Comments Add Comment

नेपालकै दोस्रो लामो पुल निर्माणको काम रोकियो

दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने गरी राप्ती नदीमा निर्माणाधीन पुल ।

२८ असार, दाङ । दाङ देउखुरीस्थित राप्ती नदीमा निर्माणाधिन नेपालकै दोस्रो लामो पुलको काम वर्षा लागेसँगै रोकिएको छ । सिसहनिया-महदेवा जोड्ने पुल निर्माणको काम रोकिएको करिब दश दिन भइसकेको छ ।

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनि अनक कन्स्ट्रक्सन प्रालिले पानीको सतह घट्नासाथ पुनः कामलाई जारी राख्ने जनाएको छ । काम रोकिएको मौकामा पुल निर्माणमा प्रयोग गरिएका मेसिनरी औजारहरुको मर्मतको काम चलिरहेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनियाँदेखि गढवा गाउँपालिका वडा नम्बर २ को महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री प्रचण्डले गत मंसिर २२ गते गरेका थिए । यो पुल पाँच वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।

तर, अहिलेकै रफ्तारमा काम भए पाँच वर्ष अघि नै बनाउन सकिने निर्माण कम्पनिका इन्जिनियर सुदिप बस्यालले बताए । ‘दिनरात गरेर पुल बनाउने काम गरीरहेका थियौं, अहिले नदीमा पानी अली बढी भएकाले काम रोकेका छौं, पानी घट्दा वित्तिकै काम सुरु हुन्छ,’ निर्माण कम्पनी अनक कन्सट्रक्सन प्रालीका इञ्जिनियर सुदिप बस्यालले भने, ‘निर्धारित समयभन्दा अघि नै काम सकिन्छ की भन्ने लागेको छ ।’

कनक कम्पनिले नै बर्दियाको कोठियाघाटमा नेपालकै लामो पुल निर्माण गरेको थियो । कनक कम्पनिले कोठियाघाटको पुल पूर्वनिर्धारित समयभन्दा अघि नै बनाइसकेर सरकारबाट पुरस्कृत समेत भएको थियो ।

सोही कम्पनिले बनाइरहेको राप्ती नदीको पुल नेपालको दोस्रो लामो हुनेछ । ८ सय ६५ मिटर लामो हुने यो पुल बनाउन ८२ करोड बजेट बिनियोजन गरिएको छ । सिसहनियाँ तर्फबाट पिल्लर उठाउने काम भैरहेको छ । १७ वटा पिल्लरमा अडिने यो पुलको लागि अहिलेसम्म पाँच वटा पिल्लर उठाइसकिएको छ ।

पुल निर्माण कार्यले गति लिएको देखेपछि स्थानीय बासिन्दा पनि हर्षित छन् । ‘दिनरात नभनेर काम भैरहेको छ, हेर्दाहेर्दै पाँचवटा पिल्लर उठिसक्यो,’ स्थानीय मिना घर्तीले भनिन्, ‘कहिले पुल बन्ला र सजिलै वार-पार गुरुँला भन्ने लागेको छ ।’

सिसहनियाँ-महदेवा वारपार गर्न हाल जोखिमपूर्ण तरिकाले डुंगाको सहारा लिनुपर्ने बाध्यता छ । पुल बनेपछि यात्रा सहज हुनेछ । पुल बनेपछि महदेवा, घुस्रा, कोठरी, धैरेनी, गोबरडिहा, रतनपुर, सिसहनियाँ, पिपरा, पिपरी, अर्नानपुर, बगरापुर लगायत गाउँका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यसैबीच राप्ती नदीकै सतवरीयाको जहरेघाटमा पनि पक्की पुल निर्माण भैरहेको छ । यहाँ ६ वटा पिल्लरमा पुल अडिने छ । अहिलेसम्म एउटा पिल्लर बनिसकेको छ । दुई वटा पिल्लरको लागि फाउण्डेसन तयार पारिएको निर्माण कम्पनीले बताएको छ । जहरेमा बन्दै गरेको पुल दुई सय ८२ मिटर लामो हुनेछ ।

सिसहनियाँ-महदेवा र जहरेघाटमा बन्न लागेका दुई वटा पुल निर्माण गर्न डेढ अर्ब बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment