Comments Add Comment

समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्छुः प्रचण्ड

६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । साथै जेठ १५ मा कामचलाउ बजेट ल्याइने बताए ।

नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा उपस्थित भएका प्रचण्डले सत्ता हस्तान्तरणबारे कांग्रेससँग भएको सहमति अक्षरश पालना हुने बताए । सत्ता हस्तान्तरणले दोस्रो चरणको चुनावलाई असर नगर्ने भन्दै उनले भने, ‘कांग्रेससँग मेरो सहमति भएको छ । त्यो सहमति भन्दा एक दिनपनि बढी बस्दिनँ । सत्ता हस्तान्तरण हुन्छ ।’

तर, दोस्रो चरणको चुनाव सुनिश्चित नभएसम्म सरकार परिर्वतन नहुने उनले बताए ।

माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आगामी जेठ १० गते राजीनामा दिने सम्भावना छ ।

यो सरकार गठनका क्रममा नै कांग्रेस र माओवादीबीच ९/९ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

सहमति अनुसार चैत असन्तमा नै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाललाई सत्ता हस्तान्तरण गर्नु पर्ने हो । तर, स्थानीय चुनाव बैशाख ३१ लाई सरेपछि प्रचण्ड सरकारको कार्यकाल लम्बिएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावपछि राजीनामा दिने बचन दिएका छन् ।

जेठ १५ मा कामचलाउ बजेट

प्रधानमन्त्री प्रचण्डका अनुसार जेठ १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ । प्रधानमन्त्रीले बजेटबारे शनिबार साँझ मात्र यसबारे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

राष्ट्रिय महत्वका आयोजनालाई निरन्तरता दिने गरी जेठ १५ मा कामचलाउ बजेट ल्याउने उनले बताए ।

स्थानीय तहको संख्या बढ्छ

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पारित गर्न सरकारले पहल गरिरहेको उनले बताए ।

साथै मधेसी मोर्चालाई सहमति र दोस्रो चरणको चुनावमा सहभागी गराउन स्थानीय तहको संख्या बढ्ने उनले बताए । यसबारे शनिबार नै तीन दलको शीर्ष बैठकमा छलफल भएको भन्दै उनले भने, ‘निर्वाचनलाई सुनिश्चित गर्न केही स्थानीय तहको संख्या बढाउँदा केही फरक पर्दैन ।

मानवअधिकार आयोगसँग असन्तुष्ट

प्रधानमन्त्री प्रचण्डले टीकापुर घटनाका आरोपितहरुको मुद्दा फिर्ता लिँदा भएको विरोधप्रति असन्तुष्टि जनाए । सरकारले अपराधीहरुको नभई झुटा मुद्दा मात्र फिर्ता लिएको उनको दाबी छ ।

विपक्षीले विरोध गर्नु कुनै नौलो नभएको उनले बताए । तर, मानवअधिकार आयोगले बुझ्दै नबुझी हतारमा विज्ञप्ति जारी गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले मलाई नमिठो लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment