काठमाडौं । आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ ।
तीन खेल खेल्दा पहिलो जित हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ ।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
रसेलले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा १ विकेट र फिल्डिङमा १ क्याच लिएका थिए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । ओपनर सैफ जैबले १० बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक १७ रन बनाए । यस्तै आरिफ शेखले पनि अविजित १७ रन बनाए ।
बलिङमा विराटनगरका लागि २ ओभर बलिङ गरेका आन्द्रे रसेलले जम्मा ८ रन मात्र दिएर १ विकेट लिए । यस्तै एन्जेलो म्याथुजले १ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
पहिलो बलमा विराटनगरका आन्द्रे रसेलले ओपनर शेरफान रुथरफोर्डलाई आउट गर्दै टिमलाई सफलता दिलाएका थिए । वान डाउनमा आएका कप्तान दीपेन्द्र सिंह ऐरि पनि दोस्रो ओभरमा आउट भएपछि सुदूरले ७ रनमै २ विकेट गुमायो ।
ओपनर सैफ जैबले एक छेउबाट प्रायस गरेपनि पर्याप्त भएन ।
त्यसअघि कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनर शेहान जयासूर्याले ११ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । वान डाउनमा ब्याटिङमा आएका आन्द्रे रसेलले पनि आक्रमक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का मदतमा अविजित २९ रन बनाए ।
यस्तै अन्तिम बलमा आउट भएका अर्का ओपनर लोकेश बमले १० बल खेल्दै १ चौका र ३ छक्का मदतमा २५ रन जोडे ।
सुदूरपश्चिमका लागि २ ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर १ विकेट लिए ।
५ ओभरको खेलमा विराटनगरका लागि लोकेश बमसँगै शेहान जयासुर्या ओपनिङमा आए भने सुदूरपश्चिमका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन स्पीनर थरिन्दु रत्नायाके पहिलो खेल्दै पहिलो ओभर बलिङ गरे ।
पहिलो ओभरमै जयासुर्याले रत्नायाकेलाई ५ छक्का प्रहार गर्दा विराटनगरले पहिलो ओभरमा ३५ रन जोड्यो ।
जयासुर्या र लोकेश बमले दुवै छेउबाट विष्फोटक ब्याटिङ गर्दा विराटनगरले ८ बलमै अर्धशतक पूरा गर्दै आक्रमक सुरुवात गरेको थियो ।
शेहान जयासुर्याले तेस्रो ओभरमा आउट हुनुअघि ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ३९ रन बनाएका थिए । अभिनाश बोहराको बलमा एलबीडब्लु भएका थिए । अम्पायरले सुरुमा आउट नदिएपनि रिभ्युमार्फत जयासुर्या आउट भए ।
उनी आउट भएपछि क्रिजमा आन्द्रे रसेलले लोकेश बमसँगै आक्रमक ब्याटिङ गरेपछि विराटनगरले एक सय माथिको स्कोर बनाएको थियो ।
ढिला सुरु भएको खेल
सुदूरपश्चिम र विराटनगरबीचको खेल शनिबार साँझ ५ बजे हुने तय थियो । तर वर्षाले पानी जमेकोले टीयू मैदानमा पानी सुकाउन समय लागेकोले बेलुका ७:२५ मा टस गर्ने र ७:४१ मा खेल सुरु गर्ने तय भएको थियो ।
तर टसको समयमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने क्रिजमा गएपनि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी भने गएनन् ।
क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक समेत रहेका पारस खड्का देखि म्याच रेफ्रीसँग लामो छलफल चलेको थियो । तोकिएको समयमा टस र म्याच सुरु हुन सकेन । त्यसपछि पनि एक घण्टा भन्दा बढी समयमको अन्योलपछि ८:५४ बजे बल्ल सुदूरपश्चिमका खेलाडी खेल खेल्न तयार भएका थिए । ९ बजे टस गर्ने र ९:१५ मा टस गर्ने तय भयो ।
टस किन ढिला भयो सुदूरपश्चिमका खेलाडी र व्यावस्थापनले टसका लागि किन तयार भएनन् भन्ने आधिकारिक जानकारी नआएपनि आउटफिल्ड केही गिलो भएकोले र विदेशी खेलाडी खेल्न तयार नभएकोले सुदूरपश्चिम टसका लागि जान नमानेको मैदानमा देखिएको थियो ।
खेल हुने भएपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जित्दै बलिङ रोजे र विराटनगरलाई ब्याटिङको निम्तो दिएका थिए ।
प्रतिक्रिया 4