+
+

शिक्षक वेपत्ता: ११० विद्यार्थीको रिजल्ट पालेले निकाले, लिँदैछन् भर्ना !

शिक्षकको मनपरीमा जिशिका रमिते

रासस रासस
२०७४ जेठ १९ गते ९:२१

१९ जेठ, बाजुरा । जिल्लाको साविककाे काेल्टी गाविसको  बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन् ।

सदरमुकाम मार्तडीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित उक्त विद्यालयका शिक्षकले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरेका थिए । परीक्षा सकिएपछि चैत १२ मा प्रधानाध्यापकसहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी घर हिँडेको स्थानीयवासीले बताएका छन् । कुनै पनि शिक्षक विद्यालयमा नफर्केपछि विद्यालयका पाले धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गरेका थिए ।

शिक्षकको लापरबाही यतिमै सीमित छैन । विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरु गर्नुपर्ने हो । साथै विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पुर्याउनुपर्ने हो तर यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर पाएका छैनन् । ‘सरहरू नफर्केपछि विद्यार्थीको नाम मैले नै रजिस्टरमा टिपेको छु,’ विद्यालयका पाले धर्मले भने ।

सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई गरी पाँच शिक्षक कार्यरत यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शङ्कर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् । नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ ।

शिक्षकको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरेको तर उनी सम्पर्कमा नआएको बताए । अन्य शिक्षकसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताए । ‘पटकपटक कुरा गर्न खोज्दा रेग्मीले वास्तै गर्दैनन्,’ अध्यक्ष बोहराको भने, ‘लामो समय विद्यालय बन्द भएर बालबालिकाको भविष्य अन्योलमा पर्ने देखेपछि जिल्ला शिक्षा कार्यालयमा खबर गरेको छु ।’

शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोतव्यक्तिको हो । त्यस क्षेत्रका स्रोतव्यक्ति प्रेमराज रेग्मीलाई उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी छ । उनले पनि शिक्षकको लापरबाहीलाई सामान्यरूपमा लिएको देखिएको छ । ‘हेडमास्टर मान्दैनन् त म के गरूँ ?’, ठट्यौली पारामा स्रोतव्यक्ति रेग्मीले भने ।

प्रअ रेग्मीले लापरबाही गरेको यो पहिलोपटक होइन । विगत १३ वर्षदेखि सोही विद्यालयमा कार्यरत उनको विगतदेखि नै यस्तै चाला रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा बताउँछन् ।

‘गत वर्ष हामीले शिक्षा कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका थियौँ, तर वास्ता गरिएन,’ उनले भने, ‘अहिले त उनी कुरा गर्न खोज्नेबित्तिकै फोन स्विचअफ गर्छन् ।’ कक्षा ५ सम्म सञ्चालन हुने यो विद्यालयमा ११० विद्यार्थी अध्ययनरत छन् । ‘अवस्था थाहा पाएपछि प्रअलाई तत्काल विद्यालय जान निर्देशन गरेको छु,’ विद्यालय निरीक्षक उमेश रेग्मीले बताए ।

विद्यालयको सेवा क्षेत्रका अभिभावक अप्ठ्यारोमा छन् । ढाडाकोट गाउँ सो विद्यालयको सेवा क्षेत्र हो । अर्को विद्यालय गाउँदेखि करिब डेढ घन्टा टाढा पर्छ । ‘स–साना बालबालिकालाई देवलडाँडा मावि, कुरुमा पठाउन पनि समस्या छ । हाम्रो विद्यालयको हालत यस्तो भयो,’ अभिभावकको भनाइ रहेको छ ।

ढाडाकोटको बूढीनन्दा मात्रै होइन, जिल्लाका थुप्रै विद्यालयको अवस्था अस्तव्यस्त रहेको विद्यालय निरीक्षक धर्मराज जोशी स्वीकार्छन् । कतिपय विद्यालयमा एउटै किताब पनि पुगेको छैन । कतिपयमा अपुरा किताब छन् । जिल्लाबाहिरका शिक्षक धेरैजसो फर्केका छैनन् । ‘साँच्चै अस्तव्यस्त भएको छ,’ विद्यालय निरीक्षक जोशीले भने, ‘कतिपय विद्यालयमा त चैत सुरुमै हिँडेका शिक्षक अझै फर्केका छैनन् ।’

जिल्ला शिक्षा कार्यालयका कर्मचारीले नियमित अनुगमनमा ख्याल नगर्दा विद्यालय क्षेत्रमा अस्तव्यस्तता बढेको आरोप विगतदेखि नै लाग्दै आएको छ । बूढीनन्दा प्राविकै अध्यक्ष बोहराले दुई घन्टा टाढा घरमा बस्ने स्रोतव्यक्ति रेग्मीलाई पटक–पटक बोलाउँदा पनि विद्यालयको पर्यवेक्षण तथा अनुगमनका लागि कहिल्यै नआए्को बताए ।

विद्यालयका प्रधानाध्यापक र स्रोतव्यक्तिको लापरबाहीका कारण जिल्लाका कतिपय विद्यालय खुल्न सकेका छैनन् भने कतिपय विद्यालयमा पाठ्यपुस्तक नै पुगेका छैनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?