Comments Add Comment

काठमाडौं महानगरका ६ खेलाडीः पुराना बलिया, नयाँ विभाजित

विद्यासुन्दर र राजुराजलाई क-कसले हान्दैछन् छिर्के ?

२८ बैशाख, काठमाडौं । देशको राजधानी शहर हो काठमाडौं महानगरपालिका । यहाँ हुने हारजितले देशैभरिको सम्पूर्ण हारजित भन्दा बढी महत्व राख्ने बुझाइ दलका नेताहरुको छ ।

र, यही कारणले सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले काठमाडौं महानगरपालिकाको चुनावलाई केन्द्रीय प्रतिष्ठाको विषय बनाएका छन् ।

काठमाडौं महानगरपालिकाको अहिलेसम्मको स्थितिलाई हेर्दा यहाँ झडप वा अपि्रय घटना भएका छैनन् । सबैले शान्तिपूर्ण ढंगबाटै प्रचार प्रसार गरेका छन् ।

विद्यासुन्दर र राजुराजः दुबैको जित्ने दाबी

यहाँको चुनावमा कांग्रेस र एमालेवीचमा तीब्र प्रतिस्पर्धा हुने धेरैको विश्लेषण छ ।

एमाले उम्मेदवार विद्यासुन्दर शाक्य र कांग्रेस उम्मेदवार राजुराज जोशी दुबैले जित्ने दाबी गरेका छन् । एमालेका विद्यासुन्दर शाक्यले जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । कांग्रेसका राजुराज जोशीले पनि ठूलो मतान्तरले जित्ने दाबी गरेका छन् । ‘थर्ड पोल’ का उम्मेदवार किशोर थापाले पनि संगठनको आधारविनै जित्ने दाबी गर्न थालेका छन् ।

यो पनि पढ्नुस्

काठमाडौं महानगरमा राजुराजको सपनाः ५ वर्षमा मेट्रो रेल, सबैतिर फ्लाइओभर

विद्यासुन्दर शाक्यको महानगर सपनाः ३ वर्षमा मेट्रो, २ वर्षमै मोनो रेल

राप्रपासँग तालमेल गरेका कारण एमालेले चुनाव जित्ने विश्वास लिएको देखिन्छ । एमालेको विश्वासको अर्को आधार के पनि हो भने विगतमा ओली सरकारले लिएको अडानले राष्ट्रवादी जनमतलाई आफूतिर तानेको विश्वास एमालेमा छ । साथै राप्रपासँग तालमेल गरेपछि काठमाडौंको मेयरमा अब राजावादी ‘ढ्वाङ’ थापिने छैन, जसको फाइदा एमालेले उठाउने सो दलका नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेसले चाहिँ राजधानीमा आफ्नो एकलौटी प्रभाव रहेकाले चुनाव जितिने दाबी गरेको छ । घोषितरुपमा नभए पनि माओवादीको भोटसमेत आफूतिरै आउने कांग्रेसको थप विश्वास देखिन्छ ।

‘थर्ड पोल’मा किशोर र रञ्जु

कांग्रेस र एमालेवीचको मुख्य प्रतिस्पर्धामा साझा पार्टीका उम्मेद्वार किशोर थापा विस्तारै चुनौती बन्न थालेका छन् । कांग्रेस र एमालेप्रति असन्तुष्ट रहेको मतले विस्तारै थापातिर झुकाव राख्न थालेको देखिन्छ ।

पूर्वसचिव थापाले आफ्नो मत बढाए भने यसले मुख्य दल कांग्रेस र एमालेको हारजितलाई प्रभाव पारिदिन सक्ने देखिन्छ । उनले कथंकाल जितिहाले भने चाहिँ त्यो नेपालको राजनीतिमा ‘आश्चार्य’ हुनेछ दिल्लीमा केजरीवालले पुराना पार्टीहरुलाई चुनौती दिएजस्तै ।

काठमाडौं महानगरपालिकामा राजुराज, विद्यासुन्दर र किशोर थापाको मात्रै चर्चा छैन, युवा पुस्ताकी उम्मदेवार रञ्जु दर्शनाको पनि चर्चा बढिरहेको छ । रञ्जुले पाउने भोटले पनि किशोर थापाले जस्तै कांग्रेस र एमालेको प्रतिस्पर्धामा असर पार्न सक्छ ।

यो पनि पढ्नुस्

किशोर थापाको दाबीः काठमाडौंका मतदाता विवेकी छन्, एक लाख भोट ल्याएर जित्छु

‘राजनीतिमा ताजा हावा चाहिएको छ, त्यसैले काठमाडौंको मेयरमा उठेँ’

यद्यपि पुराना संस्थागत पार्टीहरुको विकल्पमा उम्मेदवारी दिएका रञ्जु र किशोर थापावीच एकापसमा बाँडिने भोटको स्रोत भने लगभग एउटै हो । भलै थापाले अवकाशप्राप्त कर्मचारीको भोट तान्लान्, रञ्जुले युवा पुस्ताको । तर, पुराना दलहरुप्रतिको वितृष्णाबाट झर्ने भोट एकै ठाउँमा खस्ने परिस्थिति बनाउन नसक्नु चाहिँ साझा पार्टी र विवेकशील पार्टीको ‘अविवेकी कदम’ बन्न पुगेको देखिन्छ ।

काठमाडौंको मेयरमा साझा पार्टी र विवेकशील पार्टीले साझा उम्मेदवारी दिएको भए त्रिकोणात्मक प्रतिस्पर्धाको सम्भावना रहने कतिपयको विश्लेषण छ । तर, नयाँलाई रोज्ने मतदाताको मत रञ्जु र किशोरमा बाँडिने स्थिति बनेको छ ।

‘पाँचौं कोलम’ मा डंगोल र बज्राचार्य

काठमाडौं महानगरको चुनावमा कमै चर्चामा रहे पनि मत परिणाममा असर पार्न सक्ने दुईजना उम्मेदवार छन्ः सर्वोत्तम डंगोल र पवित्र बज्राचार्य । डंगोल माओवादी केन्द्रबाट काठमाडौंको मेयरका उम्मेदवार हुन् भने बज्राचार्य संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीका साझा उम्मेदवार हुन् ।

राप्रपाले एमालेसँग गठबन्धन गरिसकेको अवस्थामा काठमाडौंको मतादेशका आधारमा हेर्दा माओवादी केन्द्रलाई तेस्रो शक्ति मानिँदै आएको छ अहिलेसम्म । यो स्थितिमा नेपाली कांग्रेस र माओवादीले काठमाडौंमा तालमेल गर्ने भने पनि डंगोलले उम्मेदवारी फिर्ता लिन नमानेका कारण तालमेल सम्भव भएन ।

यो पनि पढ्नुस्

पवित्र बज्राचार्यको अनुभवः काठमाडौं बिगार्ने कांग्रेस, एमाले र माओवादी हुन्

माओवादी उम्मेदवार डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेलले पनि आफ्नो चुनावी प्रचार फाट्ट-फुट्ट गरिरहेकै देखिन्छ । तर, माओवादी काठमाडौंमा न तालमेल, न प्रतिस्पर्धाको अन्योलमा देखिन्छ । उसले मौन समय सुरु हुँदासम्म कांग्रेसलाई सघाउने निर्णय गरेन भने यसको सोझो फाइदा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले उठाउने निश्चित जस्तै छ ।

यद्यपि अझै पनि काठमाडौंमा माओवादीले ‘वाकओभर’ गर्न सक्ने सम्भावना रहेको धेरैको अनुमान छ । समग्रमा भन्दा काठमाडौं महानगरमा माओवादी अल्मलिएको अवस्थामा छ ।

काठमाडौंमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको खासै धेरै प्रभाव नरहे पनि उनीहरुले उम्मेदवार बनाएका पवित्र बज्राचार्य केही भोट काट्न सक्ने उम्मेदवार हुन् । काठमाडौं वडा नं २३ बाट एमालेका पूर्व वडाध्यक्ष समेत जितेका पवित्रले कोर नेवारी बस्तीको २/४ हजार भोट काट्न सक्छन्, जुन एमालेको भोट बैंक हो ।

बज्राचार्यको उम्मेदवारीले एमालेलाई धेरै ठूलो प्रभाव नपार्ने भए पनि कांग्रेससँग ‘नेक टु नेक’ मतले हारिजित हुने स्थिति आयो भने उनले काट्ने भोटले असर पार्न सक्छ ।

छायाँमा उपमेयरको चर्चा

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवारहरुको चर्चा जति बढी भए पनि उपमेयरहरुको चर्चा भने निकै कम छ । एमालेले उपमेयरमा उम्मेदवारी दिएको छैन । उसले राप्रपासँग तालमेल गरेको छ र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठलाई साथ दिने घोषणा गरेको छ ।

नेपाली कांग्रेसबाट हरिप्रभा खड्गी उम्मेदवार बनेकी छिन्, जो उपत्यकाकी रैथाने हुन् ।

उपमेयरको उम्मेदवारमा साझा पार्टीकी निरुपमा यादवको पनि राम्रै चर्चा छ । उनलाई विवेकशील पार्टीले पनि समर्थन गरेको छ । उनी अधिवक्ता समेत भएकाले उपमेयरमा कानूनी व्यक्ति आउनुपर्ने नारा अघि सारिएको देखिन्छ । सेलरोटी चुनाव चिन्ह लिएर उठेकी उनी काठमाडौंमा मधेसी मूलकी एक्ली उम्मेदवार हुन् ।

नयाँशक्ति पार्टीबाट सविना अर्याल पनि उपमेयरकी दाबेदार हुन् । त्यस्तै माओवादी केन्द्र बाट सुशीला पौडेल, राष्ट्रिय जनमोर्चाबाट ऋतु केसीलगायतका महिला उम्मेदवारहरु चुनावी मैदानमा छन् । जनिशा भट्टराई लगायतका कतिपयले उपमेयरमा उम्मेदवारी दिए पनि उनीहरुको चर्चा परिचर्चा कतै देखिँदैन ।

काठमाडौंको उपमेयरमा कसले जित्ला भनेर अनु्मान लगाउन निकै गाह्रो छ । यद्यपि राप्रपाका राजाराम श्रेष्ठ, कांग्रेसकी हरिप्रभा, साझा पार्टीकी निरुपमा यादव, माओवादीकी सुशीला पौडेल र फोरम/नयाँ शक्तिकी सबिना अर्यालमध्ये एकलाई छान्नुपर्ने स्थिति काठमाडौंका मतदाताहरुमा छ ।

काठमाडौं महागरका उम्मेदरवारको सूची हेर्नका लागि अनलाइनखबरको चुनावी डाटा पोर्टलमा क्लिक गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment