Comments Add Comment

स्थानीय तहमा चेपाङको सहभागीताः चितवनमा ५ वडाध्यक्ष

एमालेबाट ४ र कांग्रेसबाट १ जना चेपाङ बिजयी

राप्ती नगरपालिका चितवनको वडा नम्बर १३ का अध्यक्ष सुर्य प्रजा ।

७ जेठ, चितवन । स्थानीय तहको निर्वाचनले समावेशीकरणको मुद्दालाई तल्लो इकाइसम्म स्थापित मात्र गरेको छैन, सिमान्तकृत समुदायको प्रतिनिधित्व पनि लोभलाग्दो ढंगले निर्वाचनमार्फत सुनिश्चित भएको छ ।

पहिलो चरणको चुनावमा नेपालको अति नै सिमान्तकृत चेपाङ समुदायबाट चितवनका ३ स्थानीय तहमा ५ जना वडाध्यक्ष बिजयी भएका छन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाबाट दुई, कालिका नगरपालिकामा एक र राप्ती नगरपालिकामा दुई गरी पाँच जना चेपाङले वडाध्यक्षमा जित हात पारेका हुन् ।

इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका पञ्चबहादुर प्रजा चेपाङ ४ सय ५९ मत प्राप्त गरी बिजयी भए । नेपाली कांग्रेसका एकबहादुर अधिकारी पराजित गर्दै पञ्चबहादुर बिजयी भएका हुन् ।

इच्छाकामनाकै वडा नम्बर ६ मा एमालेका भुपेन्द्र प्रजा ५ सय ६३ मतका साथ विजयी बने । उनले कांग्रेसका विराज गुरुङ र माओवादी केन्द्रका ठूलोकान्छा थापामगरलाई हराएका हुन् ।

साविकको सिद्धि गाउँपालिका समेत मिसाएर बनाइएको कालिका नगरपालिकाको वडा नम्बर ११ मा एमालेबाट उम्मेदवार बनेका कृष्णबहाुदर प्रजा चेपाङ ३ सय १६ प्राप्त गरी विजयी भए । साविक सिद्धि गाविस चेपाङहरुको अधिक बाहुल्य भएको क्षेत्र हो ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसका अर्जुन प्रजा चेपाङ ३ सय २० मत ल्याएर बिजयी बने । राप्ती कै वडा नम्बर १३ मा नेकपा एमालेका उम्मेदवार बनेका सुर्य प्रजा चेपाङले ४ सय ४१ मत प्राप्त गरी विजयी भएको भएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए ।

जिल्लामा चेपाङ समुदायबाट ८६ जना उमेदवार बनेका थिए । १७ जना वडाध्यक्ष र ६७ जना वडा सदस्यमा चेपाङबाट उम्मेदवारी परेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

विक्रम संवत २०६८ सालको जनगणनाअनुसार चितवनमा २८ हजार ९८९ चेपाङ समुदाय बसोबास गर्दछन् । जसमध्ये १४ हजार ६५१ पुरुष र १४ हजार ३३८ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment