Comments Add Comment

पोखरामा एमालेको विजयोत्सव, नवनिर्वाचित मेयर भन्छन्-कसैलाई काखा, कसैलाई पाखा गर्दिनँ


१३ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरसहित कास्कीको स्थानीय तह जितेको नेकपा एमालेले शनिबार विजयोत्सव मनाएको छ । विजयोत्सव समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली आफैं सहभागी भएका छन् र उनले पोखराका मेयर उपमेयरसहित सबै जनप्रतिनिधिलाई माला र अवीर लगाएर बधाई दिए ।

आमसभालाई सम्बोधन गर्दै पोखराका नवनिर्वाचित मेयर मानबहादुर जिसीले जनतालाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित मेयर जिसीले सिंहदरबारको अधिकार स्थानिय तहमा आएको आएकाले अब त्यसको कार्यान्वयन एमालेले गर्ने बताए । स्थानीय जनताले सिंहदरबार गाउँमा आएको प्रत्याभूति हुनेगरी काम गर्ने दृढता व्यक्त गरे ।

चुनाव लड्दा एमालेको तर्फबाट लडेपनि अब आफू सबै पोखरेलीको भइसकेको बताउँदै कसैलाई पनि काखा र पाखा नगर्ने बचन दिए । बिपक्षीलाई पनि समेटेर अघि बढ्ने भन्दै नवनिर्वाचित मेयर जिसीले भने,’समृद्ध पोखरा निर्माणका लागि बिपक्षीको पनि उत्तिकै साथ चाहिन्छ, म सबैलाई मिलाएर लैजान्छु, त्यसका लागि यहीँबाट प्रतिष्पर्धी साथीहरुलाई आहृवान गर्छु ।’


जिसीले आफ्नो ५ वर्षे कार्यकालमा ५ काम गर्ने भन्दै भने,’हामीले घोषणा पत्रमा उल्लेख गरेका ‘प्रविधीमैत्री सेवाग्राही’, ‘युवा उद्यमीहरुको सहर’, ‘शुद्ध पिउने पानी, स्वस्थ समाज’, ‘हराभरा पोखरा -क्लिन सिटी, ग्रीन सिटी)’ र ‘दिगो विकासको पूर्वाधार’ जुनसुकै हालतमा पनि काम गर्छु ।’

नवनिर्वाचित उपमेयर मञ्जु गुरुङले पनि पोखराको विकास र समृद्धिका लागि प्रतिष्पर्धीसँग हातेमालो गरेर अघि बढ्ने बताइन् । साथै प्राकृतिक, सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणमा जोड दिइन् ।

बिजयोत्सव आमसभाअघी पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट आमसभास्थल अमरसिंहचोकसम्म बिजयोत्सव र्‍याली निकालिएको थियो । र्‍याली महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, बुद्धचोक, अम्मरसिंहचोक हुँदै अम्मरसिंहचोकको खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो ।


तस्वीरः उमेश पुन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment