समयमा गस्ती बस्न वडा सदस्य राममाया मानन्धरको नेतृत्वमा टोली खटिन्छ । गस्तीको टोलीमा वडाबासी पालैपालो आउने गर्छन् ।

‘वडाले नै छाता, ज्याकेट, ग्लोब्सजस्ता आवश्यक सामान दिइरहेको छ । त्यसबाहेक उहाँहरुले अन्य पारिश्रमिक लिनुहुँदैन,’ वडाध्यक्ष लामिछानेले भने, ‘सधैं एउटै घरको गस्तीमा हिँडेपछि कहिलेकाहीं त लाजै मानेर पनि कुनैकुनै घरधनी सडकमा आउनुहुन्छ ।’

१० महिनादेखि निरन्तर गस्ती टोली बाटोमा उत्रिरहेको छ । टोलीमा कहिले १० त कहिले २० जना हुन्छन् । पोखरा ९ वडा सदस्य लोकदर्शन कोइरालाले टोली करिब साढे १० बजेसम्म नयाँ बजार र न्यूरोडका सडकमा गस्ती बस्ने जानकारी दिए ।

‘सबै सुतिसके भन्ने बेला फोहोर फाल्ने सडकमा आउँछन् । हामी पनि त्यति नै बेला सडकमा गएर समाउन पुग्छौं,’ कोइरालाले भने, ‘सुरुमा त्यसरी पक्रेकालाई सामान्य सुझाइबुझाइ गरेर पठाउने गरेका छौं ।’ अहिलेसम्म दर्जनभन्दा बढीलाई त्यसरी रंगेहात फेला पारिसकेको उनी बताउँछन् ।

वडाले सार्वजनिक फोहोर फाल्नेलाई सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म जरिवाना गरेको छ । ‘उहाँहरुलाई जरिवाना गर्दा आइन्दा फोहोर नफाल्ने सहमतिपत्रमा सहीछाप गराउँछौं,’ कोइरालाले भने, ‘नमानेमा प्रहरी प्रशासनलाई पनि गुहारिरहेका छौं । केहीलाई त प्रहरीले नियन्त्रणमा पनि लिइसकेका छन् ।’

सेती नदीमा फोहोर फाल्ने पनि कारबाहीमा परेका छन् । पोखरा ९ को फोहोर उठाउन महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणामा सुन्दर वातावरणीय नेपाल संस्थालाई जिम्मा दिएको छ । उक्त संस्थाले पोखरा ९ सहित वडा नम्बर ३, ४ र ८ हेर्ने जिम्मा लिएको छ । ४ वडा हेर्न ४ वटा गाडी प्रयोग गर्ने उक्त संस्थाले आवश्यकता अनुसार काम नगरेको वडाध्यक्ष लामिछानेको आरोप छ ।

‘कहिले ३/४ दिननै फोहोर उठाउन आउँदैन । त्यसले गर्दा स्थानीयलाई फोहोर घरमै कुहाउन बाध्य छन्,’ लामिछानेले भने, ‘हामीले नै पटकपटक समयमै आउन भनिसक्यौं । तर, अटेरी गरिरहेको छ । हामी नै हैरान भइसक्यौं ।’ उनले फोहोर उठाउने गाडीको अनियमितताबारे महानगरलाई सूचित गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment