Comments Add Comment

दमकका ‘सुकुम्बासी’ मेयर, जो केपी ओलीको घरमा बस्छन्

साइकल मेकानिक्स मेयर, उपप्राध्यापक उपमेयर

२८ असार, झापा । दमकमा रोमनाथ ओली एमालेबाट मेयरको उम्मेदवार बनेपछि देशभरि चर्चा चल्यो- केपी ओलीले आफ्नो गृहनगरमा आफ्नै भाइलाई टिकट दिए । यद्यपि रोमनाथ ओली २० वर्षअघि पनि दमकको मेयर भइसकेका एमालेका नेता हुन् । यसपटक निकै प्रतिस्पर्धा हुने ठानिएको चुनावमा सहज जित निकालेर रोमनाथ दोस्रो पटक दमकको मेयर बने ।

हुन त केपी ओली साइनोले रोमनाथ ओलीका काका पर्छन् । तर केपीले रोमनाथलाई कहिल्यै पनि आफू सत्ता र शक्तिमा रहँदा किचन क्याबिनेटमा राखेनन् । बरु उनलाई जिल्लाकै राजनीतिमा स्थापित हुन प्रेरित गरे । दमकका लगभग सुकुम्बासी हुन्, रोमनाथ । जसलाई बस्नका लागि केपी ओलीले आफ्नो घर दिएका छन् ।

रोमनाथको दोस्रो इनिङः को हुन उनी ?

०४७ सालमा दमक आउनु अघि उनी तत्कालीन महारानीझोडा गाविसका बासिन्दा हुन् । त्यसबेला उनी साइकल मर्मत गर्ने मेकानिक्स रहेको उनका समकक्षीहरु बताउँछन् । दमकमा उनको एक टुक्रा पनि जग्गा छैन । उनी बसोबास गरीआएको घर एमाले अध्यक्ष केपी शर्मा ओलीको हो ।

उनी एमाले झापा जिल्ला कमिटीका पूर्व उपसचिव हुन् । अहिलेका सांसद तथा पार्टी बैकल्पीक केन्द्रीय सदस्य रविन कोइरालासँग उनी ०६५ सालमा पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । उनी पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा अहिले प्रदेश नं १ का सल्लाहकार हुन ।

मेयरको कुर्सीमा बसेपछि रोमनाथले विगतका भन्दा धेरै फरक अनुभव पनि भोग्न थालिसकेका छन् । मेयर भएपछि मान्छेका अपेक्षा कस्ता कस्ता हुन सक्छन् ? उनले एउटा उदाहरण सुनाए- आजै एक जना महिलालाई १ लाख ५० हजार चाहियो भनेर बिहानदेखि १२ पटक फोन आइसक्यो । मेयर छु कसरी हुँदैन भन्ने, तर धेरै ठाउँमा भनेर पनि त्यो पैसा ऋण मिलाइदिन सकिनँ ।

त्यसो त मेयर ओलीको आफ्नै दुःख छ । श्रीमती बिरामी भएर १ लाख ७५ हजार ऋण लागेको छ, अब अरुले पनि अपेक्षा गर्छन् । मेयर जनताको काम गर्नकै लागि हो । तर, यस्ता विषयमा समेत मानिसका धेरै अपेक्षा रहने गरेका छन् ।

एसिडको बोतलदेखि अट्याच बाथरुमसम्म

पहिलो पटक मेयर बन्दा सादगी जीवनशैलीका कारण चर्चित ओली यस पटक फरक भुमिकामा छन् । नगर प्रमुखको कुर्सीमा नबसी सोफामा बस्दै भेट्न आएका शुभचिन्तकबाट बधाइ ग्रहण गर्दै उनले विगत सम्भिmए ।
त्यसबेला बत्ती हुँदा घुम्ने एउटा फ्यान थियो, अहिले मेयरको कार्यकक्षमा एसी छ । विगत र अहिलेमा उनले धेरै फरक पाएका छन् ।

पहिलो कार्यकालमा मेयर भएका बेलाको एउटा घटना ओलीले अझै बिर्सेका छैनन् । शौचालय जान लाग्दा पानी नआएर उनलाई पीर पर्‍यो । नजिकै एउटा बोतल भेटेका उनले त्यसलाई प्रयोग गरेपछि बल्ल त्यो एसिड भएको थाहा पाएछन् । तर, अहिले अवस्था फरक छ, उनको कोठासँगै सटिएको एट्याच ट्वाइलेट छ ।

विगतमा उनीसँग सिमित अधिकार थिए । यस पटक धेरै अधिकार छन्, तिनलाई कार्यान्वयनको गर्नु अहिले दायित्व सम्झन्छन् । पहिलो बैठकबाटै उनले पूर्ण अपाङ्ग, ७० बर्ष माथिका बृद्धबृद्धालाई बाषिर्क २ हजार दिने निर्णय गरिसकेका छन् ।

नलेज बैंकको योजना

दमक मेयर ओलीले मुलुकमै पहिलो पटक नलेज बैंक स्थापनाको योजना ल्याएका छन्, जुन चुनावी दौरानमा खुबै चर्चित थियो । ओलीले नगरपालिकामा सबै लिखित कागाजातको संग्राहलय बनाएर त्यसलाई उपयोग गर्ने योजना बनाएका छन् । जुन बौद्धिक सम्पती हो । यस्तै नगरपालिकाको योजनामा केहीलाई अध्ययन गर्न लगाएर त्यसलाई बौद्धिक सम्पती संरक्षणमा लगाउने योजना थियो ।

गत ०५४ सालको स्थानीय चुनावमा करीव ११ सय मतान्तरले जितेका ओलीले यस पटक ३ हजार मत बढीले पुरानै प्रतिस्पर्धी राप्रपाका राम थापालाई पाखा लगाए । अब उनले सुकुम्बासी समस्या समाधान गर्न समिति बनाउने, पूर्वाधार विकासका लागि काम अघि बढाउने तयारी गरेका छन् । दमकमा आउँदै गरेका ३ सय अर्ब बढीका योजना सफल बनाउने उनको ध्येय छ ।

उपप्राध्यापक छाडेर उपमेयरको कुर्सीमा

गीता पौडेल अधिकारी दमक बहुमुखी क्याम्पसकी प्राध्यापक थिइन् । २८ बर्षे बौद्धिक पेशा छाडेर उनी दमकको उपप्रमुखको कमाण्ड सम्हाल्न आएकी छिन् । शुरुका दिनमा ‘आईमाईले पढाएको हेर्न’ भनेर क्याम्पससम्म मानिसहरु आउने गरेको विगत सम्झँदै उनले भनिन्-म राजनीतिमा आउँला भन्ने पटकै थिएन ।

प्रतिस्पर्धीलाई ३५ सय मत अन्तरले पछि पारेकी उनमा धेरैका अपेक्षा छन् । उपमेयर अधिकारी कार्यकक्षमा सोमबार पहिलो पटक प्रबेश गर्दा आनौठो महसुस गरिन् । कक्षा कोठामा उनलाई पढाउनु भन्दा अबका कक्षाहरु भने कठिन लाग्न थालेका छन् ।

आर्थशास्त्रकी पूर्वप्राध्यापक अधिकारीलाई अब दमकको आर्थिक स्रोतको चिन्ता छ । नगरभित्रका महिलाको समस्या अब उनले सुन्नुपर्ने छ । गीता झापाकै पहिलो महिला प्राध्यापकका रुपमा दाबी गर्दै भन्छिन्- कक्षा कोठाभित्र र अहिले फरक अनुभूति छ, त्यहाँ सीमित विद्यार्थीको पीर थियो, अहिले समग्र दमक विकासको चिन्ता छ ।
उनले अहिले महिलाहरु आर्थिक अधिकार सम्पन्न हुँदै गएको र अब पुरुष हिंसाका घटना समेत बढ्ने ठम्याउँछिन् । त्यसको नियन्त्रण र नियमनका लागि समेत अब उनको ध्यान जाने छ । २८ वर्ष प्राध्यापक पेश गरेकी उनले यसै यो कर्म छाड्न मन छैन ।

मंगलबार मात्रै उनले दमक क्याम्पस पुगेर बीबीएस प्रथम बर्षका विद्यार्थीलाई अर्थशास्त्र पढाउन दिने प्रस्ताव गरेकी छिन् । तिनै विद्यार्थीको भविश्य बनाउन यस प्रयास गरे अब फेरि उनीहरुकै समस्या बुझ्ने छु, उनले भनिन् ।

गीताले उपमेयरमा टिकट पाउँदामा पनि दमक एमालेभित्रै खैलाबैला मच्चिएको थियो । तर, उनले मेयरको भन्दा बढी मत ल्याएर जितिन् । पुख्र्यौली रामेछाप दुरागाउँ भए पनि उनको जन्म र कर्मघर झापा नै हो । गीताले करीव ३ दशक लामो शिक्षण पेशा छाडेर अब राजनीतिको मार्ग अघि बढाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment